सरकारले तोकेको भन्दा कम मूल्यमा कोरोना भाइरसको परीक्षण गरिरहेको ‘बिध ल्याब’ले शुल्क भुक्तानीकालागि अनलाइन पेमेन्टको सुबिधा अपनाएको छ । ग्राहकलाई अनलाईनबाटै शुल्क भुक्तानी गर्ने सुविधाको लागि ल्याबले ‘ई–सेवा’ र ‘खल्ती’संग सम्झौता गरेको हो ।
सम्झौता संगगै ग्राहकले ‘ई–सेवा’ वा ‘खल्ती’बाट रकम भुक्तानी गर्दा २०० रुपैयाँ क्यास व्याक पाउने जनाइएको छ ।
‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्कतिर्न सकिनेगरी व्यवस्था गरेका हौं’ ल्याबका संचालक भीमकान्त भण्डारी भन्छन्, ‘यसका लागि ई–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट रकम भुत्तानी गर्दा सेवाग्राहीले थप २०० रुपैयाँ क्यास व्याक पाउनेछन् ।’ पैसाको कारोबारबाट समेत कोरोना भाइरस फैलन सक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाएको उनले बताए ।
कोरोना भाइरसको परीक्षणका लागि नेपाल सरकारबाट मान्यता प्राप्त ‘बिध ल्याब’ले तोकिएको शुल्कभन्दा कम अर्थात ४ हजार रुपैयाँमा परीक्षण गर्दै आएको छ । अब अनलाईनबाट रकमभुत्तानी गर्दा ३८ सय रुपैयाँमा नै परीक्षण गर्न पाउने र स्वाब समेत ल्याबले संकलन गरेमा जम्मा ४३ सय रुपैयाँ तिर्नुपर्ने ल्याबले जनाएको छ ।
ल्याबमा एक दिनमा ४२ सयजनाको कोभिड परीक्षण गर्ने क्षमता रहेको संचालक भण्डारीले बताए । बिध ल्याब ललितपुरको कुपण्डोलमा सञ्चालित छ । बिध म्यानेजमेन्टलाई नेपाल सरकारले साउन १३ गतेदेखि कोभिड ल्याब संचालनका लागि अनुमति दिएको थियो ।