लकडाउनमा हिमाल सरसफाईः कहाँ पुग्यो हजार जनालाई रोजगारी ब्युताउँने लक्ष्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 06:15:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारी विरुद्द सावधानी अपनाउन विश्वका सबैजसो देशमा लकडाउन र सिमा नाका कडाई गरिएको छ । नेपालमा लकडाउन सुरु भएको चौथो हप्ता जारी छ । कोरोनाको महामारीका कारण सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यकासाथ ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेको नेपालका लागि वर्षको सुरुवात नै घातक बनेको छ । 

हिमाल सरसफाईको अवधारणा

भ्रमण वर्ष औपचारिक रुपमा नै स्थगित भईसकेको छ । सबैखाले पर्यटकीय गतिविधि बन्द अवस्थामा छन् । पर्वतारोहण नहुने भएपछि यसवर्ष हिमालले मानव भार थेग्न नपर्ने भएको छ । 

लकडाउन पहिलो हप्तामा चल्दै गर्दा नेपालको अल्पाइन क्लबका रुपमा काम गर्दै आएको नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमाल सरसफाईको अवधारणा प्रस्तुत गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखेरेललाई संघका अध्यक्ष शान्तबीर लामाले लकडाउनमा हिमाल सरसफाई गर्न सकिए आगामी वर्षहरुमा पर्वतारोहणलाई व्यवस्थित बनाउन सकिने प्रस्ताव राखेका थिए । यसो गर्न सके निम्न आयस्तर भएका पर्वतीय पथप्रर्दशकहरुले रोजगारी गुमउनु नपर्ने र पदमार्गसमेत सरसफाई हुने उनको प्रस्ताव थियो । 

यतिमात्र नभई संघले नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) लगायतका संघसंस्था र निकायसँग पनि छलफल जारी राखेको छ । पर्यटनमन्त्री भट्टराई र पर्यटन बोर्ड एनएमएको प्रस्तावमा सकारात्मक देखिएपनि प्रक्रिया भने सुरु हुन सकेको छैन । 

एक हजारलाई रोजगारी

पर्यटनमन्त्री भट्टराईले पर्यटनसँग सम्वद्ध विभिन्न व्यवसायीक संगठनसहित सरोकारवालासँग दैनिकजसो भिडियोमार्फत संवाद गरिरहेका छन् । एनएमएले हरेक संवादमा हिमाल सरसफाईको विषयलाई जोडदारका उठाएको छ । 

एनएमएका अध्यक्ष लामाका अनुसार लकडाउनको अवधिमा हिमाल सरसफाई गर्न सकिए १ हजार श्रमिक रोजगार गुमाउनबाट बच्ने छन् । यो एक हजारको जनशक्ति एनएमए र टानले तयार गर्ने मोटामोटी समझदारी बनिसकेको छ । उनीहरुलाई पर्यटन बोर्डले पारिश्रमिक उपलब्ध गराउने भनिएपनि यसरी हिमाल सरसफाईमा हुने खर्च भने साविकको ‘हिमाल सरसफाई खर्च’ शीर्षकमा भएको रकम सबै सरोकारवाला निकायले ब्यहोर्ने छन् । यो शीर्षकमा मन्त्रालय, पर्यटन बोर्ड र एनएमएसँग चालु आर्थिक वर्षभित्रै खर्च गर्नुपर्ने गरी बजेट छुट्याईएको छ । टानले भने ‘ट्रेकिङ ट्रायल मर्मत र सरसफाई’का लागि भनेर केही रकम छुट्याउने गरेको छ । 

यसका साथै नेपाल पर्यटन बोर्डले दातृ निकायसँग पनि सहयोग माग गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले केहीदिन अघि मन्त्री भट्टराईसँगको भर्चुअल मिटिङमा युएनडिपीसँग सहयोगको अनुरोध गरिएको जानकारी गराएका थिए । 

कहिले गर्न सकिन्छ हिमाल सरसफाई ?

विगतका वर्षहरुमा पनि समयानुकल हिमालहरु सरसफाई हुँदै आएका थिए । एनएमएका अध्यक्ष लामाका अनुसार जुन १५ सम्म हिमाल सरसफाई गर्न सकिन्छ । यो मिति आउन अझै करिब २ महिना बाँकी रहेका कारण सिजनमा पर्वतारोहीको धेरै चाप हुने हिमालहरु यो बीचमा सरसफाई गर्न सकिने उनको अनुमान छ । 

सेप्टेम्बरबाट पनि हिमाल सरसफाई गर्न सकिने सरोकारवालाहरु बताउँछन् । यसका लागि सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्नुपर्ने (फोहोर ओसार्न) र आधार शिविरमा संकलन केन्द्र बनाउनुपर्ने अध्यक्ष लामाको भनाई छ ।

तर आर्थिक वर्ष नजिकिएसँगै बजेट सक्ने दाउमा लकडाउनको बेला पनि हिमाल सरसफाईको बेमौसमी बाजा बजाईएको भन्दै आलोचनासमेत सुरु भएको छ । यसबारे थप जानकारीसहित समाचार प्रकाशित हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved