होटलका ६५ प्रतिशत कोठा खाली, व्यवसायी भन्छन्, ‘प्लिज, प्रश्न नसोध्नोस्’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2020 | 11:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण होटल व्यवसाय नराम्ररी प्रभावित भएको छ । उत्तरी छिमेकी देश चीनको वुहानबाट फैलिएको (कोभिड–१९) कोरोना भाइरसको कारण नेपालको ‘भ्रमण वर्ष २०२०’ नै प्रभावित बनेको छ । सरकारले भ्रमण वर्ष हाललाई स्थगित गरेको छ । 

नेपालको मुख्य पर्यटन बजारमध्येको दोस्रो बजार हो चीन । नेपाल भित्रिने पर्यटकमध्ये भारतपछि चीनको हिस्सा दोस्रो छ । तर कोरोनाका कारण चीनसहितका देशहरुबाट पर्यटक आगमन नहुँदा नेपालको होटल क्षेत्र धाराशायी बनेको छ । 

होटलका कोठा खाली

वसन्त ऋतुको पर्यटकीय सिजन सुरु हुनै लाग्दा विश्वलाई नै आतंकित पार्ने गरी फैलिएको कोरोनाको प्रकोपका कारण नेपालका होटल खाली प्राय छन् । पर्यटक स्तरका होटल खचाखच हुनुपर्ने समयमा होटल रित्ता छन् । 

विभिन्न देशबाट आउन तयारी अवस्थामा रहेका पर्यटकले यसअघि गरेका होटलको बुकिङसमेत रद्द भएका छन् । होटल व्यवसायीहरुले पर्यटक आगमन दर घट्दा कामदारको पारिश्रमीकसमेत दिन सकिने अवस्था नरहेको गुनासो गरेका छन् ।

पर्यटन विभागका अनुसार नेपालमा हाल १ हजार ४० वटा पर्यटक स्तरका होटल छन् । यीमध्ये १४ वटा पाँच तारे होटल छन् । होटलमा नीजि क्षेत्रको लगानी १० खर्बभन्दा बढी छ । होटल संघ नेपाल (हान)मा सदस्य रहेका सबै होटल तारे छन् । पर्यटक स्तरका होटलमा शैया (बेड) भने ४६ हजार वटा छन् । यीमध्ये हाल मुस्किलले ३५ प्रतिशत मात्रै भरिएका छन् । बाँकी कोठा खाली छन् । 

हानले गरेको छुट घोषणा फीर्ता होला ?

हानले ‘नेपाल भ्रमण वर्ष २०२०’ अवधिभर होटलको सेवामा ३० प्रतिशत सहुलियत दिने घोषणा गरेको थियो । एक वर्षभरी होटेलको रुम चार्जमा ३० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुट दिने हानको घोषणा छ । 

तर कोरोना भाइरसका कारण पर्यटक आगमन नै ओरालो लागेपछि छुटलाई निरन्तरता दिने की नदिने भन्नेबारे हानमा छलफल तीव्र छ । केही पदाधिकारीले भने वर्ष भरीका घोषणा भएको छुट फीर्ता लिन नहुने राय दिएका छन् । २५ लाख पर्यटकलाई सेवा दिन सक्ने गरी होटलको क्षमता विकास र विस्तार भएको दाबी गर्ने होटल व्यवसायीहरु भ्रमण वर्ष नै स्थगित भएपछि मारमा परेका छन् ।

‘प्रश्न सोधेर पीडा नबल्झाइदिनोस्’

‘अब व्यवसाय बन्द गर्नुपर्ने अवस्था आयो’ हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने, ‘विश्व स्वास्थ्य संगठनले नै नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकको सूचीमा राखेका कारण विदेशी पर्यटक आउने सम्भावना सकियो, अब होटलमा ताला लगाउनुको विकल्प रहेन ।’ ‘आज कम होला की, भोली कम होला की, औषधी पत्ता लाग्ला कि भनेर हामी कुरिरहेका छौँ’ हानका एक पदाधिकारीले भने, ‘२ महिना वितिसक्यो, अझै अवस्था सुध्रिने देखिएन, व्यवसाय संकटमा परेको छर्लङ्ग देखिएकै छ, थाहा नपाए जसरी सोधेर के पीडा बल्झाउनु हुन्छ ?’ 

केही हप्ता अघि होटल व्यवसायीले चीनबाट आउने पर्यटक घटेपछि चीनको बजारको विकल्प खोज्न्न सुझाएका थिए । उनीहरु आफैँ पनि विभिन्न देशमा नेपालको प्रचार गर्न हिडेका थिए । तर डब्लुएचओले नै नेपाललाई कारोना संक्रमण हुने सक्ने मूलुकको सूचीमा राखेपछि नेपालका होटल व्यवसायीहरु चिन्तित बनेका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved