बैंकिङ पृष्ठभूमीका चन्द्र ढकालले बैंकको ब्याजदर घटाउन पहल गर्लान् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 30, 2020 | 03:46:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र प्रसाद ढकाल बैंकको पृष्ठभूमी भएका व्यवसायी हुन् । रेमिट्यान्स र बैंकबाट विस्तारै अन्य व्यवसायीक क्षेत्रमा फड्को मार्दै आएका उनी मूलतः बैंकर्स नै हुन् । सदस्य संख्याको हिसाबमा नीजि क्षेत्रको ठूलो बैंक मानिने ग्लोबल आईएमई बैंकका अध्यक्ष रहेका ढकाल महासंघको आगामी अध्यक्ष बन्ने गरि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि व्यवसायीले बैंकहरुबाट भोग्दै आएका समस्या कसरी सम्बोधन गर्लान् भन्ने प्रश्न उठेको छ ।

व्यवसायीका नेता बैंकर्स

बैंकिङ पृष्ठभूमीबाट एसोसियट्स सदस्यका हैसियतमा महासंघको राजनीतिमा होमिएका ढकाललाई व्यवसायी र उद्योगीका मुद्दा बोक्न भने सहज नहुने आकलन गरिन्छ । यद्यपी उनी व्यवसायीका मागहरु सम्बन्धित निकायमा पुर्याउनै पर्ने भूमीका उभिएका छन् । तर, अहिले नै उनको काँधमा त्यो जिम्मेवारी नरहेपनि आगामी कार्यकालको दौडमा रहेका कारण अवस्था अनुकुल नै भईरहे जबरजस्ती यो जिम्मेवारी उनको काँधमा आईपर्ने छ ।

बैंकहरुले कर्जा प्रवाहमा सास्ती दिँने गरेको गुनासो व्यवसायीले गर्दै आएका छन् । राष्ट्र बैंकबाट ४ प्रतिशतमा लिएको साधारण पुनार्कर्जामा बैंक वित्तीय संस्थाले ऋणीबाट ८ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था छ ।

राष्ट्र बैंकले निर्यातलाई प्रोत्साहन गर्ने उदेश्यले निर्यात पुनर्कर्जामा दिंदै आएको १ प्रतिशत ब्याजमा बैंक वित्तीय संस्थाले ऋणीसँग ३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने प्रावधान छ । तर, बैंकहरुले कर्जा दिन आनाकानी गर्ने गरेको गुनासो व्यवसायीक संग संगठनका नेताहरुबाटै आउने गरेको छ ।

आफू बैंकमा सामान्य लगानी गरेको व्यक्ति भएका कारण ब्याजदर घट्नुपर्छ भन्ने आफ्नो पनि माग रहेको महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको भनाई छ । निर्वाचनको दौडानकै क्रममा बैंकको ब्याजदर घटाउने मामिलामा अन्य व्यवसायी र उद्योगी जसरी कठोर भएर नलागेको आरोप खेपेपछि ढकालले आफू ‘सिङ्गल डिजिटको ब्याजदर’ हुनुपर्छ भन्ने पक्षमा रहेको दाबी गरेका थिए ।

७ प्रतिशतमा झर्ला त ब्याजदर ?

पूर्वदेखि पश्चिम सम्मका व्यवसायीले बैंकहरु हिजाको सामस्तीहरुका नयाँ रुप भएको आरोप लगाउँदै आएका छन् । जमिानदार जस्ता देखिएका बैंकहरु नाफा घट्दा घाटा लाग्यो भनेर गुनासो गर्ने गरेको भन्दै महासंघका नवनिर्वाचित जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ब्याजदर समायोजन महासंघको नयाँ नेतृत्वको पहिलो एजेण्डा रहेको बताएका छन् ।

व्यवसायीहरुले उत्पादनमूलक उद्योगसँग ७ प्रतिशत र व्यवसायीमूलक उद्योगसँग अधिकतम ९ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राख्दै आएका छन् । बैंकबाट व्यवसायी छुट्याउनुपर्ने बहस चलिरहेका बेला बैंकिङ पृष्ठभूमीका ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि यो बहस अब यत्तिकै सेलाउँछ वा अझ बढी चर्किन्छ भन्ने अनुमान अहिलेनै लगाउन कठिन हुने महासंघबाहेकका व्यवसायीक संगठनहरुको तर्क छ । यद्यपी ढकाल बाहेकका अन्य मुख्य पदाधिकारी भने बास्तविक व्यवसायी भएका कारण यो मुद्दा यत्तिकै नदबिने कतिपयको बुझाई छ ।

बैंकलाई 'प्रोजेक्ट लोन' दिन बाध्य बनाउँछौँः कोषाध्यक्ष हिराचन

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सोमबार मात्रै निर्वाचित भएका शुकुन्तलाल हिराचनले भने उम्मेद्वारी दर्ताकै समयमा बैंकहरुबाट व्यवसायीले खेप्दै आएका हैरानीलाई सधैँका लागि बिदाई गर्ने दाबी गरेका थिए । नेपालका बैंकहरुले ‘प्रोजेक्ट लोन’ दिन आनाकानी गरिरहेको र अहिलेसम्म बैंकहरुबाट प्रवाह भएको ऋणको एक प्रतिशत पनि प्रोजेक्ट लोन नरहेका कारण यसलाई स्थापित गराउन आफू लागिपर्ने कोषाध्यक्ष हिराचनको भनाई छ ।

उनले बैंकहरुलाई पूरानै ढर्रामा चल्न नदिने र प्रोजेक्ट लोन दिन बाध्य पार्ने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved