सरकारको 'इच्छा' बिपरित ५ लाखले काठमाडौं छाड्दै, ट्राफिक भन्छन् 'जबरजस्ती रोक्न सकिन्न'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 04:21:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चाडपर्वहरु नजिकिएसँगै काठमाडौँ छोड्नेहरु दिन प्रतिदिन बढिरहेका छन् । ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालका अनुसार पछिल्लो एक हप्ता यता काठमाडौँ छोड्ने यात्रुहरु बढिरहेका छन् ।

सरकारले चाडपर्व मनाउन गाउँ नै जान बल नगर्न र अहिले जहाँ बसिएको छ त्यही बसेरै चाड मनाउन अनुरोध गरेको छ । यस्तो अवस्थामा पनि काठमाडौँबाट बाहिरिनेहरु बढिरहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।

‘जबरजस्ती रोक्न सकिन्न’

ट्राफिक प्रहरीले सरकारी अनुरोध मानेर यसवर्ष काठमाडौँबाट गाउँ नफर्किन अनुरोध गरेको छ। महाशाखा प्रमुख ढकालले विगत वर्षहरुमा जस्तो भिडभाड सहित फर्किने मानिसहरु नहुने भएपनि सरकारले ‘जहाँ छौँ, त्यही बसेर चाड मनाऔँ’ भनेर गरेको अनुरोध मानिदिन आग्रह गरेका छन् ।

‘सरकारले गरेको अनुरोध मानिदिन ट्राफिक प्रहरीको अनुरोध छ’ उनले भने, ‘तर, जानेलाई रोक्न सकिन्न, आवश्यकता परेर जानैपर्ने भएकाहरुलाई सहजिकरण गरेर पठाउने दायित्व हाम्रै हो, यसका लागि सहजिकरण त गर्छौ ।’ 

भित्रिने भन्दा जाने धेरै हुने क्रम सुरु भईसकेको बताउँदै उनले यो क्रम दशैँसम्मै कायम रहने अनुमान गरिएको सुनाए । तर, काठमाडौँबाट गाउँ नगई नछोड्नेहरुलाई सुरक्षित बनाउन हरेक गाडीहरु डिस्इन्फेक्सन गरे नगरेको अनुगमन गर्ने, चालक र सहचालकलाई मास्क, स्यानिटाइजर र भाइजरको अनिवार्य व्यवस्था गर्छौ भनेर व्यवसायीले गरेको प्रतिवद्धता पूरा गरे नगरेको कडाईका साथ अनुगमन गर्ने व्यवस्था मिलाईएको प्रमुख ढकालले बताए ।

उनले थपे, ‘सरकारको आह्वान मान्नेहरु यही बस्नुहुन्छ, सरकारलाई सहयोग गर्नुहुन्छ । तर, नगई छोड्दिन भन्नेहरुलाई जबरजस्ति रोक्ने कुरा आएन ।’ 

बढी भाडा लिनेलाई कारबाही अभियान

ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट ‘यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही विशेष अभियान’ सुरु गरेको छ । मंगलबार ५ र बुधबार ४ वटा गाडीका चालक र सहचालकलाई कारबाही गरिसकिएको प्रमुख ढकालले जानकारी दिए ।

‘हामीले मंगलबारबाट यात्रुसँग तोकिएको भन्दा धेरै भाडा लिनेलाई कारबाही गर्न विशेष अभियान नै थालेका छौँ’ उनले भने, ‘यो काम महाशाखा र महाशाखा मातहतका युनिटबाट खटिएका सिभिल पोशाकका ट्राफिक प्रहरीहरुले गर्नेछन्, उनीहरु यात्रु बनेर चढेर अनुगमन गर्छन् र बढी भाडा लिए कारबाही गर्छन् ।’ 

उनले जोरविजोर प्रणाली नमान्ने दैनिक हजारदेखि १५ सय सवारी कारबाहीमा परिरहेको पनि बताए ।

अग्रिम टिकट बुकिङ अन्यौलमा

यातायात व्यवसायी पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने की नगर्ने भन्ने अन्यौलमै छन् । काठमाडौँबाट पूर्व चल्ने केही सवारीका टिकट काउण्टरले भने अग्रिम बुकिङ लिन थालिसकेको बताएपनि व्यवसायीका संघ संगठनले भने बुकिङ खुलाउने औपचारिक निर्णय गरिसकेका छैनन् ।

यातायात व्यवस्था विभागले मंगलबारदेखि नै अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेपनि व्यवसायीले बुकिङ खुलाएका छैनन् । काठमाडौँ उपत्यका आउने र जाने बसहरु रित्तै गुडाउनु परेको भन्दै व्यवसायीले थप छलफल गरेर मात्रै निर्णय गर्ने बताएका छन् ।

‘काठमाडौंबाट बाहिर जाने बसले अहिले नै यात्रु पाउन सकेका छैन’ एक जना व्यवसायीले भने, ‘अब केही दिनमै लामो दूरीका बसका कम्पनीहरुसँग हामी छलफल गर्दैछौँ, छलफलपछि बुकिङ खुलाउने वा नखुलाउने निर्णय हुन्छ ।’ 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने यसवर्ष काठमाडौँबाट बाहिरिने यात्रु निकै थोरै मात्रै हुने भएकाले असोज २५ पछि बुकिङ खुलाउँदा पनि हुने भएकाले सोही अनुसार तयारी भईरहेको बताएका छन् ।

गत वर्षहरुमा दशैँमा २० लाख मानिसहरु काठमाडौँबाट बाहिरिने गरेकोमा यसवर्ष विभाग र ट्राफिक प्रहरीले जम्मा ५ लाख मात्रै बाहिरिन सक्ने अनुमान गरेका छन् । 

‘आशिर्वाद जोगाऔँ’

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले ‘आशिर्वाद जोगाऔँ’ भन्ने नारा नै सुरु गरेको छ । बुधबार सरकारका पछिल्ला निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जेष्ठ नागरिकहरु कोरोना संक्रमणको जोखिममा रहेको भन्दै अभिभावक बचाए आगामी वर्ष प्रत्यक्ष रुपमा आशिर्वाद लिन पाईने बताए ।

‘केही दिनमा दशैं आउँदैछ, दशैंमा ठूला मानिसबाट, आफ्ना अभिभावकबाट आशिर्वाद लिने चलन छ । यसवर्ष हामीले काठमाडौंबाट गाउँ गएर आशिर्वाद लिँदा हाम्रा बुवाआमा, हजुरबुवा हजुरआमा, काकाकाकीलाई जोखिममा पार्न सक्छौं,’ मन्त्री ज्ञवालीले भने, ‘हामी स्वस्थ रहे चाडवाड अर्को वर्ष पनि मनाउन पाउँछौं, यसपाली अभिभावक जोगायौं भने फेरि फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँछौं, त्यही भएर यो कुरालाई ख्याल गरिदिनुहोला भन्ने सरकारको आग्रह छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved