कोरोना भाइरसको संक्रमण बढिरहेका बेला संक्रमण हुन नदिने भन्दै विभिन्न औषधिहरुको बिक्रि भईरहेको छ । केही समय अघि नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले ‘जन्तर’ बाँडेर कोरोनाको संक्रमण नुहने भनेपछि त्यतिबेला निकै आलोचना भएको थियो । अहिले विभिन्न व्यवसायिक अस्पतालहरुले जडिबुटीको नाममा यस्ता औषधिहरु बिक्रि गरिरहेका छन् ।
काठमाडौँको सिनामंगलमा सञ्चालित पाथिभरा आयुर्वेदिक अस्पतालले कोरोना भाइरसको संक्रमणबाट बचाउने भन्दै ‘धुलो’ औषधि बिक्रि गरिरहेको छ । अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका र नभएका सबैलाई यस्तो धुलो खुवाउँदै आएको छ ।
‘संक्रमण भएकालाई निको हुने र नभएकालाई हुन नदिने भन्दै बिक्रि गर्दै आएको छ’ एक जना व्यक्तिले भने, ‘हामीले पनि किनेका छौँ ।’
अन्दाजकै भरमा प्याकिङ
मिसावट के छ, कसले प्रमाणित गरेको हो, बिक्रिको अनुमति छ की छैन ? यी कुनै पनि प्रश्नको जवाफ अस्पतालले दिएको छैन । तर किनेर लैजानेहरुका अनुसार भने अस्पतालले जडिबुटी ‘बाटुले झार’ को धुलो भन्दै बेच्ने गरेको छ ।
‘मिसावटका बारेमा मलाई पनि जानकारी छैन, एक पटक बसेरै कुरा गरौँ न’ अस्पतालका सञ्चालकमध्येका एक जना अर्जुन दाहालले भने, ‘बिहान ९ देखि बाह्र एक बजेसम्म खुल्छ, भोली आउनु भयो भने भेट हुन्छ ।’
निश्चित मात्राको तौल बिना नै अन्दाजको भरमा प्याकिङ गर्ने गरिएको छ । आयुर्वेदिक र जडिबुटीबाट तयार पारिएका औषधिको प्याकिङ ‘लुज’ नै हुने दाहालको दाबी छ ।
‘हाम्रो प्याकिङ एकदम लुज नै हुन्छ’ दाहालले भने, ‘आफैँले बनाउने जडिबुटीको औषधिको प्याकिङ सामान्यता यस्तै हुन्छ ।’
फरक फरक मूल्य
अस्पतालले आफ्नै फार्मेसीबाट यस्तो धुलो बिक्रि गरिरहेको जनाएको छ । कतैबाट किनेर ल्याएको नभई आफैँले बनाएर पुरियाका रुपमा प्याकिङ गरेर बेच्ने गरिएको दाहालको भनाई छ ।
‘किनेर ल्याएका होइनौँ, हामी आफैँले बनाएको हो’ उनले भने, ‘सामान्य भाइरसलाई शरीरमा छिर्न नदिने भएकाले बेच्न थालेका हौँ ।’
दाहालले एक पुरियाको १ सय रुपैयाँ पर्ने भनेपनि किनेर लगेकाहरु ३ सयदेखि ११ सयसम्म तिरेको बताउँछन् । यस विषयमा दाहालले भने एक जनाले खानका लागि एक सय रुपैयाँको पुरिया लैजाँदा हुने र जति जनाको लागि लगेको हो, त्यति नै वटा पुरिया र प्रति पुरिया सय रुपैयाँ पैसा लिने गरेको बताउँछन् ।
‘प्रमाणित होइन’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने नियमित प्रेस ब्रिफिङमा कोरोनाबाट बच्न स्वस्थ खानपान, नियमित ब्यायाम, सेल्फ क्वारेन्टाइन जस्ता विधि अपनाउन भनिरहेको छ । खाँदा कोरोना नलाग्ने भनेर हालसम्म कुनै पनि औषधि प्रमाणित भईनसकेको अवस्थामा यदि कसैले नागरिकलाई झुक्याएर औषधि बिक्रि गरे कारबाही गर्ने चेतावनी पनि मन्त्रालयले दिँदै आएको छ ।
तर कुनै पनि सरकारी निकायबाट प्रमाणित नभएको औषधि खुलाआम बिक्रि भईरहेको छ । औषधि हो वा होइन भन्नेमा नै दुविधामा रहेका नागरिकहरु कोरोना नलाग्ने आशमा यो धुलो सेवन गरिरहेका छन् ।
‘कतैबाट सर्टिफाइड त होइन, तर सामान्य भाइरस लाग्न दिँदैन भन्ने हाम्रो अध्ययनका आधारमा बेच्ने गरेका हौँ’ दाहालले भने, ‘धुलो औषधि हो, पानीमा मिसाएर पिएर निल्ने हो ।’
यसको प्रयोगले हुने ‘साइड इफेक्ट’ कस्तो हुन्छ, सेवन गर्दा भित्रि र बाहिर असर देखिए को जिम्मेवार ? जस्ता प्रश्नहरुको जवाफ दिन दाहालले आनाकानी गर्दै प्रश्नकर्तालाई तपाईँ के काम गर्नुहुन्छ भनेर सोधेपछि पत्रकारले आफू सेक्युरिट गार्डको काम गर्ने उत्तर दिएका थिए ।