अझै २ बर्ष लाभांश दिन नसक्ने नेपाल ग्रामिणको सेयरमा लगानी कति विवेकपुर्ण निर्णय ? (बिशेष रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 11:21:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ग्रामिण बिकास बैंकको सेयर मूल्य पछिला केहि दिनयता ह्वात्तै बढेको छ। संचिति नोक्सानी ४६ करोड रुपैयाँ रहेको र सेयरधनीहरुले प्रतिफल पाउन अझै केहि बर्ष कुर्नु पर्ने अवस्थामा समेत नेपाल ग्रामिणको सेयरमा आकर्षण बढ्नु र त्यसको मूल्य आकासिनुको कारणबारे लगानीकर्ताको चाँसो बढेको छ। 

त्यसो त नेपाल ग्रामिण बिकास बैंकले सर्वसाधारण तर्फको सेयर अनुपात कम्तिमा ३० प्रतिशत हुनु पर्ने राष्ट्र बैंकको व्यवस्था अनुसार प्रति कित्ता १ सय रुपैयाँमा प्रिमियम मूल्य बिना नै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशनको अनुमतिको पर्खाईमा रहेको छ।

नेपाल ग्रामिणको बित्तिय अवस्था अत्यन्त सबल भएको र उच्च दरको प्रतिफल दिने सम्भावना रहेको अवस्थामा महँगोमा सेयर किन्दा पनि त्यसले केहि प्रश्न उठाउथेन होला तर एफपीओमा एक सय रुपैयाँमा नै प्राप्त गर्न सकिने सेयरमा प्रति कित्ता झन्डै एक हजार लगानी गर्नु कति लाभदायक होला ? यसको उत्तर स्वयम् लगानीकर्ताले खोज्नु पर्ने हुन्छ।

नेपाल ग्रामिण बिकास बैंकको सेयर किन्नु पर्छ या किन्नु हुँदैन भन्नेबारे हाम्रो चाँसोको बिषय होइन तर बजारमा संगठित एक समुहले उचालेको भरमा महँगोमा सेयर उठाएर फुर्सदमा लगानीकर्ता नपछुताउन भन्ने मात्र हाम्रो चाँसो हो। दुई महिनाको अवधिमा मात्रै नेपाल ग्रामिणको सेयर मुल्य प्रति कित्ता करिब २ सय रुपैयाँले बढेको छ। 'नेपाल ग्रामिणको सेयरमा केहि 'ठुला लगानीकर्ता' ले खेल्दा मूल्य उचालिएको हो, एफपीओ मा नै सय रुपैयाँमा आउने र प्रतिफल पाउन अझै केहि बर्ष कुर्नुपर्ने सेयरको मूल्य हजार हाराहारी पुग्नु सामान्य कुरा होइन' एक लगानीकर्ताले बिजपाटीलाई बताए। 

त्यसो त गत आर्थिक बर्ष लघुवित्त क्षेत्र नै निकै तनाबमा रह्यो। सापटी रकमको ब्याज बढ्नु, लागत बढ्नु र सम्पूर्ण बैंकिङ क्षेत्रमा नै ब्याजदर बढ्नुले पनि लघुवित्त क्षेत्रलाई अप्ठ्यारो बनाएको अवस्थामा नेपाल ग्रामिणलाई पनि बलियो वित्तीय विवरण प्रस्तुत गर्न चुनौती नै छ। त्यसो त नेपाल ग्रामिण विकास बैंकका कार्यकारी अधिकृत पर्बत कुमार कार्कीले गत आर्थिक बर्ष चुनौतीपूर्ण रहेपनि सन्तोष जनक बित्तिय विवरण आउने बताउछन।

पुर्वान्चल ग्रामिण बिकास बैंक, मध्यमाञ्चल ग्रामिण बिकास बैंक, पस्चिमान्चल ग्रामिण विकास बैंक, मध्य पशचिमांचल ग्रामिण बिकास बैंक र सुदुर पस्चिमान्चल ग्रामिण विकास बैंक मिलेर बनेको राष्ट्रिय स्तरको नेपाल ग्रामिण बिकास बैंक संजाल पनि उत्तिकै फराकिलो रहेको छ। यसको हजार भन्दा कर्मचारी हुँदा संचालन खर्च र अन्य खर्च पनि उत्तिकै बढेर आउने सम्भावना छ।

गत आर्थिक बर्षदेखि मात्रै नाफा र नेटवर्थ सकारात्मक बनाउन सफल देखिएको नेपाल ग्रामिण विकास बैंकले आगामी दिनमा ब्यापार तथा कारोबार बिस्तार गरि राम्रै आम्दानी गर्ने अवस्था रहेपनि प्रतिफल खान अझै केहि बर्ष कुर्नुपर्ने र ढिलो चांडो १०० रुपैयाँमै एफपीओ किन्ने मौका आउने हुँदा सर्वसाधारण लगानीकर्ताले भने बिबेक पुर्याउनै पर्छ भन्ने हाम्रो मान्यता हो। कसैले उचालेको भरमा मात्र लगानीको निर्णय लिनु लगानीकर्तालाई घाटाको व्यापार नै साबित हुनेछ।   

नेपाल ग्रामिणको वित्तीय अवस्था

नेपाल ग्रामिण बिकास बैंकले फर्दर पब्लिक अफरिङ, एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। माइक्रोफाइनान्स कम्पनीले प्रति कित्ता १ सय रुपैयाँमा प्रिमियम मूल्य बिना नै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशनको अनुमति मागेको धितोपत्र बोर्डले जनाएको छ। 

माइक्रोफाइनान्सले एफपीओ जारि गर्नका लागि बिक्रि प्रबन्धक तथा निष्काशनमा प्रभु क्यापिटललाई चयन गरेको छ। राष्ट्रिय स्तरको माइक्रोफाइनान्सले गत आथिक बर्षको तेस्रो त्रैमासमा १९ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

२०७१ मा ५ माइक्रोफाइनान्स कम्पनी मिलेर बनेको नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ५५ करोड ७५ लाख रहेको छ। माइक्रोफाइनान्सले हाल कायम संस्थापक र साधारण सेयर अनुपात राष्ट्र बैंकको निर्देशन अनुसार कायम गर्नका लागि एफपीओ जारि गर्न लागेको हो। एफपीओ निष्काशन पश्चात नेपाल ग्रामिण बिकास बैंकको चुक्ता पुंजी ६५ करोड ५० लाख पुग्ने छ।  

हाल नेपाल ग्रामिण बिकास बैंकको सेयर अनुपात संस्थापक तर्फ ८२ दशमलब १३ प्रतिशत र साधारणतर्फ १७ दशमलब ८७ प्रतिशत रहेको छ। एफपीओ निष्काशन तथा बितरण पश्चात नेपाल ग्रामिण बिकास बैंकमा सेयर अनुपात संस्थापक ६९ दशमलब ९० प्रतिशत र साधारणतर्फ ३० दशमलब १० प्रतिशत कायम हुने छ। 

प्रिमियम मूल्य बिना नै किन ?  

नेपाल ग्रामिण बिकास बैंक २०७१ मा संचालनमा आएको हुनाले यसको संचालन अवधि ५ बर्ष पुगेको छैन। त्यस्तै माइक्रोफाइनान्सले पछिल्लो २ बर्ष देखि मात्रै धनात्मक खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष २०७१-७२ को तेस्रो त्रैमाससम्म पनि माइक्रोफाइनान्सको जगेडा कोष ७ करोड ९६ लाखले ऋणात्मक रहेको थियो। यसकारण पनि माइक्रोफाइनान्सले एफपीओ निष्काशनको मापदण्ड पुरा गर्न नसकेको देखिन्छ। 

माइक्रोफाइनान्सको यस आर्थिक बर्षदेखि मात्रै नाफा र नेटवर्थ सकारात्मक बनाउन सफल देखिएको छ। यी विभिन्न कारणले गर्दा नेपाल ग्रामिण बिकास बैंकले प्रिमियम मूल्य थप गरि एफपीओ जारि गर्न नसक्ने अवस्थामा पुगेको हो। 

नेपाल ग्रामिण बिकास बैंकको २०७२ श्रावन १ देखि २०७३ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब बाँडफाँड अनुसार संचित मुनाफा ४६ करोड ९१ लाख ऋणात्मक रहेको छ। माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा ५८ करोड ६३ लाख ७९ हजार १ सय ४८ रुपैयाँ मुनाफा आर्जन गरेको अवस्थामा संचित मुनाफा ब्रेक इभेन्ट पोइन्टमा आउने छ। यस अर्थमा पनि नेपाल ग्रामिण बिकास बैंकले प्रिमियममा एफपीओ जारि गर्न नपाउने देखिन्छ।

घाटाको मध्यमान्चल र पुर्वान्चल ग्रामिण बिकास बैंक मिलाउँदा र अन्य ३ संस्थालाई प्रिमियम दिंदा संचित मुनाफा नोक्सानमा देखिएको हो। नेपाल ग्रामिणले कुनै सम्पति बिक्रि गरि वा अन्य कारणले बढी मुनाफा नगरेको अवस्थामा यस आर्थिक बर्ष सेयरधनीहरुलाई मुनाफा खुवाउन नसक्ने देखिन्छ।  

नेपाल ग्रामिण बिकास बैंक ५ माइक्रोफाइनान्स मिलेर बनेको राष्ट्रिय स्तरको माइर्कोफाइनान्स कम्पनी हो। यस माइक्रोफाइनान्समा सबै भन्दा बढी नेपाल सरकारको ३५ दशमलब ४४ प्रतिशत सेयर रहेको छ। अरु मुख्य लगानीकर्तामा नेपाल राष्ट्र बैंक र बाणिज्य बैंकहरु रहेका छन। नेपाल ग्रामिण बिकास बैंकमा राष्ट्रिय बाणिज्य बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र बैंक अफ काठमान्डूको मुख्य लगानी रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved