EXCLUSIVE: एकीकृत निर्देशनमा सेयर कर्जाको व्यवस्थाबारे किन बढ्यो अन्यौल, सेयरकर्जा दिने क्षमता कुन बैंकसंग कति? (रिपोर्ट)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 16, 2017 | 10:23:27 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकले साउन ३१ गते जारी गरेको एकीकृत निर्देशन २०७४ मा भएको सेयर धितो कर्जा सम्बन्धि व्यवस्थाले 'अन्यौल' सृजना गरेको छ। केहि अनलाइन न्युज पोर्टलले 'सेयर कर्जामा कडाई' गरेको आशयको समाचार लेखे भने केहिले भने 'मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न एकीकृत निर्देशन ल्याइएको हो र एकीकृत निर्देशनमा केही परिमार्जन नभएको' समाचार लेखे। 

तर बिजपाटी डटकमले भने यस सम्बन्धी समाचार तयार गर्न २४ घण्टा परख गरेको छ। एकीकृत निर्देशन २०७४ मा सेयर धितो कर्जा सम्बन्धि व्यवस्था मौद्रिक नीति अनुसार नभएको ठहर गर्दै लगानीकर्ताका अगुवा, सेयर विश्लेषक तथा बैंकरहरुसंगको अनौपचारिक छलफल पश्चात मात्र यो समाचार तयार पारिएको हो। 

एकीकृत निर्देशन २०७४ मा भएको व्यवस्थाको बारेमा केहि लेख्न अघि मौद्रिक नीतिमा के थियो भन्ने जान्नु जरुरि छ। आउनुहोस, मौद्रिक नीतिमा भएको व्यवस्थाबारे जानकारी लिउं। 

मौद्रिक नीतिमा भएको व्यवस्था 

'बैंक तथा वित्तीय संस्थाहरुले धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुंजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरिनेछ। साथै, एउतै सुचिकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुंजी बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरिनेछ।' 

मौद्रिक नीतिमा  बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था थियो। मौद्रिक नीतिमा भएको व्यवस्थाको आधारमा बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुंजीको ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने थिए। 

जस्तो कुनै बैंकको चुक्ता पुंजी ७ अर्ब रुपैयाँ छ र त्यसको जगेडा कोष रकम ३ अर्ब रुपैयाँ छ भने उक्त बैंकले १० अर्बको ४० प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ धितो कर्जा प्रवाह गर्न पाउने थियो।  

त्यस्तै मौद्रिक नीतिले एउतै सुचिकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुंजी बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ। 

एकीकृत निर्देशन-२०७४ मा उल्लेख व्यवस्था


नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन-२०७४ को 'कर्जा-सापटको बर्गिकरण र कर्जा नोक्सानी सम्बन्धि व्यवस्था' बिषयमा पृष्ठ ९३ मा बुँदा २ मा 'मार्जिन ल्यान्डिङ प्रकृतिको सेयर सुरक्षण राखी प्रवाह हुने कर्जाका सम्बन्धमा' ब्याख्या गरिएको छ। 

यस बुँदाको उपबुँदा ७ पृष्ठ ९४  मा स्पष्ट भनिएको छ, 'बैंक तथा वित्तीय संस्थाहरुले वढीमा आफ्नो प्राथमिक पुँजी कोर क्यापिटल बराबरको रकमसम्म मात्र यस प्रकृतिको कर्जा प्रवाह गर्न सक्नेछ । साथै, यसरी कर्जा प्रदान गर्दा बैंक तथा वित्तीय संस्थाले एउटा सुचीकृत कम्पनीको सेयरको हकमा आफ्नो प्राथमिक पुँजी कोर क्यापिटलको बढीमा २५ प्रतिशतमा ननाघ्ने गरी मात्र कर्जा प्रवाह गर्नु पर्नेछ।'

एकीकृत निर्देशनमा भएको यस प्राबधानले बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक पुंजी बराबरसम्म सेयर धितो कर्जा दिन सक्नेछन। अर्थात यदि  कुनै बैंकको चुक्ता पुंजी ७ अर्ब रुपैयाँ छ र त्यसको जगेडा कोष रकम ३ अर्ब रुपैयाँ छ भने उक्त बैंकले १० अर्ब बराबरसम्मको सेयर धितो कर्जा दिन सक्नेछ। तर मौद्रिक नीतिमा प्राथमिक पुंजीको ४० प्रतिशतसम्म सेयर धितो कर्जा दिन सक्ने व्यवस्था थियो।  

त्यस्तै एकीकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले एउटा सुचीकृत कम्पनीको सेयरको हकमा आफ्नो प्राथमिक पुँजी कोर क्यापिटलको बढीमा २५ प्रतिशतमा ननाघ्ने गरी सेयर धितो कर्जा प्रवाह गर्न सक्नेछन। 

यदी राष्ट्र बैंकको यो व्यवस्था कार्यन्वयन हुने हो भने पुंजीबजारमा प्रशस्त मात्रामा पैसा आउने थियो। तर अहिलेपनि केहि बाणिज्य बैंक (कृषि बिकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टड बैंक) ले सेयर धितो कर्जा प्रवाह नै गरेका छैनन। जतीले प्रवाह गरेका छन् त्यो पनि नगन्य रहेको छ।

बैंकसंगको सेयर धितो कर्जा दिने क्षमता 


एकीकृत निर्देशन अनुसार नेपालका २० वटा बाणिज्य बैंकसंग मात्र १ खर्ब ४४ करोड प्राथमिक पुंजी बराबरसम्म सेयर धितो कर्जा दिन सक्ने क्षमता रहेको छ। यसमा थप ४ वटा बाणिज्य बैंक (सिभिल, सेन्चुरी र एभरेष्टको गत आर्थिक बर्षको रिपोर्ट नआएकाले) क्षमता जोड्न बाँकी छ भने कृषि बिकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चार्टड बैंकले सेयर धितो कर्जा नदिने गरेकाले उनीहरुको प्राथमिक पुंजी समेत जोडिएको छैन।  

खर्ब बढीको सेयर धितो कर्जा दिन सक्ने क्षमता हुँदा हुँदै पनि अहिले ३०-३५ अर्ब बराबर मात्रै सेयर धितोमा कर्जा प्रवाह भएको छ। जुन अत्यन्त नगन्य हो।

के हो प्राथमिक पुंजी ?

बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुंजी र जगेडा कोष रकमको जोडलाई प्राथमिक पुंजी भनिन्छ। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved