गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ, संचालक खुमा अर्याललाई खोज्दै प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 10:45:31 PM मा प्रकाशित

laxmi  sunrise bank

तोकिएको भन्दा बढी शुल्क उठाएको आरोपमा गण्डकी मेडिकल कलेजका कार्यकारी अधिकृत (सीईओ) र परीक्षा नियन्त्रक पक्राउ परेका छन। कलेजका सीईओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

पक्राउपरेकाहरुलाई बिद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगि गरेको आरोप लगाइएको छ।  जिल्ला प्रहरी कार्यालय कास्की (पोखरा)ले सरकारले तोकेभन्दा बढी रकम असुलेको भन्दै उजुरी परेपछि कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सञ्चालक अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख यूवराज शर्म, लेखाकै हरिमाया पौडेल, कृष्ण घिमिरे र प्रशासनका दिनेश पौडेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। 

उनीहरुविरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो। यसका साथै विद्यार्थीले आज बुधबार थप १० जनाविरुद्ध पनि उजुरी दिएका छन्। प्रहरीले उनीहरुका विषयमा पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। पछि उजुरी दायर हुनेमध्येमा कलेजका पूर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल, लक्ष्मणप्रसाद शर्मा लगायत छन्।

कलेजले विद्यार्थीबाट थप १५ लाखसम्म रकम असुलेको विद्यार्थीको आरोप छ। यो रकम व्यक्तिगत खातामा जम्मा गराउने गरिएको र रकम तिरेको भौचर समेत नदिइएको विद्यार्थीहरुको गुनासो छ । सरकारले उपत्यकाबाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ तोकेको छ ।   

अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका चारबुँदे माग राखेर कलेजका पाँच सय विद्यार्थी ३४ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनकै कारण माघ २२ गतेदेखि ओपिडीमा र कक्षाकोठामा ताला लागेको छ। आन्दोलनमा उत्रिएका बिद्यार्थीहरुले परिक्षासमेत दिएका छैनन। 

विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस तेस्रो वर्षको परीक्षा दिएका छैनन। परीक्षामा सन् २०१५ व्याचका ८३ र सन् २०१४ ब्याचको पूरक परीक्षामा सहभागी हुनुपर्ने ३ विद्यार्थी गरी ८६ जनाले परीक्षा नदिएका हुन। उनीहरुले अब नियमित परीक्षा पनि पूरकका रुपमा दिनुपर्नेछ ।

बिद्यार्थीको आन्दोलनपछि छानबिन गर्न भन्दै एक महिनाको अवधिमा २ वटा समिति गठन भएका छन। त्रिभुवन विश्वविद्यालयको अनुगमन महाशाखाको ३ सदस्यीय टोलीले केही दिनअघि नै छानबिन गरेर समितिले त्रिवि अनुगमन महाशाखाका कार्यकारी निर्देशक विष्णुप्रसाद खनाललाई बुझाइसकेको छ ।  

डा. ओम बरालको नेतृत्वमा आएको टोलीले ४ दिनसम्म पोखरा बसेर विद्यार्थी र कलेजका तर्फबाट कागजपत्र लिएर गएको थियो । बराल नेतृत्वको टोलीले महाशाखालाई प्रतिवेदन बुझाएपछि बुधबार फेरि महाशाखाले उपकुलपतिसहित रहने त्रिवि कार्यकारी परिषदमा प्रतिवेदन बुझाएको छ ।

बराल नेतृत्वको टोलीले प्रतिवेदन बुझाएकै दिन फेरि अर्को टोली छानबिनका लागि भन्दै पोखरा आइपुगेको छ । त्रिवि उपकुलपति तीर्थ खनियाले यही फागुन १७ गते प्राडा कुसुम शाक्यको नेतृत्वको ५ सदस्यीय छानबिन टोली गठन गरेका थिए । यो टोलीले पोखरा आएर छानबिन थालेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved