मौद्रिक नीतिले शेयर बजारमा प्रशस्त पैसा आउने बाटो खुला, बाणिज्य बैंकसंग मात्रै '१ सय अर्ब' सेयर कर्जा दिने क्षमता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 05:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मोहम्मद अज्मत अलि 

आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाको 'गलत' ब्याख्या हुँदा दोहोरो अंकले बढेको नेप्से अचानक रातो हुन पुग्यो। नयाँ मौद्रिक नीतिले सेयर बजारमा कर्जा प्रवाहका लागि मार्ग प्रशस्त गरेपनि यसमा भएको व्यवस्थाको ब्याख्या अन्यथा हुन पुग्दा आम लगानीकर्ता मारमा परेका छन। 

नयाँ मौद्रिक नीतिमा के छ ?

'बैंक तथा वित्तीय संस्थाहरुले धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुंजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ। साथै, एउतै सुचिकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुंजी बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ।' 

नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएका छन। यस आधारमा सेयर कर्जा उल्लेख्य रुपमा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले मौद्रिक नीति पुंजी बजारको लागि निकै उदार भएको बताएका छन।  

त्यस्तै नेपाल बैंकर्स एसोसिएसन संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मौद्रिक नीतिले बजारमा प्रशस्त पैसा जाने बाटो खुला गरेपनि तत्काल त्यो सम्भब नभएको बताए। 'मौद्रिक नीतिले तरलता उपलब्ध गराएको छैन, उत्पादनमुलक क्षेत्रमा अनिवार्य लगानीको सिमा वृद्धि गरिएको छ। यस्तो अवस्थामा सेयर कर्जामा बैंकहरुले तत्काल लगानी गर्न सक्दैनन्' उनले भने।

के हो प्राथमिक पुंजी ?

बैंकहरुको चुक्ता पुंजी र जगेडा कोष रकमको जोडलाई प्राथमिक पुंजी भनिन्छ। राष्ट्र बैंकको नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्रवाह गर्न पाउनेछन।  

जस्तो कुनै बैंकको चुक्ता पुंजी ७ अर्ब रुपैयाँ छ र त्यसको जगेडा कोष रकम ३ अर्ब रुपैयाँ छ भने उक्त बैंकले १० अर्बको ४० प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ धितो कर्जा प्रवाह गर्न पाउने छ। 

त्यस्तै मौद्रिक नीतिले एउतै सुचिकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुंजी बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। जस्तो माथिको उदाहरण अनुसार बैंकले ४ अर्बसम्म धितो कर्जा प्रवाह गर्न सक्छ। यदि  बैंकले नेप्सेमा सुचिकृत २० वटा कम्पनीलाई धितो कर्जा दिने व्यवस्था गरेको छ भने एउटा कम्पनीमा अधिकतम ४० करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्न सक्नेछ। 

यस अघिको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई धितो कर्जामा यस प्रकारको मापदण्ड तोकिएको थिएन। बैंक तथा वित्तीय संस्थाहरुले यस अघिको व्यवस्था अनुसार प्राथमिक पुंजीको सबै रकम धितोमा कर्जा प्रवाह गर्न सक्ने अवस्था थियो। राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुका लागि तोकिएको मापदण्डमा रही शेयर धितोमा अरबौं रकम कर्जा प्रवाह गर्ने बाटो खुलेको छ। 

नयाँ मौद्रिक नीतिको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो पुंजीगत क्षमता अनुसार नै शेयर धितोमा कर्जा प्रवाह गर्न पाउने हुँदा पुंजीबजारमा सकारात्मक संदेश पुगेको छ। तर लगानीकर्तामा गलत संदेश पुग्दा साताको पहिलो दिनको कारोबारमा तिब्र उतार चढाब देखिएको छ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमास अनुसार बाणिज्य बैंकहरुले मात्रै जम्मा १ सय अर्ब सेयरको धितोमा कर्जा प्रवाह गर्न सक्ने देखिन्छ।  तेस्रो त्रैमास अनुसार २८ बाणिज्य बैंकहरुको प्राथमिक पुंजी (चुक्ता पुंजी र जगेडा कोष ) २ खर्ब ४९ अर्ब ९४ करोड ९० लाख रुपैयाँ रहेको छ। यस अनुसार सामान्य हिसाब गर्दा पनि बाणिज्य बैंकहरुले मात्रै झन्डै १ खर्ब रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गर्न सक्ने देखिन्छ। 

नोट: नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको १० महिना अर्थात बैशाख अन्तिमसम्मको प्रस्तुत तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले ३८ अर्ब ९० करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved