६० हजार चालक आवद्ध ‘टुटल’ नयाँ योजना बनाउँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2020 | 07:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिकले अति नै रुचाएको सवारी साधनका माध्यम हुन् टुटल, पठाओ र सरर नेपाल । आफ्ना नीजि मोटरसाइकलमार्फत नागरिकलाई सहजै सेवा दिने र त्यसबाट भएको आम्दानीले परिवारको दैनिकी टार्ने मेलो भएका कारण यस्ता राइड सेयरिङको महत्व रोजगारी सिर्जनामा पनि बढी छ । यति मात्रै नभई जहा बोलायो त्यही आउने, छिटो र सस्तो सेवाका कारण पनि यी माध्यम पछिल्लो समय सर्वसाधारणका लागि प्रिय बने । 

लकडाउनले राइडरलाई समस्या

आफ्नो नीजि नाममा दर्ता भएका सवारी साधनले पैसा लिएर मानिस बोक्नु हुँदैन भन्ने जमात पनि कम छैन । विशेष गरी ट्याक्सी चालक र ट्याक्सी धनीहरुको दबाबमा पटक पटक सरकारी जालझेलको सिकार भएका यस्ता व्यवसायहरुले हजारौँ रोजगारी सिर्जना गरेको तर्फ सरकारले अध्ययन नै गरेन । 

बल्ल तल्ल कानुन निर्माणको प्रक्रिया सुरु हुँदा कोभिड–१९ को विश्वव्यापी त्रासका कारण मूलुक नै लकडाउनको अवस्थामा छ । कहिले मन्त्री, कहिले प्रधानमन्त्रीको ठाडो आदेशका भरमा चलेका यस्ता ‘स्टार्ट अप विजनेश’लाई लकडाउनले नराम्ररी प्रभावित बनाएको छ । मानिसको आवतजावत जति धेरै हुन्छ, त्यति नै फस्टाउने यस्ता सेवाहरु अहिले शुन्यमा झरेका छन् । टुटल, पठओ, सरर नेपाल, फिलीली लगायत यस्ता सेवा प्रदायकहरु अहिले मारमा छन् । 

टुटलका प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार टुटलका मात्रै दैनिक ३० हजार मोटरसाइकलले सेवा दिन्थे । टुटलमा आवद्ध चालकहरु भने ६० हजारभन्दा धेरै छनत् । अहिले सबैभन्दा धेरै अफ्ट्यारो चालकहरुलाई परेको उनको भनाई छ । अन्य सेवा प्रदायकमा पनि झण्डै यत्तिकै हाराहारीमा राइडहरु आवद्ध छन् । 

मोटरसाइकलमार्फत मानिसलाई सम्बन्धित गन्तव्यमा पुर्याउने र त्यसबापत आर्जन भएको पैसाले क्याम्पसको पढाई शुल्क तिर्ने, परिवारको बिहान बेलुको छाक टार्ने, घरभाडा तिर्ने चालकहरुलाई बढी समस्या परेको उनको भनाई छ । 

कर्मचारीलाई पूरै तलब

‘पूर्ण रुपमा हामीसँग आवद्ध भएर काम गरिरहनु भएका चालक साथीहरु लकडाउनको प्रत्यक्ष मारमा पर्नु भएको छ’ उनले भने, ‘हाम्रो अफिसमै बसेर काम गर्ने २२÷२५ जना कर्मचारीहरुलाई भने अहिलेसम्म पूरै तलब दिईरहेका छौँ ।’ 

उनले कर्मचारी रहे मात्रै अवस्था सामान्य भएपछि फेरि व्यवसायमा फर्किन सहज हुने भएकाले कर्मचारीहरुका दैनिक आवश्यकता पूरा गर्न कठिनाई नहोस् भनेर पूरै तलब दिँदै आईएको बताए । 

पठाओ, सरर नेपालले पनि सेवा बन्द हुँदा कार्यालयको भाडा तिर्न समस्या भएको बताएका छन् । कर्मचारी भने कम संख्यामा रहेका कारण तलब दिन तत्कालै समस्या नदेखिएको उनीहरुको भनाई छ । लकडाउनको अवधि लम्बिँदै जाने हो भने कर्मचारीको तलब व्यवस्थापनसमेत चूनौतीपूर्ण हुने उनीहरुको गुनासो छ । 

अवसर देख्दै टुटल

मानिसको आवतजावत सुरु हुनासाथ सवारी सधानको आवश्यक पर्ने भएकाले टुटलले अझ धेरै रोजगारी सिर्जना गर्न सकिने अवसर देखेको छ । उनले लकडाउन खुलेपछि राइड सेयरिङ सेवा प्रदायकहरु पनि बढ्ने र रोजगारी सिर्जना पनि बढ्ने विश्वास व्यक्त गरे । 

‘कति होटलका कामदारहरुले रोजगारी गुमाउलान्, कति विदेशमा रहेका नेपालीहरु फर्किनु हुन्छ होला’ सिइओ भट्टले भने, ‘अझ धेरै रोजगारी सिर्जनामा लाग्नुपर्ने बेला आएको छ । हामी जस्ता स्टार्टअपहरुले अब काम गरेको भोलिपल्टै आम्दानी गर्ने सोच नराखी रोजगारी सिर्जना, रोजगारी सिर्जना र फेरि रोजगारी सिर्जना मात्रै सोच्नुपर्छ ।’ 

‘कानुनी अड्चन फुकाईदेउ’ 

राइड सेयरिङ सेवालाई अनौठो ठानेर सरकारले कानुन बनाउन ढिलाई गरिरहेको बेला टुटलका सिइओ शिक्षितले अब कानुनी अड्चनमा अल्झेर स्टार्टअपलाई नमार्न सरकारसँग अनुरोध गरेका छन् । अन्य व्यवसायी वा उद्योगी जस्तो आफूहरुलाई आर्थिक राहतको जरुरत नपर्ने भन्दै उनले कानुन बनाएर सेवा र स्वच्छ व्यवसाय गर्ने बाटो खोलिदिन आग्रह गरेका छन् । 

‘हामीलाई फाइनान्सियल राहत जरुरी छैन’ उनले भने, ‘सरकारले अब कानुनी अड्चन फुकाएर सहयोग गरोस् र विगतको जस्तो झमेला नदोहोरियोस् भन्ने हाम्रो चाहाना छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved