निरोज कुमार थापा     Dec 18, 2019 | 01:42:26 PM


tansen

नेपाली बजारमा सुनको भाउ केही दिनदेखि उकालो लाग्न सुरु भएको छ । नेपाली बजारमा सुन खपत हुने मुख्य सिजनमध्येको एक हो मंसिर महिना । विबाहका लगनहरु धेरै हुने भएकाले मंसिरमा अन्य महिनाको तुलनामा सुनको खपत बढी हुन्छ । तर यसवर्ष भने गत वर्षको तुलनामा आधा पनि खपत नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघको आँकलन छ । 

गत वर्षको मंसिर महिनामा दैनिक ६० किलोग्रामसम्म सुनको माग हुने गरेको थियो । तर व्यवसायीले बैंकबाट ल्याएर माग पूर्ती गर्न सकेका थिएनन् । दैनिक ४५ किलोसम्मको माग पूरा गरेपनि बाँकी भने ग्राहकले ल्याएर बेच्ने सुनबाट पूर्ती हुँदै आएको थियो । तर यसवर्ष मंसिर महिनामा दैनिक २५ किलोसम्म पनि माग नआएपछि व्यवसायी मर्कामा परेका छन् । 

‘अफ सिजन’मा किन महँगियो सुन ?

बिहेको सिजनमै सुनको भाउमा तीव्र उतारचढाव आएपछि बजार अस्थिर भएको व्यवसायीको अनुमान छ । यसवर्ष नेपाली बजारमा सुनको भाउ ७३ हजार ५ सयसम्म पुग्यो । त्यसपछि विस्तार ओरालो लागेको सुनको भाउ हालसम्म पनि नेपाली उपभोक्ताको क्रय शक्तिभन्दा बाहिरै छ भन्छन् नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश रत्न शाक्य । ‘मंसिर सकिएपछि पौष महिना सुन चाँदीको व्यवसायमा खासै सिजनेवल महिना होईन’ उनले भने, ‘तर अफ सिजन हुँदा पनि भाउ बढिरहेकै छ ।’ 

यसरी पौष महिनाको सुरुवातबाटै सुनको भाउमा झिनो तर निरन्तरको बृद्धिले माघ महिनामा समेत व्यापार कमजोर हुने संकेत गरेको उपाध्यक्ष शाक्यको भनाई छ । तर नेपाली बजारमा सुनको भाउ बढ्नु र घट्नु आन्तरिक मामिलाको असर नभएको उनी दाबी गर्छन् । ‘हप्ता भरीमा एक हजारले महँगिएको छ’ शाक्यले भने, ‘सुनको कारोबार डलरमा हुने भएकाले एक हजार रुपैयाँ डलरमा कन्भर्ट गर्दा धेरै ठूलो अमाउण्ट होईन ।’ 

हाल अन्तराष्ट्रिय बजारमा चीन र अमेरिकाबीचको व्यापार युद्ध केही मत्थर भएपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विषयले फेरि चर्चा पाएपछि यसको असर सुन चाँदीको भाउमा परेको विश्व बजारको अनुमान छ । 

यसअघिः

‘सुनको भाउ प्रतितोला ६० हजार रुपैयाँमा झर्न सक्छ’ उपाध्यक्ष दियश शाक्यको अन्तर्वार्ता

Share your thoughts!

निरोज कुमार थापा

Reporter