कामदारमैत्री बन्दै बैदेशिक रोजगार कार्यालय, अबदेखि श्रम स्वीकृति लिन लाइन बस्न नपर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 12:37:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बैदेशिक रोजगारीमा जानलाई श्रम स्वीकृति लिन अब घन्टौ लाइन बस्नुनपर्ने भएको छ। बैदेशिक रोजगारीमा जाने कामदारलाई बैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइनबाट टोकन सेवा गरेपछि श्रम स्वीकृति लिन सहज भएको हो। 

श्रम स्वीकृति लिने प्रकृयालाई सहज र व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ। टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ ।

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ । 

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताए। यसबाट तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उनको दावी छ। यस्तो सेवाका लागि सेवाग्राही आफैले  फाराम भर्न सक्नेछन् ।

सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन ।

यसैगरी, कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा लिन सकिनेछ । सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ । वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यस्तो सेवा दिन सक्ने जनाएको छ । यसबाट बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत सबै समस्या स्वतः निवारण हुने कार्यालयले दावी गरेको छ ।

पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ । घर विदामा आएका कामदार फर्किने भएकाले श्रम स्वीकृत लिनेको भिड बढेको बताउँदै खतिवडाले सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरूपमा अनलाइन प्रणालीबाट सेवा दिने बताए।

त्यस्तै सेवाग्राहीको संख्या बढेसंगै कार्यालयले बिहीबारदेखि आफ्नो भवन परिसरभित्र पिउने पानीको व्यवस्था समेत गरेको छ । यसैगरी, सेवाग्राहीलाई काम सम्पन्न नहुन्जेल बस्ने बेन्च पनि थपेको जनाएको छ । त्यस्तै घामपानीबाट बच्नका लागि सेड निर्माणको अन्तिम तयारी भइरहेको पनि कार्यालयले जनाएको छ।  यस्तै सरकारले छिट्टै सातवटै प्रदेशबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा दिने तयारी पनि थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved