रोकियो क्लिन फिड (विज्ञापनरहित) टिभी प्रसारण प्रक्रिया, २४ घण्टामै पछि हट्यो सरकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 15, 2017 | 01:15:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा साउन १ देखि क्लिन फिड लागु नहुने भएको छ। सूचना तथा संचार मन्त्रालयले एक सुचना जारि गर्दै तत्कालका लागि नेपालमा क्लिन फिड लागु नहुने जानकारी गराएको हो। 

सरकारले साउन १ देखि क्लिन फिड अर्थात बिदेशी टेलिभिजन प्रशारण हुँदा बिज्ञापन नआउने नीति लागु गर्ने कस्सिएपनि आफ्नो निर्णयबाट पछी हटेको छ। सरकारले जुनै हालतमा पनि क्लिन फिड लागु गर्ने बताउदै २९ गते गोरखापत्रको मुख्य पृष्ठमा बिज्ञापन छपाएको थियो। 

तर त्यसको २४ घण्टा नबित्दै शुक्रबार राति सूचना तथा सञ्चार मन्त्रालयले आफ्नो वेबसाइट मार्फत क्लिन फिड तत्काल लागू नहुने बताएको छ। 'मन्त्रालयबाट नीतिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको छ' संचार मन्त्रालयद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

सूचना तथा संचार मन्त्रालयद्वारा क्लिन फिड लागु गर्नेबारे असार २८ गते सार्वजनिक गरिएको सूचना:

नेपाल सरकार
सूचना तथा सञ्‍चार मन्त्रालयको
विज्ञापन रहित नीति लागु गर्ने सम्बन्धि सूचना

यस मन्त्रालयबाट डाउनलिङ्क अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण मिति २०७४ श्रावण १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने व्यवस्था विज्ञापनरहित नीति, २०७३ मा गरिएकोले नेपालमा कार्यक्रम प्रसारण गर्न चाहने विदेशी प्रसारण संस्था, सिग्‍नल वितरक संस्था र कार्यक्रम वितरक संस्थाहरुले सो नीति अनुरुप विज्ञापन रहित प्रसारण गर्न देहाय बमोजिम गर्नु गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

१.       विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र डाउनलिङ्क अनुमति दिने र सो को नविकरण गरिने भएकोले विज्ञापन रहित च्यानलको मात्र डाउनलिङ्क अनुमतिपत्र  दिने तथा नविकरण गराउने ।

२.      विदेशी प्रसारण संस्थाको कार्यक्रम तथा टेलिभिजन च्यानलको सिग्‍नल वितरण गर्न अनुमति पाएका संस्थाहरुले विज्ञापनरहित च्यानलको मात्र सिग्‍नल वितरण गर्न व्यवस्था गर्ने ।

३.       नेपाल भित्र कार्यक्रम वितरण र प्रसारण गर्ने सबै संस्थाहरु (डिटिएच, केवल वितरक, IPTV, MMDS, डिजिटल टेरेष्ट्रियल) ले विदेशी टेलिभिजन च्यानलहरुमध्ये विज्ञापनरहित कार्यक्रम आउने च्यानल मात्र प्रसारण एवं वितरण गर्ने ।



सूचना तथा संचार मन्त्रालयद्वारा क्लिन फिड तत्काललाई स्थगित गरिएकोबारे असार ३० गते सार्वजनिक गरिएको सूचना:

विज्ञापन रहित नीति सम्बन्धि सूचना

 

यस मन्त्रालयबाट डाउनलिङ्क अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण मिति २०७४ श्रावण १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने भनी मिति २०७४।३।२९ गतेको गोरखापत्रमा सूचना प्रकाशित भएकोमा मन्त्रालयबाट नीतिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

के हो क्लिन फिड ?

विदेशी च्यानलहरु विज्ञापन बिनै हेर्न पाइनु क्लिन फिड हो। यस्तो अवस्थामा विदेशी च्यानलले प्रशारण गरेको विज्ञापन हुबहु ग्रहण गर्नुपर्ने हुँदैन। तर  स्वदेशी च्यानलमा भने यसको कुनै पनि प्रभाव पर्दैन। बिदेशी च्यानल (अंग्रेजी र हिन्दि) च्यानलहरुमा आउने बिज्ञापनमा रोक लगाउने नीति नै क्लिन फिड हो। 

साउन १ देखि क्लिन फिड लागु हुन्थ्यो भने केवल र डिसहोमको माध्यमबाट नेपालमा प्रशारण भईरहेका विभिन्न अंग्रेजी र हिन्दि च्यानलहरुको कार्यक्रम हेर्दा नेपाली उपभोक्ताहरुले बिज्ञापन हेर्नु पर्दैनथ्यो। जस्तो नेपाली उपभोक्ताहरुले कलर्स च्यानलमा आउने कार्यक्रम हेर्दा बीचबीचमा आउने बिज्ञापन हेर्नु पर्दैनथ्यो। 


कसलाई के फाइदा ?

नेपालमा क्लिन फिड लागु गरिंदा यसबाट स्वदेशी च्यानल र नेपालका बिज्ञापन एजेन्सीहरुलाई प्रत्यक्ष फाइदा हुन्छ। नेपालका उपभोक्ताहरुलाई लक्षित गरिएका विभिन्न कम्पनीका बस्तु तथा सेवाको प्रचार प्रसार अहिले पनि भारतीय च्यानलहरु मार्फत नै प्रशारण हुँदै आएको छ। जसकारण उनीहरु प्रत्यक्ष रुपमा नेपालमा बिज्ञापन गरेका छैनन। 

क्लिन फिड लागु हुन्थ्यो भने त्यो बिज्ञापन प्रशारण गर्ने काम नेपालका स्वदेशी च्यानल र बिज्ञापन एजेन्सीले पाउंथे। यसबाट मुख्य फाइदा त टेलिभिजन च्यानलहरुलाई नै हो। अरु मिडियालाई पनि विज्ञापन बढ्नेछ। विज्ञापन एजेन्सीका लागि स्रोत विस्तार हुनेछ। विदेशी कलाकारको डबिङको सट्टा स्वदेशमै विज्ञापन बनाए कलाकार तथा प्राविधिकलाई समेत फाइदा पुग्थ्यो। 

त्यस्तै अहिले पांच अर्ब बढीको बिज्ञापन बजार बढेर अर्बौंको पुग्नेछ भने बिदेशी च्यानलहरुबाट बिज्ञापन प्रशारण हुँदै गर्दै नेपाली संस्कृतिमा भएको हस्तक्षेप समेत रोकिनेछ। बिज्ञापन कारोबार बढेपछी नेपालमा रोजगारीको अवसर बढ्नेछ भने समग्र अर्थतन्त्रमा राम्रो योगदान हुने थियो।   

किन पछि हट्यो सरकार ?

त्यसो त सूचना तथा संचार मन्त्रालयले 'मन्त्रालयबाट नीतिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको' भनेको छ। तर नेपालमा क्लिन फिड लागु गर्न नहुने संस्थाहरुको दबाब थेग्न नसक्दा सरकार आफ्नो निर्णयबाट पछि हटेको अनुमान गरिएको छ। जारि बिज्ञप्तीमा तत्कालको लागि स्थगित गरिएको भनिएको छ तर कहिले देखि क्लिन फिड लागु गर्ने भन्ने बारे केहि खुलाइएको छैन। 

नेपालका केवल र डिटिएच सेवा प्रदायक डिसहोमले साउन १ गतेदेखि कुनै पनि च्यानल प्रशारण गर्न नसकिने चेतावनी दिदै आएको थियो। भारतीय च्यानल सञ्चालकहरुको संस्था इन्डियन ब्रोडकास्टिङ फाउण्डेशन(आइबिएफ)ले प्रेस बिज्ञप्ती मार्फत नेपालका लागि क्लिन फिड च्यानल दिन नसकिने स्पष्ट पारेको थियो। यसबाट नेपालमा केवल र डिटिएच सेवा प्रदायक डिसहोमलाई आर्थिक भार पर्ने निश्चित थियो। 

नेपालमा क्लिन फिड लागु गर्न मिडिया सोसाइटीले दबाब दिदै आएपनि बिदेशी च्यानल प्रशारण गर्दै आएका संस्थाहरुको चर्को दबाबका कारण सरकार आफ्नो निर्णयबाट पछि हटेको बताइएको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved