सरकारले डाक्टर गोबिन्द केसीसंगको सहमति बिपरित कोशी अञ्चल अस्पताललाई पोखरा बिश्वबिद्यालयको शिक्षण अस्पताल बनाउने अनुमति दिएको छ।
ड़ा केसीसंग सरकारले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा नआई कुनै पनि संस्थाले मेडिकल कलेज सञ्चालनको अनुमति नपाउने सहमति गरेको छ। तर उक्त सहमतिलाई पाखा लगाउदै स्वास्थ्य मन्त्रालयले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको दबाबमा कोशी अञ्चल अस्पताललाई बिश्वबिद्यालयको शिक्षण अस्पताल बनाउने अनुमति दिएको आलोचकहरुको भनाई छ।
कोइरालाले चुनावको मौका छोपी मतदाता प्रभावित गर्ने उदेश्यले कोशी अञ्चल अस्पताललाई पियूको प्रयोगका लागि निर्णय गराउन दबाब दिइएको विश्लेषण गरिएको छ।
चिकित्सा शिक्षा अध्यादेशमा चिकित्सा शिक्षा आयोग गठन भएपछि सोहि आयोगको निर्णय अनुसार विश्वविद्यालय वा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्ने व्यवस्था छ।
तर कात्तिक २८ गतेको स्वास्थ्य सचिव स्तरीय निर्णय अनुसार एमबिबिएस अध्यापनका लागि कोशी अंचल अस्पताललाई पियुले प्रयोग गर्न पाउने अनुमति दिईएको छ। स्वास्थ्य मन्त्रालयले मङ्सिर ३ मा पियुलाई अस्पताल प्रयोग गर्ने सहमतिको पत्र पठाइसकेको छ।
‘विश्वविद्यालयले एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालन गर्न आफ्नै न्यूनतम मापदण्ड अनुसारको अस्पताल नबन्दासम्म वा अर्को व्यवस्था नभएसम्म कोशी अञ्चल अस्पताल विराटनगरलाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न अनुमति तथा स्वीकृत माग भई आएको हुँदा माग बमोजिम एमबिबिएस सञ्चालन गर्नका निमित्त कोशी अञ्चल अस्पताललाई प्रयोग गर्न सहमति दिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु’ विश्वविद्यालयलाई पठाईएको पत्रमा उल्लेख छ।
पियुको पुर्वको गोठगाउमा ८०५ बिगाह जग्गा रहेको छ। पियुले उक्त जग्गामा मेडिकल कलेज सञ्चालनका लागि आबश्यक पुर्बाधार पनि निर्माण गरिसकेको छ। र यसका लागि उसको आफ्नै छुट्टै अस्पताल समेत छ। तर अस्पतालमा राम्रो व्यस्थापन नभएकाले बिरामीको संख्या कम भएको भन्दै नेपाल मेडिकल काउन्सिलले कलेज सञ्चालनको अनुमति दिएको छैन।
पियुले काउन्सिल समक्ष ०६६ सालमा मेडिकल कलेज सञ्चालनको अनुमति मागेको थियो। तर, काउन्सिलले मेडिकल कलेज सञ्चालनका लागि कुनै पनि मापदण्ड पूरा नभएको भन्दै अनुमित दिएको छैन।
पियु त्रिभुवन र काठमाडौं बिश्वबिद्यालय जस्तै ऐन कानुन बमोजिम संचालित स्वायत्त सामुदायिक संस्था भएकाले कोसि अञ्चल अस्पतालको उपयोग गरि गोठगाउमा मेडिकल कलेज चलाउने निर्णय अत्यन्त सान्दर्भिक भएको यस क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुको भनाई छ।