बार अनुसार पसल खोल्ने नियमको अवज्ञा, प्रशासन निरीह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 05:40:21 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यवसायीले आइतबारबाट पसल तथा व्यवसाय खोलेका छन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले व्यवसाय सञ्चालन गर्न तयार गरेको मापदण्ड विपरित व्यवसायीले पसल व्यवसाय खुलेका हुन् । ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले पसल सञ्चालन गर्न तयार पारेका सर्तहरु मान्य नभएको भन्दै व्यवसायीले आइतबारबाट सबै खालका पसलहरु खोलेका छन् ।

बार अनुसार पसल व्यवसाय सञ्चालन गर्न प्रशासनले दिएको आदेश अनुसार नै आफूहरुले व्यवसाय खोलेको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् । आज खुल्न पाउने भनेर तोकिएको भन्दा अन्य खालका व्यवसाय खुलेको भएपनि यसमा महासंघको कुनै धारणा नरहेको उनको भनाई छ ।

‘हामीले प्रशासनले तोके अनुसार नै खोलेका हौँ, कोही कोहीले आज खुल्न नपाउने भनिएका पसलहरु पनि खोल्नु भएको छ भने त्यो उहाँहरु आफैँले आफ्नो अनुकुलमा खोल्नु भएको होला’ अध्यक्ष कटुवालले भने, ‘महासंघले पूरै खोल्नु वा बन्द नै गरिराख्नु भनेर आफ्नो आधिकारीक धारणा राखेको छैन, हामी व्यवसायीलाई परेको मर्काबारे विभिन्न तहका व्यक्तिहरुलाई भेटेर समस्या राख्ने क्रममै छौँ, शनिबार नेकपाका प्रवक्तालाई भेट्यौ, आज काँग्रेसका सभापतिलाई भेटेर आफ्ना कुरा राख्यौ ।’ 

उनले काँग्रेस सभापति शेर बहादुर देउवा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सँगको भेटमा चीनमा रोकिएका नेपाली व्यवसायीका सामान जतिसक्दो चाँडो नेपाल आइपुग्ने प्रवन्ध मिलाइदिन अनुरोध गरिएको बताए । जवाफमा दुबै नेताहरुबाट सकारात्मक आश्वासन पाएको अध्यक्ष कटुवालको भनाई छ ।

काठमाडौँका न्युरोड, असन, ठमेल, भोटेबहाल जस्ता व्यापारिक क्षेत्रमा सबैखाले पसलहरु खुलेकोबारे आफू पनि जानकार रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् । के भइरहेको छ भन्ने रिपोर्ट माग गर्दा सबै किसिमका पसलहरु खुलेको रिपोर्ट आफूलाई आएको तर अब के गर्ने भन्ने निर्णय भइनसकेको उनको भनाई छ । 

उनले आदेश दिनेले नै पालना पनि गराउने भएकाले अनुगमन जरुरी रहेको बताए । विस्तारै जनजीवन सामान्य गर्दै लैजाने उदेश्य अनुरुप नै बार अनुसार पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएकाले सोही अनुसार गर्नुपर्ने उनको भनाई छ ।

व्यवसायीले भने बार अनुसार व्यवसाय सञ्चालन गर्न पाउने नियम नै अब्यहारिक र अवैज्ञानिक रहेको बताएका छन् । सबै खालका व्यवसायीहरु लामो लकडाउनका कारण आर्थिक भार खेप्न बाध्य बनेको भन्दै अब कुनै पनि प्रकारका पसल व्यवसाय बार अनुसार नचल्ने उनीहरुको दाबी छ । बार तोकर व्यवसाय खोल्न पाउने र नपाउने नियम बनाउँदा झन धेरै भिडभाड हुने उनीहरुले तर्क गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved