वैदेशिक रोजगारीका सबै सूचना अब मोबाइलमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 08:10:25 AM मा प्रकाशित

laxmi  sunrise bank
श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज¸ सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली को सुरुवात गर्ने भएको छ ।  

यसका साथै वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोवाइल एप्लिकेशन समेत निर्माण गरी संचालनमा ल्याएको छ। यो प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸  कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ वीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् । 

पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ४/५ महिनाको छोटो अवधिमा उक्त प्रणालीको तयारी सकिएको भन्दै आगामी असोज १५ देखि लागू हुने बताए । उक्त प्रणालीबाट वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा सहयोग पुग्ने र यो क्षेत्र व्यवस्थित हुने उनको भनाई थियो ।

अहिले तथ्यांक अभिलेखमा समस्या रहेको र यो प्रणाली सञ्चालनमा आए पश्चात यस्तो समस्यासमेत हट्ने उनले दावी गरे। ‘यस प्रणालीले  बांगीएको नियतलाई सोझो बनाउनेछ,’ उनले भने।

यसले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुर्याउनेछ। यस प्रणालीले अन्तरसरकारी निकाय तथा सबै सरोकारवालाबीचको समन्वय प्रभावकारी बनाउन सहयोग पुग्नेछ । 

यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक उपलब्ध हुनेछ । यस प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्नेछ । साथै यसबाट प्राप्त अनुभवबाट आगामी दिनमा यस क्षेत्रको नीति तथा कार्यक्रमको तर्जुमा गर्न समेत सहयोग पुग्नेछ ।

यसका साथै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीका सूचना एवं सेवा मोवाइल एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । हाललाई एन्ड्रोइड प्रणालीमा आधारित यस मोबाइल एपका माध्यमद्वारा श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ । यस सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू गरिनेछ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved