राम्रा होइन, हाम्रालाई लगानी बोर्डको सीईओ बनाउने तयारी, प्रतिष्पर्धीलाई चिया खुवाएर पठाइयो

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 02, 2020 | 06:27:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्दैछ । सीइओको लागि १२ जना आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्टमा परेपनि सिमित व्यक्तिसँग मात्रै अन्तरवार्ता लिईएको पाईएको छ ।

अन्तरवार्तामा चिया गफ

चण्डिका भट्ट, शुशिल ज्ञवाली, रामकृष्ण खतिवडा, डा. सरोज कोइराला, दीपकराज जोशी र सुशील भट्टको नाम सर्टलिस्टमा थियो । शुक्रबार यी मध्ये केहीलाई अन्तरवार्ता भनेर बोलाईएपनि चिया खुवाएर फर्काइएको छ । शुक्रबार रामकृष्ण खतिवडा र डा. सरोज कोइरालालाई मात्रै बोलाईएको पाईएको छ ।

‘५ जनालाई नै बोलाईएको भनिएको थियो, तर ज्ञवाली जी ले अन्तिममा आएर आफैँ अनुपस्थित जनाउनु भयो’ स्रोतले भन्यो, ‘बाँकी ४ जनामध्ये पनि २ जनालाई बोलाईएको रहेनछन, बोलाईएका २ जनालाई पनि चिया खुवाएर पठाईयो ।’ 

ज्ञवाली भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेरै शुक्रबार अन्तरवार्ताको लागि उपस्थित नभएको बताईएको छ । 

‘सुरुमा ५ जनाको नाम सार्वजनिक गर्दा भट्टको नाम थिएन, तर प्रधानमन्त्रीले नै भट्टको नाम राख्न लगाएपछि माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माको नाम हटाएर उहाँको नाम राखिएको हो’ स्रोतले भन्यो, ‘सुशिल सर प्रधानमन्त्रीलाई भेट्न जाँदा पनि प्रधानमन्त्री भट्टप्रति सकारात्मक भएको थाहा पाएर आफै ब्याक भएको हुनुपर्छ ।’ 

‘सर्ललिस्टमा परेपछि अन्तरवार्ताका लागि बोलाईन्छ भन्ने थियो, शुक्रबार बिहानसम्म तपाईको नाम पनि छ भनेर साथीहरुले भनेका थिए’ सर्टलिस्टमा परेका एक जना आवेदकले भने, ‘अन्तरवार्ताको लागि बोलाईएकाको सूचीमा नाम छ भन्ने कुरा आएपछि एक अर्कालाई शुभकामना पनि दिईयो, तर बोलाएको २ जनालाई मात्रै रहेछ । आइतबार बोलाउँछन् की भनेको बोलाएनन् ।’

जुनियरलाई सीइओ बनाउने तयारी

बोर्डको सीइओ बन्न १२ जनाले आवेदन दिएका थिए । 

पूर्वसहसचिव लक्ष्मीविलास कोइराला, पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नागरिक लगानी कोषका पूर्वप्रशासक तथा चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) का अध्यक्ष कृष्ण आचार्य, विशेष आर्थिक क्षेत्र (सेज) का पूर्वकार्यकारी निर्देशक चण्डिका भट्ट, लगानी बोर्डकै परामर्शदाता रहेका पूर्वाधार विज्ञ आशिष गजुरेल, माछापुच्छ्रे बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, त्रिविका एसोसिएट प्रोफेसर रमेशचन्द्र पौडेल पनि आवेदक हुन् ।

सुशील भट्ट भन्दा लामो अनुभव भएका व्यक्तिहरुले आवेदन दिएको भएपनि अरु सबैलाई पन्छाएर उनैलाई अघि सारिएको छ । स्रोतका अनुसार उनको शैक्षिक योग्यताबाहेक अरु कुनै पनि योग्यता पुग्दैन ।

बोर्डको सीइओ बन्न ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ, विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने’ भनिएको छ । तर उनीसँग् योजना आयोगमा सदस्य भएको २ वर्षको बाहेक अरु अनुभव छैन ।

अर्थमन्त्रीले नाम गोप्य राखे

३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउनुपर्ने भएपनि अर्थमन्त्री डा. युवराज खतिवडाले नाम गोप्य राखेको सिफारिस समितिकै सदस्यको आरोप छ । सिफारिस समितिमा अर्थमन्त्री खतिवडासँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेल र योजना आयोगका पूर्वसदस्य डा. गोविन्द नेपाल सदस्य छन् । उनीहरूले दरखास्त परेकाहरूमध्ये तीन जनाको नाम छनौट गरी मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिसकेको स्रोतको दाबी छ ।

‘शुक्रबार सामान्य कुराकानी भएको हो, अब कसको नाम पठाउने भन्ने कुरा अर्थमन्त्रीलाई थाहा छ, उहाँले नाम गोप्य राख्नु भएको छ’ समितिका एक सदस्यले भने, ‘अब ३ जनाको नाम पठाउनै पर्ने भएकाले पहिलो नम्बरमा कसको नाम राख्ने भन्ने कुरा उहाँमा भर पर्छ, बाँकी २ जनामा ज–जसको नाम राखेपनि खासै फरक पर्ला जस्तो देखिँदैन, हामी त हस्ताक्षर गर्ने मात्रै हौँ ।’

स्रोतले भने अनुसार अर्थमन्त्री डा. खतिवडाले भट्ट, डा. कोइराला र खतिवडाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्दैछन् ।

यसअघिः

लगानी बोर्डको सीईओको दौडमा ५ भाइ, कुन नेताको समर्थन कसलाई ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved