पर्यटन विभागमा योगेश आएपछि नेकपा हारेको हार्‍यै

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 22, 2020 | 04:26:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका ३२ विभागमध्येको एक हो पर्यटन विभाग । साउन ३१ गते शुक्रबारको नेकपा सचिवालय बैठकले पार्टीका ३२ विभागको नेतृत्व टुंगो लगाएको थियो । ३२ मध्ये १८ विभागमा पूर्वएमाले र १४ मा पूर्वमाओवादी केन्द्रले नेतृत्व पाएको थियो । 

राजकीय मामिलामा रहेका नेताहरु जुन मन्त्रालय सम्हालिरहेका छन्, उनैलाई सम्बन्धित विभागको नेतृत्व दिएको नेकपामा पर्यटन प्रर्वद्धन तथा नागरिक उड्ययनक विभागका प्रमुख हुन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई । यो विभागको उपप्रमुख छन् पासाङ शेर्पा । 

विभागमा भट्टराईको आगमन र व्यवसायीक संगठनमा पराजय 

मन्त्री भट्टराईलाई पार्टीले विभागको प्रमुख बनाएपछि उनले पार्टीको विभागीय जिम्मेवारी समेत पाए । मन्त्री भट्टराई साउनमा मन्त्री भए । त्यसको १५ दिनपछि उनले विभागको समेत नेतृत्व पाए । विभागीय जिम्मेवारी पाउनु र पर्यटन सम्बद्ध व्यवसायीक संघसंस्थाहरुको नयाँ नेतृत्व चयनको सिजन सुरु हुनु एक संयोग बन्यो । 

मन्त्री योगेश भट्टराईले पर्यटन विभागको जिम्मा पाएको करिब ४० दिनपछि अर्थात् असोज १० गते पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन भयो । ४१ औं साधारणसभा पश्चात भएको निर्वाचनमा नेकपा निकट पर्यटन व्यवसायीको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका अञ्जन थापा (कुमार)लाई हराउँदै काँग्रेस निकट खुम बहादुर सुवेदीले अध्यक्षमा बाजी मारे ।

त्यस्तै नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को चुनाव माघ ३ गते सकियो । निर्वाचन पूर्वको अनुमानमा यो संगठनमा पनि नेकपा निकट व्यवसायीले नै नेतृत्व हत्याउने आँकलन थियो । तर अध्यक्ष पदमा काँग्रेस निकट अच्युत गुरागाईं विजयी भए । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका गुरागाईंले पूर्व महासचिव भीम प्रसाद पन्त र पूर्व महासचिव मिहिका राज्य लक्ष्मी शाह धाख्वालाई हराउँदै विजय हाँसिल गरे । पन्त नेकपा निकट व्यवसायीको तर्फबाट अध्यक्षको उम्मेद्वार बनेका थिए ।

यो श्रृङ्खला अन्य संगठनको नेतृत्व परिवर्तनमा पनि देखिन सक्ने अनुमान गरिएको छ । केही महिनाभित्रै पर्यटनका अन्य व्यवसायीक संगठनहरुको पनि निर्वाचन हुँदैछ । वायु सेवा सञ्चालक संघ, होमस्टे एसोसियसन लगायतमा भने सर्वसम्मत नेतृत्व चयन भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved