दशैंमा घुम्नलायक ७ ठाउँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 08:09:56 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं नेपालीले मनाउने ठूलामध्येको एक चाड हो । दशैंको बेलामा लामो समय कार्यालय र शिक्षण संस्थाहरु बन्द रहन्छन् । पछिल्ला केही वर्षयता यही बिदाको मौकामा परिवार सहित घुमफिर गर्ने चलन बढ्दै गएको छ । दशैंको अवसरमा घुम्नका लागि आकर्षक गन्तव्यहरु यी हुन् । 

बर्दिया

काठमाडौं—नेपालगञ्ज हवाई यात्रा गरी सार्वजनिक सवारीमा नेपालगञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुगिन्छ । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालगञ्जबाट ८७ किलोमिटर टाढा छ । काठमाडौंबाट झण्डै १३ घण्टाको यात्रामा बर्दिया पुग्न सकिन्छ । बर्दिया जाने पर्यटकको लागि थारु समुदायको मौलिक संस्कृति र निकुञ्ज प्रमुख आकर्षण हुन् ।

चित्लाङ 

चित्लाङ काठमाडौबाट नजिकको पर्यटक गन्तव्य हो । चन्द्रागिरीको ठीक तलपट्टि पर्ने चित्लाङ मनोरम र ऐतिहासिक स्थान हो । रमणीय प्राकृति वातावरण र होमस्टे चित्लाङको विशेषता हो । हाईकिङ गर्नेहरुलाई काठमाडौबाट चित्लाङ पुग्न करिब तीन घण्टा लाग्छ ।

चितवन

चितवन निकै लोकप्रिय र रमणीय गन्तव्य हो । चितवन जाँदा गाडी वा हवाई जहाज दुवै विकल्प छन् । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण, जंगल सफारी, थारु संस्कृति चितवनका प्रमुख आकर्षण हुन् । 

पोखरा

पोखरा नेपालको आन्तरिक र बाह्य पर्यटकले सबैभन्दा धेरै भ्रमण गर्ने स्थान हो । काठमाडौंबाट पोखरा जानलाई हवाई सुविधा समेत छ । पोखरा र आसपासमा ताल, गुफा, धार्मिक स्थलको भ्रमणका साथै अल्ट्रा लाईट फ्लाईट र  प्याराग्लाइडिङको मज्जा लिन सकिन्छ । 

मुस्ताङ

काठमाडौंबाट बेनी हुँदै करिब ३०० किलोमिटरको यात्रामा मुस्ताङको जोमसोम पुगिन्छ । जोमसोम पुग्न पोखराबाट हवाई सेवा समेत उपलब्ध छ । 

प्रसिद्ध मुक्तिनाथ मन्दिर जोमसोमबाट करिब २१ किलोमिटर दुरीमा पर्दछ । हिमाली क्षेत्रको यात्रामा रुचि राख्नेहरुका लागि मुस्ताङ उपयुक्त गन्तव्य हो । मुस्ताङ भ्रमणको लागि असोज, कार्तिक महिना सबैभन्दा उपयुक्त मानिन्छ । 

रारा ताल

मुगु जिल्लामा पर्ने रारा ताल महत्वपूर्ण पर्यटकीय स्थल हो । पछिल्लो समय आन्तरिक पर्यटक निकै ठूलो संख्यामा रारा पुग्ने गर्दछन् । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा रहेको यो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण हो ।रारा भ्रमणको लागि कम्तीमा ५ दिनको समय छुट्याउनु उपयुक्त हुन्छ । 

रानीमहल

पाल्पा जिल्लामा पर्ने रानीमहल पछिल्लो पुस्ताका लागि आकर्षक गन्तव्य हो । काठमाडौंबाट ३०० किलोमिटरको यात्रामा पाल्पाको सदरमुकाम तानसेन पुगिन्छ । रानीमहल तानसेनबाट करिब १९ किलोमिटरको दुरीमा अवस्थित छ । पैदल यात्रा गर्नेको लागि तानसेनबाट करिब ३ घण्टाको यात्रामा रानीमहल पुगिन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved