अंग मर्मत: योनी ‘टाइट’देखि कुमारीत्व मर्मत,  स्तन घटाउने र बढाउने , सेक्सी ओठ, गालामा डिम्पल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 05:19:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै दुर्घटनाको कारण वा जन्मजात शरीरको कुनै अंगमा खोट आयो भने त्यसलाई ठीक या सामान्य पार्न ‘प्लास्टिक सर्जरी’को विधि प्रयोग गर्न सकिन्छ । तर, यो यतिमा मात्रै सीमित छैन । चलिआएको सुन्दरता मापदण्डअनुसार सुन्दर देखिन नेपाली शहरी समाजमा अंगहरूको ‘मर्मत’ गर्ने प्रवृत्ति बढ्दो छ । आँखा, ओठ, नाक, स्तन आदिलाई चाहेको आकार दिनेदेखि लिएर यौनांग कसिलो बनाउनेसम्मका लागि प्लास्टिक सर्जनकहाँ धाउने युवतीहरू थुप्रै छन् । प्लास्टिक सर्जरीका विभिन्न आयाममाथि डिबी खड्काले नजर दौडाएका छन् ।

बिग्रेको मेसिनरी सामान ‘रिपेयर’ अर्थात् मर्मत गर्ने कुरा त सामान्य हो । तर, हिजोआज स्वास्थ्य विज्ञानले विकास गरेका केही अपरेसन विधिले मानिसको शरीरको पनि मर्मत गर्ने सुविधा उपलब्ध हुन थालेको छ । मेडिकल भाषामा ‘प्लास्टिक सर्जरी’का रूपमा चिनिने ‘कस्मेटिक’ तथा ‘कन्सट्रक्टिभ’ सर्जरीको माध्यमबाट आफ्नो सुन्दरता बढाउन चाहनेहरू बढ्दै गएका यस्ता सर्जरीमा संलग्न चिकित्सकहरू बताउँछन् ।


‘प्लास्टिक सर्जरी’ भन्नेबित्तिकै सबैले ‘कस्मेटिक सर्जरी’ नै होला भनेर बुझ्ने गर्छन् । ‘तर, सर्जरी कुन अवस्थामा कुन प्रयोजनका लागि गरिएको हो, त्यसका आधारमा मात्र यसलाई ‘कस्मेटिक’ हो, या ‘कन्सट्रक्टिभ’ भनेर छुट्याउनुपर्ने हुन्छ,’ सुषमा कोइराला मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर एवं प्लास्टिक सर्जन डा. जसवन शाक्य भन्छन्, ‘आगोले जलेर कसैको च्यापु र घाँटी जोडिएको छ, औँलाहरू एकआपसमा टाँसिएका छन् भने यस्तो अवस्थामा गरिने ‘प्लास्टिक सर्जरी’ ‘कस्मेटिक’ भित्र पर्दैन । यो ‘कन्सट्रक्टिभ’ सर्जरी हो ।’
कसैको जीवनयापन सहज बनाउन गरिने यस्ता सर्जरी कसैका लागि भने सुन्दरता बढाउने माध्यम बनिरहेका छन् । आँखा, नाक, ओठजस्ता अंगको बनावट ठीक भएमा मानिस सुन्दर देखिन्छ । ‘बडी रिपेयर’ भनेर गरिने ‘कस्मेटिक सर्जरी’मा अहिले यी अंगलाई चाहेजस्तो साइजमा ढाल्न अपरेसन गराउनेहरू बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।

मानिसले जन्मजात लिएर आएको स्वरूपमा डाक्टरले छुरा चलाउँदैमा सुन्दर भइन्छ भन्ने के ग्यारेन्टी छ र ? भन्दै यस्ता सर्जरीमा विमति राख्नेहरू पनि छन् । तर, कतिपयलाई भने यस्ता सर्जरीले जीवनयापन गर्न सहज हुने चिकित्सकहरू दाबी गर्छन् । सुन्दरतालाई हेर्ने दृष्टिकोण समाज, संस्कृति, स्थान र समुदायपिच्छे फरक हुन्छन् । बहुसंख्यकले आफूलाई सौन्दर्यको स्थानीय मापदण्डभित्र पार्न चाहन्छन् । यतिमात्रै होइन, समाजसँग एकाकार हुन पनि उस्तै भइदिनुपर्ने बाध्यता हुन्छ । यिनै विविध कारणले संसारमा मानिसले जन्मजात लिएर आएको आफ्नो अनुहारको बनावटलाई सर्जरीको माध्यमबाट मर्मतसम्भार गरिरहेका छन् । नेपालमा पनि ‘प्लास्टिक’ तथा ‘कन्सट्रक्टिभ’ सर्जरी सेवा उपलब्ध हुन थालेपछि यस्ता सर्जरी गराउने तथा सर्जरीको बारेमा जानकारी लिनेहरू बढिरहेका चिकित्सकहरू बताउँछन् । योनी ‘टाइट’ पार्ने ‘भेजाइनल रिपेयर’ देखि कुमारीत्व मर्मतसम्मका ‘कन्सट्रक्टिभ सर्जरी’ नेपालमै हुन थालेका छन् ।

योनी ‘टाइट’देखि कुमारीत्व मर्मतसम्म
विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनीमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनप्र्राप्ति (भर्जिनिटी रिपेयर)का लागि शहरीया केटीहरू  कस्मेटिक सर्जरी सेन्टर धाउने गरेका छन् ।
अमेरिकामा बस्ने नेपाली केटासँग यही मंसिरमा विवाहको टुंगो लागेकी एक युवती कुमारीत्व फर्काउन गरिने कस्मेटिक सर्जरी ‘भर्जिनिटी रिपेयर’का लागि काठमाडौँको नक्सालस्थित स्वस्ति लेजर एन्ड स्किन केयरमा आएकी थिइन् । प्लास्टिक तथा कन्सट्रक्टिभ सर्जन डा. शाक्यकहाँ आएर उनले विवाहपूर्व आफूले सहवास गरेको कुरा हुनेवाला श्रीमान्ले थाहा नपाऊन् भनेर ‘भर्जिनिटी रिपेयर’ गर्न आएको बताइन् । सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त हुन्छ । एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनीमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनीको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिने डा. शाक्य बताउँछन् । प्लास्टिक सर्जन डा. जयनमान श्रेष्ठ भन्छन्, ‘पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनीको भित्री भागमा रिङ जस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।’


कुमारीत्व फेरि प्राप्त गर्न चाहने युवती स्वस्तिमा मात्रै होइन, शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. श्रेष्ठ कार्यरत कस्मेड लेजर एन्ड कस्मेटिक सर्जरी सेन्टर, कालिमाटी तथा ग्रान्डी इन्टरनेसनल अस्पताल, धापासीमा समेत आउँछन् ।

कस्मेडबाट मात्रै पछिल्लो केही समयमा १ सय १० जना युवतीले ‘भर्जिनिटी रिपेयर’ को सर्जरी गराइसकेका छन् ।


योनीमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टी जस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनी टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनी सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरीया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने प्रक्रियामा योनीद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनी वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।


प्राकृतिक रूपमै दुईभन्दा बढी बच्चा जन्मिएपछि महिलाको योनीद्वार वा योनी ठूलो बन्छ । उमेर ४० वर्षमाथिका महिलाका लागि भनिएको यो अपरेसनका लागि युवतीहरू पनि आउने गरेको डा. शाक्य बताउँछन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने अपरेसनका लागि उनीकहाँ आएकी महिलाको बाध्यता अलि अप्ठ्यारो खालको थियो । विवाहित भए पनि उनको बच्चा भइसकेको थिएन । उनी कान्छी श्रीमती थिइन् । उनका श्रीमान् जेठीसँग धेरै बस्ने गर्छन् । उनको पहिल्यैदेखि केटा साथी पनि छ । आफ्नो साथीसँग बारम्बर यौन सम्पर्क भइरहने भएकाले आफ्नो योनीद्वार ठूलो भएर श्रीमान् आफूसँग सन्तुष्ट नभएर जेठीसँग बसेको उनलाई महसुस भएको थियो ।  श्रीमान्लाई आफूतिर आकर्षित गराउनका लागि उनी योनीद्वार सानो बनाउन चाहन्थिन् । डा. जसवनले भने, ‘योनी कसिलो भयो भने श्रीमान्लाई सन्तुष्टि दिन सकिने र सौताबाट छुटाएर आफूसँग राख्न सकिने बताउँदै थिइन् उनी ।’


उमेर जतिसुकै भए पनि चिटिक्क परेर हिँड्ने र टाइट लुगा लगाएर ज्यानको सेप देखाउन चाहने महिला पनि धेरै छन् । विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनीको सेप कपडामा देखिएर लाजमर्दाे हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनी वरिपरिको मांसपेशी तन्किएर योनीको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनीको सेप देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ गर्ने महिलाको संख्या सबैभन्दा धेरै छ । कस्मेडका कस्मेटिक सर्जन डा. श्रेष्ठ भन्छन्, ‘योनी टाइट पार्ने र सानो पार्ने सर्जरीका लागि श्रीमान् साथमै लिएर आउने महिला धेरै छन् । सहमतिमै यो सर्जरी गराएको हामीले पाएका छौँ ।’


डा. शाक्यका अनुसार पछिल्लो समयमा ‘भेजाइनल रिपेयर’को बारेमा जानकारी लिन आउनेहरू बढेका छन् । डा. शाक्यले  स्वस्तिमा मात्रै एक वर्षको अवधिमा २५ वटा ‘भेजाइनल रिपेयर’को अपरेसन गरेको जानकारी दिए । ‘भेजाइनल रिपेयरको अपरेसन गर्दा पाठेघर खस्ने समस्या तथा पिसाब चुहिने समस्याको पनि सँगसँगै उपचार हुन्छ । त्यसैले यो गम्भीर स्वास्थ्य समस्याका लागि पनि गरिने अपरेसन हो,’ डा. शाक्यले भने ।


भेजाइनल डेलिभरी हुँदा योनी र योनी वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनी खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुने डा. शाक्य बताउँछन् । बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिने डा. शाक्य बताउँछन् । ‘त्यसैले यो अपरेसन योनी टाइट पार्ने उद्देश्यसँगमात्र सम्बन्धित छैन,’ डा. शाक्यले भने ।


‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो नभएको चिकित्सक बताउँछन् । यो अपरेसनका लागि बेहोस बनाउनु नपर्ने र अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिने जानकारी डा. शाक्यले दिए । मेडिकल भाषामा यसलाई ‘पोस्टेरियर भेजाइनल वाल टाइटनिङ’ भनिन्छ ।


‘एसिएन आई’ मा आँखा
आँखाको आकार समुदायअनुसार फरक हुन्छ । यसको मुख्य काम दृष्टि भए पनि ‘आँखामा सौन्दर्य झल्किने’ मान्यता छ । नेपालमा आँखाले जाति वा समुदायको पहिचानसमेत झल्काउँछ । मृगनयनी भनेर ठूला आँखालाई सुन्दर देख्ने दक्षिण एसियाको पुरातन मान्यता छ । मृगनयनी बनाउने मेडिकल प्रक्रिया भने ‘एसिएन्स आइलिड सर्जरी’ हो । विशेष गरी, चिम्सा आँखा भएकाहरूले  यो सर्जरीको सहायता लिन्छन् ।


सबै आँखा सुन्दर देखाउनका लागि मात्रै यो सर्जरी गर्दैनन् । केही समयअघि मात्रै कस्मेडमा आएकी एक युवतीको समस्या सुनेर डा. श्रेष्ठ छक्क परेका थिए । उनका अनुसार ती राई युवती बाहुन समुदायकी बुहारी हुने प्रक्रियामा थिइन् । उनको पुरुष साथीको परिवार उदार भए पनि आफन्त र छिमेकका अघि उनी ‘बाहुनी’ देखिनुपर्ने भयो । यसका लागि आँखामात्रै उनको बाधक बनिदियो । पुरुषसाथीसहित आएर ‘एसिएन आइलिड’ सर्जरी गराएकी थिइन् उनले ।
आदिवासी जनजाति अर्थात् मंगोलियन मूलका मान्छेका आँखा साना नै हुन्छन् ।  विशेष गरेर नेपालमा राई, लिम्बू, तामाङ आदि जातिका मान्छेका आँखा साना अर्थात् चिम्सा हुन्छन् । चिम्सा आँखा हुनु समस्या होइन । तर, चिम्सा आँखाका कारण सुन्दर देखिएन भन्दै आँखाको साइज ठूलो देखाउन मद्दत गर्ने अपरेसनका लागि युवतीहरू आउने गरेको डा. श्रेष्ठले बताए ।  


मंगोलियन आँखा भएकाहरूको परेला र आँखाको ढकनीको बीचमा जुन ‘सानो’ स्पेस हुन्छ, त्यो फोल्ड नहुन सक्छ । परेला बाहिरसम्म निस्किएको हुँदैन । कतिपयको त परेला नै देखिँदैन । जसले गर्दा आँखा एकदमै साना देखिन्छन् । अपरेसनपछि ढकनी फोल्ड हुने र परेला पनि प्रस्टसँग देखिने बनाउन सकिन्छ । यसो गर्दा आँखा पनि केही ठूलो देखिने डा. श्रेष्ठ बताउँछन् । एकपटक अपरेसन गराएपछि यो स्थायी हुने र अपरेसन गरेको भागमै ‘फोल्ड’ हुने भएकाले आँखाको ढकनीमा दाग पनि नदेखिने जानकारी डा. श्रेष्ठले दिए ।


चालिस वर्ष काटेपछि कतिपयको आँखाको ढकनी झोलिने समस्या देखापर्छ । माथिल्लो ढकनी झोलिएर हेर्नै समस्या भएकाहरूका लागि पनि प्लास्टिक सर्जरी गरेर झोलिएको समस्याको उपचार गर्न सकिने डा. शाक्य बताउँछन् । डा. शाक्यका अनुसार आँखाको तल्लो भागमा जमेको बोसो (आई ब्याग) लाई पनि अपरेसनमार्फत हटाउन सकिन्छ । आँखाको माथिल्लो ढकनी झोलिने तथा तल्लो भागमा बोसो जम्ने समस्याले कम उमेरको मानिस पनि बूढो देखिन्छ ।


नाकको सवाल
डा. श्रेष्ठका अनुसार अति चुच्चो नाक पनि मन नपराउने र थेप्चो पनि नचाहने नेपाली समाजका युवायुवतीहरू नाकबारे धेरै सोधखोज गर्छन् । नाकलाई मर्मत गरेर ठिक्कको बनाउन चाहनेको संख्या पनि निकै छ ।
‘नोज रिसेपिङ’ भनिने नाकको मर्मत गर्ने प्रक्रियामा ठूलोलाई काटेर ठिक्कको बनाउने र सानोलाई कुर्करे हाड जोडेर ठूलो बनाउने गरिन्छ । नदेखिने भागबाट गरिने नाकको मर्मतमा ठूलो हुनेको कुर्कुरे हाड फालिने र सानो हुनेको शरीरका अन्य भागबाट कुर्कुरे हाड लिएर जोडिने गरिएको डा. श्रेष्ठ बताउँछन् । थेप्चो नाकलाई इम्प्लान्ट राखेर चुच्चो बनाउने सुबिधा पनि नेपालमा उपलब्ध रहेको जानकारी डा. श्रेष्ठले दिए ।


सेक्सी ओठ, गालामा डिम्पल
कस्तो ओठ सुन्दर ? यसको ठ्याक्कै उत्तर डाक्टरसँग पनि छैन ।

युवतीहरू भने आफ्नो ओठ ‘सेक्सी’ देखिने बनाइमाग्न डाक्टरकोमा धाइरहेका छन् ।

वर्तमान समयमा सौन्दर्य मानक सुन्दर हिरोइनहरू भएकाले ‘फलानीको जस्तो’ भनेर युवतीहरू डाक्टरलाई क्ल्यू दिन्छन् र डाक्टरले ठूलो भए सानो र सानो भए ठूलो बनाइदिन्छन् । चिटिक्क मिलाइदिन्छन् । यसलाई ‘लिप इन्ह्यान्समेन्ट’ भनिन्छ । पातलो ओठलाई ‘फिलर्स’ राखेर ठूलो देखाउन सकिने डा. श्रेष्ठ बताउँछन् । ओठमा राखिने ‘फिलर्स’ मानव शरीरमा पाइने एक प्रकारको तŒवबाट बनाइने भएकाले यसले कुनै असर नगर्ने र नेचुरल लुक दिने डा. श्रेष्ठले बताए ।


भारतीय अभिनेत्री अनुष्का शर्मा र प्रियंका चोपडाले ओठको सर्जरी गरेर आफूलाई झन् सुन्दर तुल्याएको कुरा चर्चाका विषय बन्छन् । प्राकृतिक रूपमै डिम्पल पाएकी अभिनेत्री प्रिटी जिन्टाजस्तै बन्न चाहने युवतीहरू थुप्रै भएको डा. शाक्य बताउँछन् । ‘डिम्पल क्रिएसन’ नाम दिइएको यो सर्जरी विशेष गरी मोडलिङ वा अभिनयलाई करिअरका रूपमा अघि बढाउन चाहने युवतीले  गरिरहेको बताइन्छ । युवतीको गालामा हुने डिम्पललाई सौन्दर्यको एउटा मानक मानिने र धेरै महँगो समेत नपर्ने भएकाले धेरै युवतीले डिम्पल बनाउन चाहने गरेको डाक्टरहरू बताउँछन् ।
पछिल्लो समय चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ गर्न चाहने पनि कस्मेटिक सर्जरी सेवा उपलब्ध हुने अस्पतालहरूमा धाइरहेका छन् ।

स्तन घटाउने र बढाउने बराबरी
स्तनमा सिलिकन राखेर ठूलो देखाउने, झोल्लिएको स्तन टाइट बनाउने र ठूलो स्तन घटाएर सानो बनाउने सर्जरी नेपालमा हुन थालेको एक दशक बितिसकेको छ । स्तनलाई महिलाको सुन्दरतासँग जोडेर हेरिने भएकाले यसको साइजलाई लिएर महिलाहरू चिन्तित हुने गरेको पाइन्छ । स्तनको साइज यति नै राम्रो हो भन्ने मानक हुँदैन । विभिन्न देश र फरक–फरक सामाजिक परिवेशअनुसार कतै ठूला स्तन भएका महिलालाई आकर्षक मानिन्छ त कतै साना स्तन भएका महिलालाई सेक्सी मानिन्छ ।


स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । डा. शाक्यका अनुसार सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानि नगर्ने विशेष प्रकारको रबर हो ।   


स्तनको आकारलाई कत्रो बनाउन चाहेको हो, त्यही साइजको सिलिकन स्तनभित्र राख्नुपर्ने डा. श्रेष्ठ बताउँछन् । सय सीसीदेखि सुरु हुने सिलिकनको साइज ४ सय ५० सीसी वा त्योभन्दा माथि पनि हुने जानकारी डा. प्रधानले दिए । नेपालमा सयदेखि २ सय ५० सीसी सम्मका सिलिकन स्तनभित्र राखेर साइज बढाउने गरिएको डा. श्रेष्ठले बताए ।
डा. शाक्यका अनुसार १८ वर्ष उमेर पुगेका किशोरीदेखि ४५ वर्ष उमेरसम्मका महिलाले ब्रेस्ट इम्प्लान्ट गर्न सक्छन् । ब्रेस्ट इम्प्लान्ट गरेपछि छ महिनासम्म धेरै शारीरिक अभ्यास, खेलकुद तथा डान्स गर्नु हुँदैन । उमेर ५० वर्ष पुगेपछि भने शरीरमा हुने परिवर्तनसँगै स्तनको छाला पनि चाउरिने तथा स्तन झोलिने कारणले गर्दा इम्प्लान्ट गरिएको सिलिकन निकाल्नुपर्ने हुन सक्छ ।


स्तन सानो भएर चिन्ता गर्नेहरू जति छन्, त्यो भन्दा धेरै स्तन ठूलो भएका कारण समस्या भोग्नेहरू पनि छन् । अस्वभाविक देखिने ठूला स्तनका कारण ढाड तथा गर्धन दुख्ने समस्या हुने, हिँडडुल गर्न अप्ठेरो हुने तथा कपडा लगाउँदा मिल्दै नमिल्ने भन्दै कतिपय अविवाहित युवती स्तनको साइज घटाउन चिकित्सककोमा आउने गरेका छन् । यसै गरी झोलिएका स्तनलाई ‘अपलिफ्ट’ गर्ने अपरेसनका लागि पनि महिलाहरू आउने गरेको जानकारी डा. शाक्यले दिए ।


पेट र हिप रिपेयर गर्नेहरू
खानपान र आरामदायी जीवनशैलीले पेट वरिपरि बोसो लागेर भद्दा देखिने समस्या शहरवासीमा धेरै नै देखिन्छ । एक्सरसाइज गर्ने जटिल र लामो प्रक्रियाका सट्टामा सर्जरीकै माध्यमबाट ‘छिनेको कम्मर’ बनाउन चाहने महिला र पुरुषको संख्या बढ्दो छ । त्यसैगरी ठूलो हिप र थाई भएकाहरूले पनि अपरेसन गरेर नै सानो बनाइरहेका छन् ।
कस्मेडका डा. जयनमान श्रेष्ठ लाइपोसक्सन प्रक्रियाद्वारा पेट वरिपरिको बोसो घटाउन धेरै महिला एवं पुरुष आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘यो प्रविधिबाट सानो प्वाल बनाएर अनावश्यक बोसो झिक्ने गरिन्छ ।’ त्यसरी पेटमा झोल्लिएको छालासमेत चिटिक्क पारेर मिलाउने ‘टमी टक’ अपरेसन गराउनेहरू पनि बढ्दै छन् ।

 
विदेशबाट आउने नेपाली बढी
सौन्दर्यका लागि माथिका विविध प्रक्रिया अपनाउनेमा बढी विदेशी मुलुकमा रहेका नेपालीहरू भएको स्वस्ति लेजर एन्ड स्किन केयरका डा. जसवन शाक्य बताउँछन् । उनका अनुसार विदेशमा यी प्रक्रियालाई सहज रूपमा लिइने र कतिपय देशमा जीवनशैलीकै अंगका रूपमा अपनाउन थालिएकाले नेपालीहरू पनि निर्धक्क अंगप्रत्यंगको मर्मतसम्भारमा सामेल हुन्छन् । डा. श्रेष्ठले भने अरू देशमा कस्मेटिक सर्जरी महँगो पनि पर्ने भएकाले विदेशमा बस्नेहरू नेपालमा आएका बेला गरिरहेको बताउँछन् । भन्छन्, ‘उनीहरूलाई सबै कुरा थाहा हुन्छ र सस्तो पर्छ भनेर विदेशमा बस्नेहरू बढी आउँछन् ।’


निजीमा सौन्दर्य, सरकारीमा अनिवार्य
प्लास्टिक तथा कन्सट्रक्टिभ सर्जन डा. जयनमान श्रेष्ठ शिक्षण अस्पताल महराजगञ्जमा पनि कार्यरत छन् भने डा. जसवन शाक्य सुषमा मेमोरियल अस्पताल, जोरपाटीका मेडिकल डाइरेक्टर हुन् । उनीहरूको अनुभवमा सरकारीमा अंगभंग भएका, पोलेका, दुर्घटनामा क्षति भएकाहरू र जन्मजात समस्या भएकाहरूको मात्रै प्लास्टिक सर्जरी गर्न सकिने अवस्था छ । कम म्यानपावर र सौन्दर्यप्रति बढ्दो चासोका कारण यी डाक्टरहरूले दुई फरक ठाउँमा दिने सेवाको प्रकृति एउटै भए पनि उद्देश्य भने केही फरक हुने गरेको छ ।


डा. जयनमान भन्छन्, ‘शिक्षण अस्पतालमा पनि कस्मेटिक प्रयोजनका लागि यी अपरेसन सुरु गर्ने हो भने साँच्चीकै गर्नुपर्ने बिरामीले पालो पाउन मुश्किल पर्छ ।’ त्यसैगरी सुषमा कोइरालामा आउने बिरामी विभिन्न दुर्घटनामा परेर अंगभंग भएका तथा जन्मजात शरीरका विभिन्न भागमा केही त्रुटि भएकाहरू सर्जरीमार्फत उपचार गर्न आउँछन्  ।


प्लास्टिक सर्जरी भन्नेबित्तिकै कतिपयलाई सुन्दर बन्न गरिने अपरेसन भन्ने मात्रै लाग्ने गरेको यी दुई डाक्टरको अनुभव छ । ‘तर त्यसो होइन,’ डा. शाक्य भन्छन्, ‘दुर्घटना तथा आगोमा जलेका बिरामीको उपचारमा प्लास्टिक सर्जरी अनिवार्य उपचार पद्धति हो ।’
डाक्टरका अनुसार शरीरमा भएका विभिन्न भागमा रहेका त्रुटिहरूलाई सर्जरीमार्फत सच्याउने प्रवृत्ति भने नेपालमा बढ्दै गएको छ । ‘प्रयोजन सौन्दर्य वा जीवनलाई थप आत्मविश्वासका साथ जिउनु हुन सक्छ,’ डा. श्रेष्ठले भने ।


ट्रान्सजेन्डरका लागि पनि छ सर्जरी सुविधा
यौनिक अल्पसंख्यकका लागि पनि विभिन्न कस्मेटिक सर्जरी सेवा नेपालमै उपलब्ध रहेको स्वस्ति लेजर एन्ड स्किन केयर डा. शाक्य बताउँछन् । ‘मेल’बाट ‘फिमेल’ बन्न चाहनेहरूका लागि ब्रेस्ट इम्प्लान्ट अपरेसन गर्ने गरिएको शाक्यले बताए । कस्मेड लेजर एन्ड कस्मेटिक सर्जरी सेन्टरले पनि ट्रन्सजेन्डरका लागि विभिन्न कस्मेटिक सर्जरी गर्ने गरेको जानकारी डा. श्रेष्ठले दिए । मेलबाट फिमेल बन्नेहरूका लागि अण्डकोष निकाल्ने, अनुहारलाई सानो देखाउने कस्मेटिक सर्जरी गर्ने गरिएको जानकारी डा. श्रेष्ठले दिए । फिमेलबाट मेल बन्नेहरूका लागि ब्रेस्ट निकाल्ने अपरेसन पनि गर्ने गरिएको छ । स्पष्ट कानुनी प्रावधानको अभावमा लिंग परिवर्तन गर्ने अपरेसन सुरु गर्न नसकिएको बताउँदै डा. श्रेष्ठले भने, ‘कानुन हुने हो भने ट्रान्सजेन्डरका लागि नेपालमै लिंग परिवर्तन गर्ने सर्जरी पनि गर्न सकिन्छ ।’  

आगोले जलेर कसैको च्यापु र घाँटी जोडिएको छ, औँलाहरू एकआपसमा टाँसिएका छन् भने यस्तो अवस्थामा गरिने ‘प्लास्टिक सर्जरी’ ‘कस्मेटिक’ भित्र पर्दैन । यो ‘कन्सट्रक्टिभ’ सर्जरी हो । कसैको जीवनयापन सहज बनाउन गरिने यस्ता सर्जरी कसैका लागि भने सुन्दरता बढाउने माध्यम बनिरहेका छन् । आँखा, नाक, ओठजस्ता अंगको बनावट ठीक भएमा मानिस सुन्दर देखिन्छ । ‘बडी रिपेयर’ भनेर गरिने ‘कस्मेटिक सर्जरी’मा अहिले यी अंगलाई चाहेजस्तो साइजमा ढाल्न अपरेसन गराउनेहरू बढ्दै गएका छन् ।

नीमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टी जस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनी टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनी सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरीया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनी टाइट पार्ने प्रक्रियामा योनीद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनी वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।

साभार : शुक्रबार 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved