प्रयोगकर्ताका लागि नयाँ नयाँ सुविधामा काम गरिरहेको फेसबुक अब टेलिभिजन बजार तर्फ अघि बढेको छ। फेसबुकले हेर्न र आफैँ चलाउन मिल्ने गरी चांडै नै नयाँ फिचर ‘वाच फेसबुक ट्याब’ अर्न्तगत ‘अनलाइन फेसबुक टेलिभिजन’ ल्याउने भएको छ।
मोबाइल र डेस्कटप दुबै बिकल्प हुनेगरी यस फिचरलाई अमेरिकामा रहेका केहि प्रयोगकर्ताहरुमाझ बिहीबार बेलुका अर्थात साउन २६ गते बिहिबारबाट परिक्षणको रुपमा सार्वजनिक गरिने फेसबुकका संस्थापक मार्क जुकरबर्गले बताएका छन् ।
परम्परागत टेलिभिजन, युट्युब च्यानल, नेटफिक्स लगायत अन्य अनलाइन टेलिभिजन कार्यक्रमसंग प्रतिस्पर्धा गर्ने उद्धेश्यले प्रयोगकर्तामाझ फेसबुकले यस्तो फिचर सार्वजनिक गर्न लागेको जनाएको छ।
ब्यक्तिगत रुपमा उपलब्ध गराइने नयाँ फिचरमा प्रयोगकर्ताहरुले विभिन्न ‘रेर्कडेट’ तथा प्रत्यक्ष टेलिभिजन कार्यक्रमहरुसमेत हेर्न सक्नेछन् । त्यति मात्र नभई प्रयोगकर्ताहरुले भिडियो तथा रोचक कार्यक्रमहरु निर्माण गरी प्रत्यक्ष तथा रेर्कड गरी प्रकाशन तथा प्रशारण गर्न सक्नेछन।
प्रयोगकर्ताले बनाएको भिडियो कार्यक्रम अरुले हेरबापत प्रयोगकर्तालाई त्यसबाट आम्दानी समेत हुने भएको छ। भिडियो कार्यक्रममा देखाइने बिज्ञापन बापतको ४५ प्रतिशत आम्दानी फेसबुक र ५५ प्रतिशत आम्दानी प्रयोगकर्ताले नै पाउनेछन।
यस फिचरमा आफ्ना शाथीभाईले कस्तो भिडियो हेरिरहेको छन् ? आफ्नो सर्कलमा कुन भिडियो तथा कार्यक्रम 'ट्रेन्डिङ'मा छ सबै हेर्न सकिने छ । जसबाट थप नयाँ कार्यक्रमहरुबारे थाहा पाउन सकिने छ ।
प्रयोगकर्ताहरुले भिडियोबारे दर्शकको प्रतिकृयाहरु हेर्न सक्नेछन् । साथै, विभिन्न शाथीभाईसँग समुह बनाई निश्चित कार्यक्रमहरुको लक्षित दर्शक समुहको निर्माणसमेत गर्न सक्नेछन्। आफुलाई मन पर्ने भिडियो कार्यक्रमहरु सेभ गरि समय मिलेको बेला हेर्न मिल्ने बिकल्प समेत यस फिचरमा राखीएको छ।
फेसबुक संस्थापक मार्क जकरबर्गले उक्त नयाँ फिचरमा कुनैपनि कार्यक्रम निस्क्रिय रुपमा मात्रै हेर्नुनपर्ने बताए । उनले भने, ‘एउटै विषयमा रुचि भएका मानिसहरुलाई एक ठाउँ ल्याउन सकिन्छ र त्यो अनुभव साट्ने मौका पनि बन्न सक्छ ।’
फेसबुकमा गतवर्ष देखि ‘भिडिओ ट्याब’ उपलब्ध छ तर त्यो अहिलेसम्म सिकारुहरुले खिचेका भिडियो फूटेज वा समाचार संस्थाले राख्ने स–साना अंशमा मात्र सीमित रहेको छ ।