नेप्सेका प्रमुख कार्यकारी सिताराम थपलियाले सुनाए चार आर्थिक बर्षको प्रगति विवरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 02:56:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलीयाले कार्यकाल संकिदै गर्दा चार आर्थिक बर्षमा भएका प्रगति विवरण सुनाएका छन। २०७० असारमा नेप्सेको जिम्मेवारी सम्हालेका थपलियाले आफ्नो कार्यकालको 'अन्तिम दिन' पत्रकार सम्मेलनको आयोजना गरि चार बर्षको उपलब्धि सुनाएका हुन। 

तत्कालिन महाप्रबन्धक शंकरमान सिंहको कार्यकाल सकिएपछी मन्त्रिपरिषद बैठकले थपलियालाई चार बर्षको लागि नियुक्त गरेको थियो। नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाले पश्चात विवादलाई पछ्याईरहेका थपलियाले पुंजीबजारको विकास र विस्तार गर्म पछिल्लो ४ बर्षमा भएका धेरै कामको जस लिने प्रयास गरे।     

थपलियाले नियमन निकाय नेपाल धितोपत्रबोर्डको ठाडो निर्देशनमा कार्यन्वयन भएका कामहरुको समेत जस लिने प्रयास गरे। एक पक्षले मात्र गरेर नहुने भन्दै थपलियाले संयुक्त प्रयासमा भएका प्रगतीमा आफ्नो हिस्सा रहने उल्लेख गरे। 'छोराले गरेको प्रगतिमा बाबुको पनि हिस्सा हुन्छ र बाबुले गरेको प्रगति पनि छोराले गरे सरह हुन्छ' उनले उदाहरण प्रस्तुत गर्दै पुंजीबजारमा ४ बर्षमा भएको प्रगतीमा आफ्नो हिस्सा रहेको दाबि गरे। 

प्रगति विवरण

थपलियाले चार बर्षमा गरेको कामको प्रगती सुनाउदै कारोबार समयावधि १ घण्टा थपेर ४ घन्टा पुर्याइएको, अभौतिक कारोबार प्रणाली थालिएको, देशका विभिन्न क्षेत्रमा ब्रोकरहरुको पहुँच (आरडब्लुएस) पुर्याइएर बजार विकासका लागि टेवा पुर्याइएको बताए। काठमाडौं उपत्यकासहित देशभर २२ वटा सहरहरुबाट ९२ वटा टर्मिनलबाट लगानीकर्ताहरुले सेयर कारोबार सेवा पाइरहेको उनले बताए। 

आफ्नो कार्यकालमा सूचीकृत कम्पनीहरुले नेप्सेको साइटमा आफ्नो सूचना राख्न पाउने, मार्केट डेप्थ सबै लगानीकर्ता हेर्न पाउने व्यवस्था गरिएको बताए।

थपलियाले आफ्नो कार्यकालमा समयको माग अनुरुप नेप्सेको विद्यमान कारोबार प्रणालीको स्तरोन्नति गरिएको बताए। 'क्षमता विस्तार तथा विभिन्न विशेषता हरु थप गरी सर्वसाधारणले अनुभव गर्न सक्ने किसिमले हामीले विद्यमान प्रणालीको स्तरोन्नति गरेका हौं’ उनले भने। उनले भने। थपलियाले  कारोबार प्रणालीको स्तरोन्नति गरिएकै कारण पहिले २३ वटा टर्मिनलबाट कारोबार हुने गरेकोमा अहिले ९२ वटा टर्मिटनलबाट कारोबार हुन थालेको  जानकारी दिए।  

त्यस्तै विगतमा १२ सय पटकसम्म हुने कारोबार अहिले १५ हजार पटकसम्म हुने गरेको र दैनिक पौने ३ अर्बसम्मको कारोबार भएको जानकारी गराउंदै थपालियाले यस्ता उपलव्धीलाई मूल्याङ्कन गर्दै नयाँ सिस्टमबाट कारोबारको थालनी गर्न लागिएको बताए। उपत्यका बाहिरबाट मात्रै दुई महिनाको अवधिमा (वैशाख र जेठ) मा करिब १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

जाँदाजाँदै 

थपलियाले कुनै अवरोध नआए नेप्सेमा कात्तिक अन्तिम साताबाट पूर्ण स्वचालित प्रणाली संचालनमा आउने जानकारी दिए। यस सिस्टमको लागि वाईको कम्पनीले आन्तरिक परिक्षण गरिरहेको थपलियाले बताए। 'आगामी आर्थिक बर्षको पहिलो त्रैमासभित्र हामीले नयाँ सिस्टम प्राप्त गर्ने अपेक्षा गरेका छौं' उनले भने। असोज अन्तिमसम्म सिस्टम प्राप्ति गरि त्यसको परिक्षणमा जाने र अन्य कुनै कठिनाई नआए कात्तिक अन्तिम साताबाट नयाँ प्रणाली (अनलाइन ट्रेडिङ) कार्यान्वयनमा आउने उनले बताए।

थपलियाले नेटिङमा आधारित राफसाफको काम पनि सुरु गर्न लागिएको जानकारी गराए। यस व्यवस्था अनुसार सदस्य दलालहरुले आफूले खरिद गरेको रकमबाट बिक्री गरेको रकम कट्टा गरी पाउनुपर्ने वा दिनुपर्ने हिसाबको मात्र गणना गरिन्छ र दिनुपर्ने भए तोकिएको खातामा जम्मा गर्ने र प्राप्त गर्ने हिसाब तोकिएको खातामा बैंक मार्फत रकम प्राप्त गर्न सकिन्छ। जसका लागि नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेतृत्व बैंकको रुपमा छनौट गरिएको छ।  

थपलियाले कर्मचारी विनियमावलीलाई समयानुकुल बनाउन नसक्दा नेप्सेमा लामो समयदेखि जनशक्ति विकासका क्षेत्रमा काम हुन नसकेको बताए। विनियमावली स्वीकृत हुनासाथ कर्मचारीहरुको पदोन्नति गर्दै थप कर्मचारी लिने काम सुरु भएको थपलियाले जानकारी दिए। नयाँ कर्मचारीले काम थपे पश्चात नेप्सेले अझ प्रभावकारी ढंगबाट आफ्नो कार्य सञ्चालन गर्ने थपलियाले विश्वास व्यक्त गरे।

बजार सञ्चालन सम्बन्धी मुख्य कार्य तथा प्रशासन सम्बन्धी सहायक कार्यलाई अलग गरी सांगठनिक ढाँचामा सुधार गरिएको र विभिन्न विभाग, महाशाखा तथा शाखामा विभाजन गरी प्रत्येक एकाइका लागि आवश्यक जनशक्तिको निर्धारण, ती एकाइबाट हुने काम, ती एकाइमा खटिएका कर्मचारीले गर्नुपर्ने कामको विवरण समेत निक्र्यौल गरिएको नेप्सेले जनाएको छ।

नेप्सेले सूचीकरण विनियमावली, कारोबार विनियमावली, धितोपत्र व्यापारीका लागि धितोपत्र कारोबार कार्यविधि, धितोपत्र बजारको सदस्यता विनियमावली, अक्सन कारोबार कार्यविधि, धितोपत्र कारोबार रद्द सम्बन्धी कार्यविधि, हकप्रद शेयरको निस्सा कारोबार सम्बन्धी नियमावली लगायतमा कार्य गरिरहेको थपलीयाले जानकारी गराए।

ओटीसी बजारलाई थप क्रियाशील बनाइएको र आगामी दिनमा अलग्गै कम्पनी स्थापना गरि कारोबारलाई विस्तार गर्ने योजनामा नेप्से रहेको थपलियाले बताए। त्यस्तै भिजिट नेप्से अन्तर्गत राजधानी र राजधानी बाहिरका कजेलहरुसंगको समन्वयमा विद्यार्थीहरुलाई नेप्से परिसरभित्रै अवलोकन गराउने गरिएको उनले जानकारी गराए। यस कार्यबाट नेप्सेको इतिहास, विकासक्रम, अहिलेको अवस्था, अर्थतन्त्रसंग नेप्सेको सम्बन्ध र महत्त्वका बारेमा जानकारी हुने नेप्सेले जनाएको छ। 

दोस्रो बजारमा मार्केट मेकरको अवधारणा विकासका लागि अध्ययन गरिएको र यसका लागि ५ वर्षे रणनीतिक योजना तयार गरिएको थपलियाले जानकारी गराए। थपलियाले आफ्नो चारबर्षे कार्यकालमा ओटिसी मार्केटलाई अटोमेटेड गराउने, क्लियरिङ कर्पोरेशन स्थापना गर्ने, नेप्सेको नीजिकरण र रणनीति साझेदार भित्र्याउने, ट्रेड ग्यारेन्टी फण्ड र अक्सन मार्केटको विस्तार गर्न नसकिएको बताए। 

आफ्नो कार्यकाल पुन: थप गर्नका लागि शक्तिकेन्द्र तिर लबिङ गरिरहेको आरोप खेप्दै आएका थपलियाले कार्यकाल थप्ने चाहना नरहेको स्पष्ट पारेका छन।‘कार्यकाल थप गरेर पदमा बस्ने मेरो कुनै चाहना छैन’ उनले भने।

नेप्सेमा आइतबारबाट प्रमुख कार्यकारीको पद खालि हुने भएको छ। नेप्सेको प्रमुख कार्यकारी बन्न आधा दर्जन बढीले इच्छा देखाइरहेका छन। थपलियाको निरन्तरता हुन सक्ने अनुमान गरीएपनि नेपाल राष्ट्र बैंकका रिटायर्ड एक कर्मचारी नेप्सेको प्रमुख कार्यकारीमा लगभग निश्चित जस्तै भएको बताइएको छ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved