एकाएक किन बन्द भए क्षेत्रपाटीका औषधि पसल (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 31, 2020 | 04:40:53 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि बजारको मुख्य केन्द्र मानिने काठमाडौँको क्षेत्रपाटीका औषधि पसलहरु सोमबार बन्द भए । शुक्रबार नै पसलै पिच्छे जस्तो गरी हप्तामा ३ दिन मात्रै पसल खोल्न उर्दीसहितको पर्चा टाँसिएपछि सोमबार सो क्षेत्रका ९५ प्रतिशत औषधि पसलहरु बन्द भए । बिहानै पसल खोल्न पुगेका व्यवसायीहरु त्यसै फर्किए भने औषधि लिन पुगेका उपभोक्ताहरु पनि खाली हात भए ।

यसो हुनुको पछाडी सोही पर्चाले भूमीका खेलेको छ । स्थानीय युवा क्लबको नाम लेखेर टाँसिएको उक्त पर्चामा साताको ३ दिन आइतबार, मंगलबार र बिहिबार मात्रै पसल खोल्न भनिएको छ । सरकारले अत्यावश्यक बस्तु र सेवाको सूचीमा राखेको औषधि पसल नै बन्द भएपछि उपभोक्ता मारमा परेका छन् । तर यो निर्णय कुनै संस्थागत नभई केही व्यक्तिले गरेको नेपाल औषधि थोक व्यवसायी संघ (पीडान) को आरोप छ।

पीडानका महासचिव गणेश नेपाल केही व्यक्तिहरुको स्वार्थका कारण औषधि पसल बन्द हुँदा सबैलाई मार परेको बताउँछन् । उनले आफूहरु २४ सैँ घण्टा सेवा दिन तयार रहेपनि केही व्यवसायीकै नेताहरुको स्वार्थमा पसल बन्द हुनु दुखद भएको बताए । उनले यसबारे आफूहरुले नेपाल औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा जानकारी गराईसकिएको बताए ।

‘व्यवसायीका संगठनका नाममा दुई चार जनाले स्थानीय क्लब र वडाको हवाला दिँदै बन्द गराउँदै हिडेका रहेछन्, हामीले साथीहरुलाई पसल बन्द नगर्न भनेका छौँ’ महासचिव नेपालले भने, ‘राज्यभन्दा ठूलो कोही छैन, राज्यले नै बन्द नगर्नु भनेको सेवा बन्द गराउँदै हिड्नेलाई हामीले कारबाही हुनुपर्छ भनेर माग पनि गरेका छौँ ।’

पीडानका अध्यक्ष शिवराज बाँस्कोटाले भने नेपाल औषधि व्यवसायी संघका महासचिव रामचन्द्र शर्माको अगुवाईमा औषधि पसल बन्द गराईएको आरोप लगाएका छन् । उनले आफूले प्रत्यक्ष रुपमा नै शर्माले पसल बन्द गराउँदै हिडेको देखेको र यसबारे सोधपुछ गर्दा आफ्नो ‘नाक राखिदिन’ भनेको बताएका छन् ।

‘कसको के स्वार्थ हो हामीले बुझेका छैनौ, हामीसँग पनि छलफल भएको छैन । वडा भनिएको छ, वडासँग पनि कुनै समन्वय भएको रहेनछ’ अध्यक्ष बाँस्कोटाले भने, ‘मैले किन बन्द गराउनु पर्यो भनेर सोध्दा उहाँले मेरो नाक जोगाईदिनु परो एक दिनलाई भन्नु भो, किन हो थाहा भएन ।’

उनले सरकारलेसमेत औषधि बिक्रि तथा वितरणलाई अतिआवश्यक सेवाको रुपमा राखेर निर्वाध रुपमा सञ्चालन गर्न भनेकाले कसैको उर्दी नमानी निरन्तर सेवामा लाग्न व्यवसायीलाई अनुरोध पनि गरेका छन् । 

तर नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) का महासचिव शर्माले भने आफूले अगुवाई नगरेको दाबी गरेका छन् । हप्ताको ३ दिन मात्रै औषधि पसल खोल्न पाईने कुनै निर्णय संस्थागत नभई सोही क्षेत्रका व्यवसायीको भएको उनको भनाई छ ।

‘मैले अगुवाई गर्नुपर्ने कुनै कारण नै छैन, म किन अगुवाई गर्दै हिड्नु परो ?’ शर्माले भने, ‘यो निर्णय कुनै संस्थागत निर्णय होइन, मन लाग्ने व्यवसायीले खोल्नुहुन्छ, मन नलाग्नेले बन्द गर्नुहुन्छ ।’ 

स्थानीय रक्तकाली युथ क्लबको संलग्नताको विषयमा भने महासचिव शर्माले उक्त क्लबलाई आफूहरुले साथमा नआउन भनिसकेको बताए । बरु मंगलबारबाट क्षेत्रपाटी क्षेत्रमा ‘डिस इन्फेक्सन’ बनाउन क्लबको सहायता लिने तर पसल बन्द गराउने वा खोल्ने विषयमा क्लबको संलग्नता नहुने उनको भनाई छ । 

स्थानीय रक्तकाली युथ क्लवको व्यवस्थापनको नाममा काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ र १८ को समन्वयमा अर्को निर्णय नभएसम्मका लागि औषधि पसल साताको ३ दिन मात्र खोल्न पाइने व्यहोरोको पर्चा ठाउँ ठाउँमा टाँसिएको छ । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved