कोरोना नियन्त्रण कोषमा सहयोगको ओइरो, कसले कति दिए ? (सूचीसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2020 | 03:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस सम्बन्धि जोखिम बढेको भन्दै सरकारले केन्द्रीय राहत कोष खडा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसले पारेको प्रतिकुल असर विरुद्द लड्न खडा गरेको कोषमा ५० करोड रुपैयाँ सुरु पुँजी राखेको छ। कोषमा प्रधानमन्त्रीसहित सरकारका सबै मन्त्रिहरुले एक महिनाको तलव पनि योगदान गर्ने छन् । 

सरकारले कोष खडा गर्नासाथ विभिन्न निकायलाई कोषमा योगदान गर्न सार्वजनिक आह्वान समेत गरेको थियो । सरकारको आह्वानलाई स्वीकार गर्दै विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गरिरहेका छन् । हालसम्म विभिन्न व्यक्ति तथा संस्थाबाट गरी करिब ३ करोड ३५ लाख रुपैयाँ संकलन भईसकेको छ ।

कसले कति सहयोगको घोषणा गरे ?

सरकारले कोष खडा गरेको जानकारी सार्वजनिक भएलगत्तै नेकपाकी महिला नेतृ एवम् प्रतिनिधिसभा सदस्य रामकुमारी झाक्रीले आफ्नो एक महिना बराबरको तलव योगदान गर्ने सार्वजनिक घोषणा गरिन् । सांसदको तलव मासिक ५५ हजार रुपैयाँ हुन्छ । कर कट्टा गरेर आफूले पाउने एक महिनाको तलव कोषमा योगदान गर्ने घोषणा गर्ने पहिलो सांसद बनिन् झाक्री । 

त्यस्तै नेपाली काँग्रेसका सांसद दिव्यमणी राजभण्डारीले ५ लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेका छन् । काँग्रेस सांसद गगन कुमार थापाले सबै दलका सांसदहरुलाई एक महिनाको तलव योगदान गर्न सार्वजनिक रुपमा नै आह्वान गरेका छन् । तर उनले आफूले कति योगदान गर्ने भन्ने घोषणा भने गरिसकेका छैनन् ।

त्यस्तै राष्ट्रियसभा सदस्य गणेश प्रसाद तिमल्सिनाले पनि एक सरकारी कोषमा एक महिनाको तलव योगदान गर्ने भएका छन् । उनको तलव ६७ हजार ३२० रुपैयाँ छ ।

प्रधानमन्त्रीको सचिवालयबाट एकमुष्ट योगदान

कोषमा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले पनि सहयोग गर्ने भएका छन् । कोषमा एक महिनाको तलब जम्मा गर्नेमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहाकार डा. राजन भटटराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्य छन् ।

प्रधानमन्त्रीका विकास पूर्वाधार विज्ञ ई. गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको पारिश्रमिक जम्मा गर्ने छन् । 

बैंक तथा वित्तीय संस्थाको सहयोग आउँदै

निजी क्षेत्रबाट पनि कोषमा सहयोग रकम भित्रिने क्रम जारी छ । सरकारी स्वामित्वको कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ कोषमा सहयोग गर्ने निर्णय गरेको छ । 

नेपाल बैंक लिमिटेडले पनि यसअघि नै १ करोड रुपैयाँ सहयोगको घोषणा गरिसकेको छ । त्यस्तै गैह्र आवासीय नेपाली संघ (एनआएनए)ले पनि कोषमा १ करोड रुपैयाँ योगदान गर्ने सार्वजनिक घोषणा गरेको छ । 

गायकले पनि गरे योगदान 

लोकदोहोरी गायक प्रकाश सपूतले पनि कोषमा २ लाख रुपैयाँ सहयोग गरेका छन् । गृह जिल्ला बागलुङमा रहेका प्रकाशले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दैै यो रकम कोषमा जम्मा गरिदिन आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved