‘नीजि अस्पतालमा कोरोना परीक्षण गर्न २२ हजारसम्म लाग्न सक्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 11:54:14 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर नागरिकले आफ्नो जाँच गराउन चाहे सशुल्क परीक्षण गराउन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङका क्रममा कुनै व्यक्तिले पीसीआर प्रविधिबाट आफ्नो स्वास्थ्य परीक्षण गराउन चाहे सशुल्क परीक्षणको प्रवन्ध गर्ने निर्णय भएको जानकारी दिएका थिए । 

प्रवक्ता डा. देवकोटाद्वारा उक्त जानकारी बाहिर आएसँगै यसको मुल्यका विषयमा धेरै थरीका अड्कल बाजी भएका छन् । विभिन्न सञ्चार माध्यममा एक जनाको परीक्षण गर्न १५ हजार रुपैयाँ लाग्ने भन्दै समाचारहरु पनि आएका छन् । तर अहिलेसम्म मन्त्रालयले औपचारिक रुपमा त्यस्ता समाचारको विषयमा खण्डन गरेको छैन ।

अहिले सरकारी अस्पतालबाट मात्रै रहेको पीसीआर परीक्षण हुँदै आएको छ । काठमाडौँ उपत्यकाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल र पाटन अस्पतालमा पीसीआर परीक्षणको व्यवस्था छ । उपत्यकका नजिकै काभ्रेको धुलिखेल अस्पतालमा पनि यो सुविधा छ ।

तर नीजि अस्पतालले भने पीसीआर मेशिन राख्न पाएका छैनन् । एउटा नीजि प्याथोलोजीले पीसीआर प्रविधिबाट जाँच गर्न अनुमति माग गरेपनि सरकारले अनुमति दिएको छैन । यस्तै मेडिसिटी अस्पतालले पनि पीसीआर परीक्षण सुरु गर्ने तयारी गरेको जानकारी आएको छ । यद्यपी परीक्षण नै सुरु भने भएको छैन ।

कति लाग्छ शुल्क ?

नीजि अस्पताललाई पीसीआर परीक्षणको अनुमति दिँए पनि व्यवस्थापनमा समय लाग्ने नर्भिक अस्पतालका प्रवन्ध निर्देशक राजेन्द्र बहादुर सिंह बताउँछन् । स्पेशल प्याथोलोजी, भिपिआर र जनशक्ति आवश्यक पर्ने भएकाले सरकारले अनुमति दिएपनि प्रवन्ध मिलाउनमै समय लाग्ने उनको भनाई छ । 

‘सुरुमा इकुप्मेन्ट र ल्याब स्थापना गर्नुपर्ने हुन्छ’ उनले भने, ‘त्यसपछि म्यानपावर व्यवस्थापन गर्नुपर्यो ।’ 

उनका अनुसार एउटा मेशिनको मूल्य मात्रै एक करोड ५० लाखदेखि ३ करोड रुपैयाँसम्म पर्छ । उपकरण, ल्याब, स्पेशल मेसिन, जनशक्तिको शुल्क, जनशक्तिका लागि सुरक्षात्मक सामग्री र केही प्रतिशत नाफा जोडेपछि मात्रै पीसीआर परीक्षणको शुल्क यति नै लाग्छ भनेर निर्धारण गर्न सकिने सिंहको भनाई छ । यद्यपी उनले नीजि अस्पतालमा यो सुविधा थप गरिए निकै महँगो पर्ने बताए । 

‘एक जनाको परीक्षण गर्दा २० देखि २२ हजार रुपैयाँसम्म लाग्छ सक्छ’ प्रवन्ध निर्देशक सिंहले भने, ‘फेरि घरको एक जनाको मात्रै परीक्षण गरेर नहुने रहेछ । परिवार, छिमेक, भेटघाट गरेका साथी, काम गर्ने साथी सबैको टेष्ट गर्नुपर्ने रहेछ । यो निकै खर्चिलो हुन्छ ।’

उनले उपचारका लागि आवश्यक पर्न सक्ने खर्च पहिले नै छुट्याएर राख्ने नेपालीको चलन नभएका कारण सबै नेपालीले पैसा तिरेर कोरोनाको पीसीआर परीक्षण गराउन सक्ने अवस्था नरहेको पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved