के गर्दैछन् नेकपाका नौजवान ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 10, 2020 | 01:31:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले कस्तो मोड लिन सक्ला ? २ वर्ष अघि नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भएपश्चात बनेको नेकपा फुटको संघारमा पुगेको हो ? लगायतका प्रश्न यतिबेला आम सर्वसाधारणको जिब्रोमा झुण्डिएको छ । 

के छ विश्लेषण ?

राजनीतिक विश्लेषकहरु पनि आ–आफ्नै विश्लेषणमा छन् । प्रा.डा. सुरेन्द्र केसी, डा. खगेन्द्र प्रसाईलगायतका विश्लेषकहरु हाल एकलौटी सत्तामा रहेको नेकपा हालकै अवस्थामा रहन नसक्ने अवस्थामा पुगेको बताउँछन् । 

डा. केसीले त सत्तामा पुग्नकै लागि एकता भएका कारण अब लामो समय केपी ओली र पुष्पकमल दाहाल सँगै हिड्न सक्ने अवस्था नरहेको विश्लेषण गरेका छन् । भारतको लक्ष्य जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु रहेको र उसले आफ्नो योजना सफल बनाउन प्रचण्डलाई प्रयोग गरेको विश्लेषक डा. केसीको भनाई छ । 

अर्का विश्लेषक डा. प्रसाईले भने भारतकै कारण नेकपाभित्र किचलो देखिएको नबताएपनि लोकतान्त्रिक राजनीतिक दलमा लोकतान्त्रिक अभ्यास नरहेका कारण विवाद चुलिएको बताउँछन् । तत्कालिन माओवादी भित्र शक्ति सन्तुलनमा लोकतान्त्रिक अभ्यास नरहेका कारण ३६ वर्षसम्म प्रचण्ड एक्लै नेतृत्वमा रहेको र उनै प्रचण्ड नेकपाको एक अध्यक्ष रहेका कारण महाधिवेशनसम्म कुर्ने धैर्यता प्रचण्डले नराखेको डा. प्रसाईको भनाई छ । 

तत्कालिन नेकपा एमालेभित्र पनि नवौँ महाधिवेशनपछि लोकतान्त्रिक अभ्यास हराउँदै गएको र लोकतान्त्रिकभन्दा पनि निरङ्कुश प्रवृत्ति हावी भएको उनको भनाई छ । प्रजातान्त्रिक मान्यता नभएको पार्टी कम्युनिष्ट पार्टी बन्नै नसक्ने उनको विश्लेषण छ ।

के गर्दैछन् नेकपाका नौजवान ?

नेपाली राजनीतिमा युवा नेता कति उमेर सम्मलाई मान्ने भन्ने यकिन छैन । तर दोस्रो पुस्ताका नेताहरु आफूलाई युवा नेताको रुपमा उभ्याउँदै आएका छन् । तर उनीहरुको उमेर ५० वर्ष नाघिसकेको छ । आफूलाई युवा (नौजवान) मान्ने ५० वर्षे नेताहरु पार्टीभित्र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नबाट भने चुकेका छन् ।

नेकपाका दोस्रो तहका नेताहरुको निश्कर्ष भने विवादको जड शीर्ष नेता नै हुन् । पार्टी एकता गर्दा दुई अध्यक्षबीच भएका सहमति अनुसार विधान तयार भएको र विधान अनुसार अगाडी बढ्नुपर्ने उनीहरुको निश्कर्ष छ । पार्टी फुटको संघारमा रहेको भनेर विश्लेषण भईरहेका बेला युवा नेताहरुले पार्टी फुट्नबाट बचाउन शीर्ष नेताहरुलाई सचेत गराईरहेका छन् । 

नेकपाका दोस्रो तहका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, विष्णु रिमाल, वर्षमान पुन, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझीलगायत ११ नेताहरु शीर्ष नेतृत्वलाई दबाब दिईरहेका छन् । मन्त्रिपरिषद्मा कृषि मन्त्रीसमेत रहेका भुसालले यो समूहको नेतृत्व गरिरहेका छन् । उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई भेटेरै पार्टीको जारी स्थायी कमिटीको बैठक स्थगित गरेर दुई अध्यक्षबीच छलफल गरेर विवाद सुल्झाउन सुझाव दिएका थिए । उनकै सुझाव अनुसार ओलीले बैठक स्थगित गर्दै आएका छन् । पटक पटक स्थगित हुँदै साउन २ सम्मका लागि सरेको छ । 

भुसालको नेतृत्वमा रहेका ११ जना युवा नेताहरुको समूहले आफ्नो मात्रै राजनीति हेरेर भावी पुस्तालाई अन्याय नगर्न शीर्ष नेतालाई आग्रह गर्दै आएको छ । आफूले नेतृत्व गरेको समूहका नेताहरुबाट आएका राय सुझाव लिएर मन्त्री भुसालले दुईपटक दुवै अध्यक्षलाई भेटेर सुनाईसकेका छन् ।

पर्यटन मन्त्रीसमेत रहेका योगेश भट्टराई सामाजिक सञ्जाल र सञ्चारमाध्यममा एकता कायम राख्न दुई अध्यक्षले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा राखिरहेका छन् । पार्टी फुटाएर समस्याको समाधान नहुने भन्दै उनले एकता कायम राख्न आ–आफ्नो स्वार्थबाट माथि उठेर मूलुकको हितलाई केन्द्रमा राखेर अगाडी बढ्न सुझाव दिँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved