प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीविरुद्धको अभियानमा सरकार नै पर्याप्त रहेको भन्दै छुट्टै संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा प्रधानमन्त्रीले सरकारले नै प्रभावकारी रुपमा काम गरिरहेको भन्दै अर्को संयन्त्र आवश्यक नरहेको बताएका हुन् ।
‘१५ दिन घरमा बस्दै बीच बीचमा निर्देशन दिएजस्तो गर्ने अर्को कुनै संयन्त्रको आवश्यकता छैन’ प्रधानमन्त्री भने, ‘अहिलेका लागि सरकार नै पर्याप्त छ ।’
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजन अन्तरवार्तामा कोरोना भाइरसविरुद्द लड्न सरकारी संयन्त्र मात्रै पर्याप्त नरहेको भन्दै सर्वदलीय संयन्त्र आवश्यक रहेको बताएका थिए ।
यसैबीच भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले लकडाउन तत्काल अन्त्य नहुनेसमेत बताएका छन् । छिमेकी मूलुक भारतमा संक्रमण फैलिने क्रम बढिरहेको वर्तमान अवस्थामा लकडाउन खुला गर्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाई छ ।
सीमा नाकामा झन कडाइ गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै प्रधानमन्त्रीले लापरबाही नगर्न मुख्यमन्त्रीहरुलाई निर्देशनसमेत दिएका छन् ।