काठमाडौँ आसपास फैलियो ज्यानै जान सक्ने नयाँ भाइरस, शतर्क रहन आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2018 | 09:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाण्डू र अन्य केही स्थानमा सामान्य रुघा-खोकी जस्तो देखिने नयाँ 'फ्लु टाइप-ए' नामक भाइरसका बिरामीहरूको संख्या बढिरहेको चिकित्सकहरूले बताएका छन्। राजधानी काठमाण्डू उपत्यका र केही जिल्लामा मौसमी रुघाखोकी जस्तो देखिने 'फ्लु टाइप-ए' नामक भाइरसका बिरामी देखापरेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वका हरेक स्थानमा मौसम परिवर्तनका बेला देखापर्ने सङ्क्रमण सामान्य रुघा-खोजी जस्तो देखिने गरे पनि हेलचक्य्राइँ गरिए जोखिम बढ्ने सक्ने बताएको छ। एकै स्थानमा थुप्रै बिरामी देखा नपरे पनि काठमाण्डू उपत्यकासहितका केही जिल्लाका विभिन्न अस्पतालहरुमा 'फ्लु टाइप ए' का भाइरल बिरामीहरू देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

सामान्य औषधिले नै ठिक हुने तर लापर्बाही गर्दा ज्यानै जाने हुनाले मौसम परिवर्तन हुने यो बेलामा सतर्क रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले आग्रह गरेका छन्। उनले भने, "सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने लक्षण देखिन्छ। सानो बच्चा यदि दूध नै खान नसक्ने अवस्था छ भने तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।"

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता नयाँ नयाँ रोगका बारेमा अध्ययन गर्ने क्रममा यसै हप्ता 'फ्लु टाइप-ए' देखापरेको जनाएको हो। मधुमेह दम र अन्य दीर्घरोगी र कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्न सक्ने बताइएको छ। महाशाखाका अनुसार गतवर्ष पनि 'भाइरल इन्फ्लुएन्जा-बी'को संक्रमणका कारण थुप्रै मानिसहरू बिरामी परेका थिए।

अहिले देखिएको 'फ्लु टाइप-ए' भाइरसबाट जोगिन भने सामान्य सावधानी नै पर्याप्त रहेको महाशाखा प्रमुख लालको भनाइ छ।उनी भन्छन्, "व्यक्तिगत सरसफाइ सबैभन्दा महत्त्वपूर्ण छ। जस्तै खोक्दा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, भिडमा नबस्ने र तुरुन्त साबुन पानीले हात धुने। यी सामान्य तर एकदमै प्रभावकारी उपाय हुन्। अर्को कुरा रुघाखोकी लागेको छ भने झोल भएको खानेकुरा खानमा जोड दिनु पर्छ।"इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले 'फ्लु टाइप-ए'को संक्रमण बढेको देखिएकोले सतर्कता अपनाउन राजधानी र अन्य जिल्लाका स्वास्थ्य शाखाहरूलाई सचेत गराइसकिएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved