सुन्धारा मस्जिद कब्जाको नालीबेली: २०५३ सालदेखि अहिलेसम्म भूमाफियाले के-के गरे ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2020 | 10:52:44 PM मा प्रकाशित

laxmi  sunrise bank

हिन्दु धर्मावलम्बीहरुले बडादसैँको आठौँ दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। तर यहि दिन एक समुहले शनिबार विहार करिब ७ बजे काठमाडौंको सुन्धारा स्थित सय बर्ष पुरानो नेपाल मदनी मस्जिद मुसाफिरखाना को बलि चढाउने नियतले त्यहाँ डोजर चलायो। 

मस्जिदमा डोजर चलाएको खबर प्राप्त गर्नासाथ् नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र मस्जिदका अध्यक्ष राजमोहम्मद अन्सारी घटनास्थल पुगे। उनीहरु घटनास्थल पुग्दा त्यहाँ करिब डेढ सय गुण्डाको आडमा मस्जिदमा डोजर चलाईदै थियो। तर आफ्नो ज्यानको बाजी राखेर दुबई दाजुभाईले मस्जिद माथि थप डोजर चल्न दिएनन। र मस्जिदको अगाडीको भाग मात्र भत्किन पुग्यो। 

मस्जिदमा डोजर चलाएको घटनाबारे मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले तत्कालै जिल्ला प्रशासन कार्यलय, काठमाडौं महानगरपालिका, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यलय र मुस्लिम समुदायका अगुवा व्यक्ति तथा सँस्थाहरुलाई जानकारी गराए।  लगत्तै त्यहाँ थप सयौंको सङ्ख्यामा प्रहरी, मुस्लिम समुदायका अगुवा,  स्थानीय र केहि जनप्रतिनिधि जम्मा भए।  

घटना दुर्घटनामा बदलिन पुर्व नै प्रहरीले यस घटनाका मुख्य योजनाकार जुजु काजि महर्जन समुहलाई पक्राउ गर्यो। यता मस्जिदका जिम्मेवार व्यक्तिहरु मिलेर आजनै आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मस्जिदको अगाडीको भागको पुनःनिर्माणको शिलान्यास गरे र पुननिर्माण समेत सुरु भयो। 

यसअघि: सुन्धाराको मस्जिदमा डोजर चलाउने महर्जन समुह पक्राउ

जुजुकाजी महर्जन समुहले खटाएका डोजर ड्राइभरले कात्तिक ८ गते बिहान ७ बजेर २० मिनेट जाँदा मस्जिदमा डोजर चलाएको दृश्य

मस्जिद भत्काउने प्रयास पहिलो होइन 

धरहराको ठिक पछाडी रहेको ६ आना ३ दाम १ पैसा क्षेत्रफलमा फैलिएको यो मस्जिद यसरी भत्काउने प्रयास यो नै पहिलो भने होइन। जसरी आज बडादसैँको आठौँ दिन सबै व्यस्त रहने दिन पारेर मस्जिद ध्वस्त बनाउने नियत थियो।

ठिक यसैगरि गत बर्ष २०७६ साल फागुनमा मुस्लिम समुदायहरु सप्तरीमा जारी मुस्लिम समुदायको धार्मिक सम्मेलन इस्तिमा मा व्यस्त रहेको दिन मस्जिद भत्काउने प्रयास गरिएको थियो। 

१०० बर्ष पुरानो मस्जिदमाथि पटक पटक आक्रमण किन ?

राणाकालिनको समयमा सरकारको नाममा रहेको जग्गा मुस्लिम समुदायहरुलाई भोगचलन गर्न दिईएको थियो। त्यो बेला मुस्लिम समुदायहरुले यहाँ मस्जिद बनाए र मस्जिद आसपासका क्षेत्रमा व्यवसाय गर्दै आए। 

भोगचलन गर्न दिइएको व्यक्तिहरुमा इशुफ मियाँ, खलिल मियाँ, आलम मियाँ, अफ्सर मियाँ र रमजान मियाँ छन् भने मस्जिदको नामबाट नै अहिलेसम्म बिजुली, खानेपानी, कर सबै भुक्तानी हुँदै आएको प्रमाण छ। २०४३ साल १ महिना २४ गते श्री ५ को सरकारको नाममा श्रेस्ता कायम भएको छ। तर तत्कालिन सरकारको नाममा रहेको जग्गामा मस्जिद निर्माण भएपनि यो जग्गामा पटक पटक भूमाफियाको आँखा लागेको घटेका घटना तथा प्रमाणहरु बोल्छन।

श्री ५ को सरकारको नाममा रहेको जग्गा २०५३ साल ५ महिना १ गते नरेन्द्र विक्रम राणाको नाममा सारिएपछि यस जग्ग्गामा भूमाफियाको प्रवेश देखिन्छ। राणाको नाममा जग्गा भएपछि सुरु भएको मुद्दा मामिला पश्चात अदालतले २०६५ साल असार २५ गते नेपाल सरकारको नाममा नै उक्त जग्गा फिर्ता गरेको छ। 

तर विडम्बना २०५३ सालमा आफ्नो नाममा जग्गा ल्याएपछि नरेन्द्र विक्रम राणाले उक्त जग्गालाई दुई टुक्रा बनाएर अर्थात कित्ता नम्बर ५२ लाई १८४१ र १८४२ गरि दुई टुक्रा बनाएर सावित्री तिमिल्सेनाको नाममा सारियो। सावित्रीको नामको उक्त जग्गा २०६१ साल माघ २५ मा भू माफियाका रुपमा कहलिएका रत्नकाजी महर्जन र जुजुकाजि महर्जनको नाममा सारियो। यहाँ पनि पछि मुद्दा मामिलाबाट २०६५ साल ३ महिना २५ गते फेरी नेपाल सरकारको नाममा फिर्ता ल्याईयो। 

यी सबै प्रकरण हेर्दा भूमाफियाले अपनाउने फर्मुला यहाँ पनि लागू भएको देखिन्छ। सरकारको नाममा रहेको जग्गा सुरुमा कुनै अर्को व्यक्तिको नाममा सार्ने र पछि त्यसलाई आफ्नो नाममा सार्ने अभ्यास यहाँ पनि देखिन्छ। 

अदालतको निर्णय मार्फत नै २०६५ सालमा नेपाल सरकारमा आईसकेको उक्त जग्गा फेरी २०६९ साल असार १४ गते अदालतको आदेश मार्फत नै जुजुकाजि महर्जनको नाममा कायम हुन गएको देखिन्छ। 

अदालत तथा सरकारका अन्य निकायलाई प्रभावमा पारि जुजुकाजि महर्जनले नेपाल सरकारको नाममा रहेको उक्त जग्गा आफ्नो नाममा हत्याउन सफल भएको देखिन्छ। 

जुजुकाजी महर्जनको समुहको नाममा उक्त जग्गा कायम भएपछि नेपाल सरकारको नाममा फिर्ता ल्याउन भनि गरिएको निबेदन अहिले पनि काठमाडौंको जिल्ला अदालत तथा सर्वोच्च अदालतमा विचाराधीन छ। 

सरकारको नाममा रहेको जग्गा कसरी व्यक्तिको नाममा कायम हुन् पुग्यो भनि हाल यो मुद्दा भुमिसुधार तथा मालपोत कार्यलय, मस्जिद अवस्थित वडा नम्बर २२ लगायतका विभिन्न निकायमा विचाराधीन अवस्थामा छ। 

विचाराधीन अवस्थामा एकतर्फी दाबि गरिनु गम्भीर अपराध 

सरकारको जग्गा व्यक्तिको नाममा जो जसले सारे र सार्न सघाए ति सबै नेपालको कानुनको नजरमा अपराधी हुन्। यति हुँदाहुँदै पनि अदालतमा विचाराधीन अवस्थामा रहेको तथा सुरुवाती अवस्थामा नै नेपाल सरकारको नाममा रहेको जग्गामा अवस्थित मस्जितमा तोडफोड हुनु  आफैंमा गम्भीर अपराध हो। 

जुजुकाजी महर्जन समुहको प्रभावमा अदालतदेखि स्थानीय प्रतिनिधिसम्म 

मैतीदेवीको मन्दिर नजिकको सरकारी जग्गा हडप्न होस् वा ललिता निवास प्रकरण होस्, सरकारी जग्गा हत्याउने प्रकरणमा पटक पटक मुछिएका जुजुकाजी मर्जनले सुन्धाराको मस्जिद अवस्थित ६ आना ३ दाम १ पैसा क्षेत्रफलको जग्गा हडप्न नाम दाम र दण्डवेद सबै प्रयोग गरेको विभिन्न बेला भएका घटनाक्रमले देखाएका छन्। 

अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुखको तोक लगाएर मस्जिद भत्काउनलाई लिइएको अनुमति होस् वा अहिले महानगरको वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले मस्जिद दर्ताको नविकरण गर्नलाई ठाडै अस्विकार गरेको घटना होस्। वा वडा अध्यक्षकै सहयोगमा आज मस्जिद भत्काउने काम भएको वडा २२ कि सदस्य गीता परियारको आरोप होस्। 

यो सबै तथ्यले जुजुकाजी महर्जनले २०५३ साल अर्थात २४ बर्षदेखि नेपाल सरकारको नाममा रहेको र मुस्लिम समुदायले भोगचलन गर्दै आएको सुन्धाराको यो जग्गा हडप्ने प्रपन्च रहेको देखिन्छ। महर्जन समुहद्वारा तोडफोड गरिएको नेपाल मदनी मस्जिदको अगाडीको भाग आजैदेखि पुन: निर्माण सुरु भएको छ तर यसमा सन्तोष मानेर बस्ने आधार छैन।पटक पटक भत्काउने प्रयास गरेका जुजुकाजि महर्जनको समुहले कुनैपनि बेला मस्जिदमा डोजर चलाउन सक्ने सम्भावना छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved