त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रोबट सञ्चालनमा ल्याईएका छन् । नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने ‘पर्यटन परी’ नाम दिईएका २ वटा रोकट बिहिबारबाट सञ्चालनमा ल्याईएको हो । ती रोबटहरुको संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहिबार उद्घाटन गरे ।
लागत कति ?
हाल विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिएका यी दुई रोबटको लागत खर्च करिब ४४ लाख छ । निर्माण गर्दा लागेको खर्च संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणको ब्यहोर्ने भनिएको छ ।
तर हालसम्मको खर्च कुन निकायले कति ब्यहोरे भन्ने तथ्यांक छैन । यसबारे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जानकारी लिन खोज्दा यसमा आफूहरुको कुनै संलग्नता नरहेको प्रतिक्रिया आएको छ । भ्रमण वर्ष २०२० को सचिवालयका उप–सचिव राजन पौडेलले भने कुन निकायले कति पैसा खर्च गरे भन्ने जानकारी नभएपनि उड्डयन प्राधिकरणले विमानस्थलमा राख्ने ठाउँ उपलब्ध गराएको, रोबटको हार्डवेयर सम्बन्धि काम पर्यटन बोर्डले गरेको बताएका छन् । बेलाबेलामा यसलाई गर्नुपर्ने मर्मत खर्च पनि नागरिक उड्डयन प्राधिकरणले ब्यहोर्ने छ ।
प्रविधि कुन ?
भ्रमण वर्ष सचिवालयका उप–सचिव पौडेलका अनुसार हाल बनाईएका रोबट नेपाली प्रविधिबाट बनेका हुन् । नेपालमा पहिलोपटक राखिएका यस्ता रोबट अन्य विमानस्थलमा समेत थपिने उनको भनाई छ ।
‘अहिले राखिएका दुई वटाले कस्तो काम गर्छन्, त्यो हेरेर अन्यत्र राख्ने नराख्ने भन्ने टुंगो लाग्छ’ उनले भने, ‘रोबटले राम्रो काम गरेको फिडब्याक आयो भने थपिन्छ, रोबटभन्दा मानिसले गरेको काम नै प्रभावकारी हुँदोरहेछ भन्ने लाग्यो भने थपिदैँन ।’
अहिले एयरपोर्टमा राखिएका दुई वटा रोबट ‘पाइला टेक्नोलोजी’ नामक कम्पनीले बनाएको हो ।
आयु र अवधि
कम्पनीका अनुसार अहिले राखिएकै जस्तो एउटा रोबट बनाउन २ देखि ३ महिना लाग्छ । काठमाडौँ एयरपोर्टमा राखिएका यी दुई रोबट करिब ६ महिना लगाएर बनाईएका हुन् । हाल विकास भईरहेका नयाँ नयाँ प्रविधि प्रयोग गरेर जडान गरिएका यी रोबटको आयु भने निश्चित छैन ।
‘आयु ठ्याक्कै यति नै हो भन्ने दिईएको छैन’ भ्रमण वर्ष सचिवालयका उप–सचिव पौडेलले भने, ‘सफ्टवेयर थपिँदै लैजाने कुरा हो, त्यसैमा यसको आयुको भर पछ ।’
बोली कस्तो ?
यी रोबटले तीन भाषामा कुरा गर्न सक्छन् । नेपाली, अंग्रेजी र चिनियाँ भाषा बोल्न सक्ने यी रोबटले ‘गुगल ट्रान्सलेशन’मार्फत जस्तो ‘टोन’ आउँछ, त्यस्तै बोल्छन् । नेपाली भाषा हिन्दी लवजमा बोल्ने र चिनियाँ भाषा चिनियाँकै लवजमा बोल्ने भएपनि अंग्रेजी भने ‘गुगल ट्रान्सलेशन’ गर्दा जस्तो आवाज आउँछ, त्यस्तै बोल्ने गर्दछन् ।
‘नेपाली चाँही हिन्दी लवजमा बोल्दो रहेछ, अंग्रेजी बोल्दा चाँही हामीले गुगल ट्रान्सलेशनमा जस्तो सुन्छौँ, त्यस्तै बोल्ने रहेछन्’ पौडेलले भने । उनले चिनियाँ भाषाको लवज कस्तो भनेर हामीलाई जानकारी नहुने भएपनि चीनबाटै पिएचडी गरेर आएका शिक्षकका अनुसार चिनियाँ भाषा पनि यी रोबर्टहरुले शुद्ध बोल्ने गरेको बताएका छन् ।