पाकेटमारको ‘निशाना’ मा संयुक्त र नेपाल यातायात, काठमाडौंका ६ स्थान मुख्य अखडा

सुन्दा अनौठा लाग्छन पोकटरमारका कोडभाषा
निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 04, 2020 | 03:47:15 PM मा प्रकाशित

laxmi  sunrise bank

विकिपिडिया अनुसार अरुको खल्तीबाट पैसा चोर्ने व्यक्तिलाई पाकेटमार भनिन्छ । काठमाडौँमा पाकेटमारहरुको धेरै वटा समूह छन् । एक जना पाकेटमार, जसले हजार बढी साथी उत्पादन गरे । काठमाडौँको सोह्रखुट्टेमा बसेर साथीहरुलाई यसबारे तालिम दिएका उनी हाल वैदेशीक रोजगारीमा छन् । उनीमार्फत नै पाकेटर सिकेकाहरु हाल काठमाडौँमा क्रियाशील छन् । 

यो आलेख, पाकेटमारसँगको कुराकानीमा आधारित छ । कतिपय विषयहरु बाहिर नल्याउन आग्रह गर्दै एक जना पाकेटमार कुमार (नाम परिवर्तन) ले केही तथ्यहरु हामीलाई बताएका छन् । उनीसँग भेट गर्दा उनकै आग्रह अनुसार मोबाइल, क्यामेरा लगायत भेटको प्रमाण राख्न सकिने कुनै पनि साधनहरु प्रयोग गरिएन । यद्यपी उनलाई धेरै आग्रह गर्दा उनी भेट्न राजी भएका थिए ।

उनैसँगको कुराकानीमा आधारित र नेपाल प्रहरीको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा यो आलेख तयार पारिएको छ । 

कुन समय बढी सक्रिय ?

संख्यात्मक हिसाबमा यति नै पाकेटमार सक्रिय छन् भन्ने यकिन तथ्यांक नभएपनि उनीहरु विभिन्न समयमा बढी सक्रिय हुन्छन् भनेर प्रहरीले थाहा पाएको छ । काठमाडौँमा पछिल्लो समय पाकेटमारको संख्या बढेको प्रहरीको अनुमान छ । प्रहरीको अनुसन्धानले पाकेटमार बढी सक्रिय हुने समय भनेको बिहान ९ देखि ११ बजेसम्म हो । यो समय सरकारी कार्यालयमा कार्यरत कर्मचारी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले कार्यालय सम्मको यात्रा गर्ने समय हो । 

राजधानीका विभिन्न क्षेत्रमा रहेका पाकेटमारमध्ये नयाँबसपार्क, कालिमाटी, पुतलीसडक, सोह्रखुट्टे, तीनकुने र पेप्सिकोला उनीहरुको ‘जक्सन’ हो । यी स्थानमा अरु ठाउँको तुलनामा पाकेटमारहरु धेरै हुने गरेको पाकेटमार नै स्वीकार गर्छन् । उनीहरु बिहान २ घन्टा धेरै सक्रिय हुन्छन् । ‘बेलुका त खासै हिडिदैन, तर बाहिरबाट देख्दा बेलुका बढी पाकेटमार हुने जस्तो देख्निछ, तर यो होइन’ एक जना पाकेटमारले भने, ‘बेलुका बढीमा १ घण्टा मात्रै हो, साँझ परपछि हामी खासै निस्किदैनौँ ।’ 

प्रहरीले पनि बिहान पाकेटमारका घटना धेरै हुने अनुसन्धानमार्फत पत्ता लगाएको छ । बिहान कार्यालय समयका कारण मानिसहरु हतारमा हुने र त्यो समयमा धेरै पाकेटमार गरिने पक्राउ परेका पाकेटमारहरुको बयान छ । 

योजना र काम कसरी ?

पाकेटमारहरु बिहान सबेरै भेला भएर योजना बनाउँछन् । सबैको पायक पर्ने स्थानमा भला भएर आफ्नै भाषमा कुराकानी गरेर उनीहरुले योजना बनाउँछन् । बिहान करिब ९ बजेबाट उनीहरु आफ्नो काममा निस्किन्छन् । बसमा पैसा बोकेको मान्छे चढेको हेर्छन र उसँगै बसमा चढ्छन् । 

एउटा बसमा एक जना मात्रै पाकेटमार चढ्दैनन् । उनीहरु कम्तीमा पनि ४ जनाको समूहमा हुन्छन् । समूहका नाइकेलाई उनीहरुले मास्टर भन्छन् । अरुले पैसा झिक्दैन, तर पैसा भएको व्यक्ति पहिल्याई सकेपछि बाँकीले अगाडी र दाँया बायाँबाट ठेलमठेल गरे जस्तो गर्छन् र मास्टरले पैसा झिक्छ । 

काम सकियो भनेर मास्टरले संकेत गरेपछि समूहको एकजनाले गाडी रोक्न लगाउँछ र सबै ओर्लिन्छन् । ओर्लिएपछि उनीहरु आफ्नै भाषामा टप्की (कुद/दौडी) भनेर त्यहाँबाट मुख्य रोड छोडेर सहायक बाटो तिर लाग्छन् । 

विशेष गरी खचाखच यात्रु भरिने पेप्सिकोला–कालिमाटी–बल्खु चल्ने नेपाल यातायात र कपन–रत्नपार्क–टेकु–कालिमाटी चल्ने संयुक्त र सिटी यातायत पाकेटमारको मुख्य ‘टार्गेट’मा पर्छन् । 

आफ्नै भाषा 

पाकेटमारहरुले आफ्नै भाषा निकालेका छन् । उनीहरु यसलाई कोड भाषा भन्छन् । कोड भाषामा ‘रामे’ भन्यो भने समूहको नाइकेले पाकेट मार्न सुरु गर्छ । प्रहरीलाई देख्दा उनीहरुले ’मामा’ वा ’ठूला’ भनेर बोल्छन् । यसो भन्दा पुलिस आयो भन्ने बुझ्छन् र पाकेटमार्न गरिरहेको तयारी रोक्छन् । एउटा अचम्मको कुरा के छ भने उनीहरुले आफ्ना कोड भाषा प्रयोग गर्दा आफ्नो समूहका साथीको मुखमा हेर्दैनन् । आफ्नै भाषामा एउटाले ‘फाडिखा’ भन्छ र सबै गाडीबाट झर्छन् । फाडिखा भनेको पैसा निकाल्न सकिएन, अब झरौँ भन्ने हो । 

प्रहरी अनुसन्धानबाट खुलेका पोकटरमारका कोडभाषाः

टिनुवाः पाकेटमार, खडीः लुटपाट, घोप्टेः खुकुरी, चिसोः छुरी/चक्कु, दः पैसा, ध्रवदाईः पैसा बोकेको वा पैसा भएको मान्छे, कानः मोबाइल, द तोड वा दहः रुपैयाँ निकाल, थानः एक हजारको नोट (हात्ती), गजः सयको नोट (गैडा), सेतो आधाः ५ सयको नोट (बाघ), मास्टरः आफ्नो समूहको नाइके, छापाः केटा, भद्रीः केटी, मामः गाडीको ड्राइभर, मलेः गाडीको सह–चालक, टप्कीः गाडीबाट आर्लेर भाग, अकल जाः गाडीभित्र अगाडि सर, चिछल जाः गाडीभित्र पछाडी आइज, ढेकः गाडीभित्र पाकेट मार्दै गर्दा वरिपरी छेक्ने ३/४ जना नाइकेका सहयोगी, ठूलेः सादा पोशाकको पुलिस, लाटाः पोशाकमा रहेको पुलिस, मानबेचेः पुलिसको गाडी, निलचरीः सशस्त्र पुलिस । 

यी बाहेक पनि उनीहरुका अन्य थुप्रै आफ्नै भाषा छन् । 

सिण्डिकेट

एउटा समूहबाट विभाजित भएर बन्ने अर्को समूह एक अर्काका दुस्मन हुन्छन् । यो परम्परा गुण्डा नाइकेको समूह जस्तै पाकेटमारहरुमा पनि छ । 

पाकेटमार काम गरिरहेकाहरुको आफ्नै क्षेत्र हुन्छ । विभिन्न समूह भएपनि उनीहरु आफ्नो क्षेत्रमा रहेर पाकेट मारिरहेका हुन्छन् । अपरिचत र अर्कै समूह आएर आफ्नो क्षेत्रमा पाकेट मारेको थाहा पाए उनीहरुबीच कुटाकुट नै हुन्छ । पाकेटमारमा एक समूह अर्काको क्षेत्रमा गएर पाकेट मार्न जान पाउँदैनन् । 

करिब १३ वर्षअघि काठमाडौँको टेकु क्षेत्रमा पाकेटमारी गर्दै आएका ३५ वर्षीय राजु तामाङले अर्को समूहको मान्छे आफ्नो क्षेत्रमा आएर पाकेट मारेको भन्दै हत्या नै गरिदिए । त्यसपछि १२ वर्ष जेल सजाय भोगेर छुटेका उनी अहिले फेरि आफ्नो समूह बनाएर आफू नाइके बनेर पाकेटमारीमा नै सक्रिय छन् । 

यो एउटा घटना जो हत्या नै भएका कारण बाहिर आयो । तर समूह समूहबीच सामान्य झगडा र कुटाकुट हरेक दिनजसो हुने पाकेटमार कुमार बताउँछन् । तर दुवै पक्ष झगडालाई प्रहरीसमक्ष लैजान चाहादैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved