वैदेशिक रोजगारीको क्रममा एकै जिल्लाका २ सय बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 02, 2019 | 03:56:42 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् ।

बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको सो संस्थाका संयोजक केशव कोइरालाले बताएका छन् । आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडी मुलुकमा पुगेर हराएका छन् । माइती नेपाल नेपालगञ्ज कार्यालयको सन् २०१८ को तथ्याङ्कअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुईजना घरपरिवारको सम्पर्कमा छैनन् । 

प्रायः पर्यटन भिसामा खाडी मुलुकमा जाने उनीहरू तीन महीनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताए । कतिपयलाई मालिकले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको अवस्था छ । 

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक शिवकुमार वलीले पठाउँदा लुकीछिपी दलालको विश्वासमा पठाउने र हराएपछि मात्र प्रहरी र सङ्घसंस्थाको सम्पर्कमा आउने हुनाले खोजतलासमा कठिनाइ हुनेगरेको बताए। 

अधिकारकर्मी कमला पन्तले सीमापार यौन शोषण तथा श्रम शोषण र अङ्ग बेचबिखनका लागि मानव बेचबिखन हुने गरेको पाइएको बताए । 

यसै गरि छिमेकी जिल्ला बर्दियाबाट सन् २०१८ मा १०१ महिला रोजगारीको सिलसिलामा गएर हराएको पाइएको छ । बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाबाट २५, मधुवन नगरपालिकाबाट २२, बारबर्दिया नगरपालिकाबाट छ, राजापुर नगरपालिकाबाट तीन, ठाकुरबाबा नगरपालिकाबाट नौ र गेरुवा गाउँपालिकाबाट चार महिला बेपत्ता भएका छन् । 

उनीहरूको आफन्तले प्रहरी र मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घ संस्थामा खोजतलासका लागि निवेदन दिएका छन् ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved