सार्वजनिक सवारी खुलाउन छलफल तीव्र, यस्तो छ तयारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2020 | 06:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन खुकुलो भएर नीजि सवारी सधान चल्न थालेपछि सार्वजनिक सवारीका साधन कहिलेबाट चल्छन् भन्ने सर्वत्र चासो छ । लकडाउन सहज बनाउँदै नीजि सवारीका साधन जोर विजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको सरकारले सार्वजनिक सवारी साधन चलाउनेबारे भने निर्णय गरिसकेको छैन । तर बहस भने सुरु भएको छ । 

सरकारले सार्वजनिक सवारीका साधन चल्न दिने निर्णय गर्नासाथ सडकमा गाडी आइहाल्ने अवस्था नरहेकाले त्यसलाई कसरी सहजिकरण गर्ने भन्नेबारे यातायात व्यवस्था छलफलमै छ । विभागका सूचना अधिकारी तिर्थराज खनाल यो विषय जटिल रहेकाले तत्कालै कुनै निर्णय नआउने बताउँछन् ।

‘यो विषय नै जटिल छ, स्वास्थ्य र सुरक्षाका सबै प्रवन्ध मिलाउनुपर्ने भएकाले सरल छैन’ उनले भने, ‘यो एउटा निकायले निर्णय गरेर तत्काल लागू गरिहाल्ने विषय पनि होइन, त्यसो गरिहाल्ने अवस्था पनि छैन । हामी निरन्तर छलफलमा छौँ ।’ 

द्विपक्षीय छलफल

यातायात व्यवस्था विभागले केही दिनदेखी द्विपक्षीय छलफललाई तीव्रता दिएको छ । सरकार र व्यवसायीबीच विभिन्न चरणमा छलफल भएपनि निश्कर्ष भने निस्किन सकेको छैन । शनिबार पनि यातायातमन्त्री बसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाल र व्यवसायीबीच छलफल भएको छ । 

सार्वजनिक रुपमा नागरिकले सार्वजनिक सवारीका साधन चलाउनुपर्छ भन्ने आवाज बोल्न थालेपछि विभागले छलफल थालेको हो । तर व्यवसायीले महिनौदेखि गाडी थन्किएका कारण तत्काल चलाउन असम्भव रहेको भन्दै विभिन्न माग राखेका छन् । 

पुर्नकर्जा दिनुपर्ने, गाडी थन्किएका कारण बैंकको किस्ता तिर्न नसकेका कारण किस्ता तिर्ने अवधि थप गर्नुपर्ने र तत्काल गाडी चलाउन सक्ने वातावरण बनाउन गाडी मर्मतको प्रवन्ध मिलाउनुपर्ने व्यवसायीको माग छ । विभागले यी मागहरु सम्बन्धित निकायमा बुझाउने काम सुरु गरेको विभागका महानिर्देशक हमालको भनाई छ ।

‘डिटेलमा छलफल भएको छैन, सामान्य रुपमा छलफल अगाडी बढ्दैछ’ महानिर्देशक हमालले भने, ‘व्यवसायीका केही मागहरु पनि छन्, ती माग सम्बोधन गर्नेबारे पनि सरकारी निकायबीच छलफल हुन बाँकी छ ।’ 

विभागले सरकारले गाडी चलाउने निर्णय गरेपछि कसरी चलाउने भन्ने अलमल नहोस् भनेर छलफललाई तीव्रता दिएको महानिर्देशक हमाल बताउँछन् ।

चलाउन सक्नेबारे निर्णय भएपछि मोडालिटीबारे छलफल गरेर निश्कर्ष निकाल्ने विभागले जनाएको छ । विभागले काठमाडौँ उपत्यका भित्र सार्वजनिक सवारी चलाउन र उपत्यकाबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीका लागि छुट्टा छुट्टै नियम बनाउनेबारे राय प्राप्त भएको बताएपनि के के मापदण्ड कायम गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved