नेपालको पर्यटनमा कोरोना असर, मासिक ४ अर्ब गुम्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2020 | 10:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ (कोरोना भाइरस)को प्रमुख असर पर्यटन क्षेत्रमा परेको पर्यटन व्यवसायीहरुले गुनासो गरेका छन् । सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजक एवम् उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग पनि पर्यटन व्यवसायीले यस्तै गुनासो गरेका छन् ।

होटल क्षेत्रमा मासिक पौने २ अर्ब घाटा

कोरोना भाइरसले सबैभन्दा धेरै थिलथिलो बनेको क्षेत्र होटल क्षत्र हो । कोरोनाले सिर्जित अवस्थाप्रति गम्भिर बनेर सरकारले व्यवसायीक संकटकाल घोषणा गर्नुपर्ने होटल व्यवसायीको माग छ । होटल संघ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले रक्षा, गृह, पराराष्ट्र, पर्यटन र उद्योगमन्त्री सम्मिलित कार्यदल बनाउन समेत माग गरिन् ।

उनले अधिकांश होटलहरु भाडाको घर र जग्गामा सञ्चालनमा रहेको भन्दै व्यवसाय ठप्प भएकाले भाडा तिर्न र कामदारलाई पारिश्रमिक दिनसमेत सक्ने अवस्थामा नरहेको बताएकी छिन् । ‘नेपालका होटलहरु १ खर्ब बढी ऋणमा छन्’ अध्यक्ष राणाले भनिन्, ‘फेब्रअरीको तथ्यांक हेर्दा अकुपेन्सी १० प्रतिशत मात्रै छ, मासिक घाटा नै १ अर्ब ८० करोड छ ।’

होटेल नाफामा चल्न कम्तिमा ४२ प्रतिशत कोठा भरिनुपर्छ । 

रेष्टुरेन्टको दैनिक कमाई १० करोडले घट्यो

रेष्टुरेन्ट तथा बारहरुको कमाईमा पनि भारी गिरावट आएको व्यवसायीले दुखेसो गरेका छन् । गत वर्षहरुको बसन्त ऋतुको पर्यटकीय सिजनमा दैनिक १४ करोड रुपैयाँसम्म आम्दानी गर्ने रेष्टुरेन्ट तथा बारहरुको अहिलेको कमाई करिब ४ करोड मात्रै छ ।

‘बाह्य पर्यटकहरुमा हुने सेल्स ९० प्रतिशत र आन्तरिक पर्यटकमा हुने सेल्स ५० प्रतिशतले घटेको छ’ रेष्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल (रेवान)का अध्यक्ष अरनिको राजभण्डारी भन्छन्, ‘हामीले आफ्ना स्टाफलाई १५ दिन बेतलवी घर बिदामा बस्न भनिसक्यौँ ।’ 

रेष्टुरेन्ट तथा बारमा करिब ६० हजार श्रमिक कार्यरत छन् । 

एयरलाइन्सको ११ सय करोड लगानी खतरामा

वायुसेवा प्रदायक कम्पनीहरुले व्यवसाय ३५ प्रतिशतमा झरेको गुनासो गरेका छन् । एयरलाइन्स अपरेटर एसोसियसनका अध्यक्ष क्याप्टेन रामेश्वर थापा हेलिकप्टरको व्यापार ९० प्रतिशत घटेको बताउँछन् ।  

‘हेलिकप्टरमा धेरै समस्या परेको छ, पछिल्लो समय हेलिकप्टरको बिजनेश ९० प्रतिशत डाउन भएको छ’ उनले भने, ‘सर्ट टेक अफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशतसम्म बिजनेस घटेको छ, समग्रमा एयरलाइन्स बिजनेशमा ६५ प्रतिशत कमी आएको छ ।’ उनले आन्तरिक उडान भर्दै आएका वायुसेवा कम्पनीमा परेको असरका कारण ११ सय करोड लगानी खतरामा रहेको पनि गुनासो गरेका छन् । 

नेपाल एयरलाइन्सले पनि दैनिक ६५ उडानबाट ४० उडान कटौती गरेर २५ मा झारेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल फेब्रुअरी महिनाको अन्तिमबाट सुरु भएको असर अहिले बढेको बताउँछन् । उनले पनि हेलिकप्टरमा निकै असर परेको बताए । ‘अन्तराष्ट्रि उडानमा मार्च १५ मा ६० प्रतिशत उडान रद्द भएका छन्’ उनले भने, ‘६९ प्रतिशत प्यासेन्जर घटेका छन् ।’

ट्रङ्क लाइनमा प्राइस वार र डलर फेयरको कारण आन्तरिक उडान भर्ने वायुसेवा कम्पनी घाटामा रहेको उनको भनाई छ । अन्तराष्ट्रिय उडानको तुलनामा आन्तरिक उडानमा कम क्षती पुगेको महानिर्देशक पोखरेलको भनाई छ । 

ट्रेकिङ व्यवसायी मासिक डेढ करोड घाटामा

पदयात्रा व्यवसायीको पनि गुनासो उस्तै छ । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदी कोरोनाका कारण पदयात्रा व्यवसाय ठप्प जस्तै भएको गुनासो गर्छन् । उनका अनुसार पछिल्लो महिनाको तथ्यांकलाई आधार मान्दा पदयात्रा व्यवसायीहरु हाल १ करोड ४३ लाख रुपैयाँ मासिक घाटामा छन् । 

‘यो समस्या समाधान हुन ६ महिना लाग्ने हो भने त्यो ६ महिनाको अवधिमा पदयात्रा व्यवसाय ११ अर्ब ७० करोड रुपैयाँ घाटामा पुग्छ’ सुवेदीले भने ।

थन्किए पर्यटक बोक्ने सवारी

पर्यटक ओसारपसारमा भ्याई नभ्याई हुने पर्यटक सवारी साधन अहिले थन्किएका छन् । नेपालमा हाल साना तथा ठूला गरेर २ हजार ९५० वटा पर्यटक सवारी छन् । तर यीमध्ये हाल मुस्किलले सय वटा जति चलेका छन् । विदेशी पर्यटकको आगमन रोकिँदा पर्यटक सवारीको ‘मुभमेन्ट’मा नराम्रोसँग प्रहार भएको छ । 

‘पर्यटक सवारीमा १४ अर्ब ७५ करोड रुपैयाँ लगानी छ, योमध्ये ६ अर्ब ऋण छ’ एक व्यवसायीले भने, ‘अरु व्यवसायको त केही प्रतिशत भएपनि अकुपेन्सी रहेछ, हाम्रो त अकुपेन्सी मुभमेन्ट शून्य भईसक्यो ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved