महासंघका बस्तुगत उपाध्यक्ष श्रेष्ठका अगाडी चुनौतीका चाङ

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 01, 2020 | 03:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मूलतः सकिएको छ । आइतबारबाट पूर्व अध्यक्ष बनेका पशुपति मुरारका र पूर्व अध्यक्ष चण्डीराज ढकालले सहयोग गरेका दुबै समूहबाट मिश्रित उम्मेद्वारहरु विजयी भएका छन् । निर्वाचनको दौडका समयमा सबैजसो बस्तुगत उम्मेद्वारले ‘बस्तुगत परिषद्लाई सक्रिय बनाउँछु’ भन्ने नारा बोकेका थिए । निर्वाचन सकिएर नयाँ कार्यसमितिले काम थालिसकेको अवस्थामा अहिलेसम्म निष्क्रिय रहेको बस्तुगत परिषद् अब कसरी सक्रिय होला भन्ने प्रश्न उब्जिएको छ ।

‘१०० दिन भित्रै सक्रियता देखिन्छ’

सामान्यतया, पदबहाली पछिको १ सय दिनलाई हनिमुन अवधि भन्ने गरिन्छ । तर, कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्र उकास्नका लागि आफूहरुले हनिमुन अवधि र आरामको यात्रा नगर्ने अठोट लिएको बताउँछन् नेपाल वैदेशि रोजगार व्यवसायी संघका अध्यक्ष एवम् बस्तुगत तर्फबाट महासंघको केन्द्रीय सदस्यमा निर्वाचित विष्णु प्रसाद गैरे । मुख्य गरी बस्तुगत क्षेत्रका समस्या पहिचान, अल्पकालिन र दीर्घकालिन समधानका उपाय र नीतिगत सुधार गरी ३ वर्गमा समस्याको पहिचान गरेर बस्तुगत परिषद्ले काम गर्ने उनको भनाई छ ।

यसका अलवा निर्यातजन्य उत्पादनको लागत कम, कर्जामा सहुलियत, बजारीकरण जस्ता काममा पनि १०३ वटै बस्तुगत संघबाट प्राप्त रायलाई समेटेर आगामी १ सय दिनभित्रै तयार हुने महासंघको आगामी कार्ययोजना एवम् दृष्टिकोणमा समेटिने गैरेले बताएका छन् ।

‘बस्तुगत परिषद् सक्रिय हुनैपर्छ’

महासंघमा मतदाता बस्तुगत संघहरु पनि १०१ वटा छन् । महासंघको सदस्य रहेका बस्तुगत संघहरु हालसम्म १०३ वटा पुगिसकेका छन् । बस्तुगत संघहरुसँग छलफल, परामर्श गर्नका लागि महासंघमा वस्तुगत परिषद् पनि छ । यो परिषद्को मुख्य उदेश्य भनेको महासंघको केन्द्रीय कार्यकारीणी समितिको बैठक बस्नुअघि हरेक पटक बस्तुगत संघहरुसँग परामर्श गरेर एजेण्डा, माग, समस्या र समाधानका उपायहरु सो बैठकमा लैजानु हो । तर, विगत ३ कार्यकालदेखि यो परिषद् निष्क्रिय प्रायः छ ।

महासंघको अबको हरेक बैठक अघि बस्तुगत परिषद्को बैठक बस्ने र निस्किएका निष्कर्ष केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने विगतको परम्परालाई पुनः स्थापित गराउने बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको भनाई छ । बस्तुगत परिषद् बाहेक क्षेत्रगत रुपमा हेर्न छुट्टै संयन्त्र पनि आवश्यक रहेको उपाध्यक्ष श्रेष्ठको भनाई छ । सबै बस्तुगत संघहरुको भावना समेट्न पनि बस्तुगत परिषद् सक्रिय हुनुको विकल्प नरहेको श्रेष्ठको तर्क छ । सोही अनुसार वातावरण निर्माण गरी आफूले यो परिषद्लाई महासंघको मुख्य अंगका रुपमा विकास गर्ने उनको भनाई छ ।

कर तथा राजस्व समितिको सहसंयोजक, रोजगारदाता परिषद्को सदस्य, राजस्व समितिका सहसभापति र उद्योग समितिको सभापतिको रुपमा काम गरिसकेका श्रेष्ठले बस्तुगत परिषद्को बढ्दो आवश्यकतालाई ध्यानमा राखेर यो परिषद्लाई सक्रिय बनाउने काम गरे बस्तुगत संघहरुका माग सहजै सरकार समक्ष पुग्ने बस्तुगत संघहरुको आशा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved