'कोरोना बिरामीलाई 'प्लाज्मा' जीवनदान हो, निको भएकाले दिनुहोस' डा. दवाडी (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2020 | 12:05:55 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाका बिरामीको उपचारमा प्रभावकारी मानिएको प्लाज्मा थेरापीलाई नेपालमा समेत सहज बनाउनुपर्ने आवाज उठेको छ। ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ ‘सिपिटी’ कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि भएकाले पछिल्लो समय चिकित्सकहरुले प्लाज्मा बैंक नै बनाउनुपर्ने बताउदै आएका छन्। 

नेपाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका नेपाल चिकित्सक संघका प्रवक्ता डा बिश्वराज दवाडीले प्लाज्मा दान जीवन दान भएकाले अहिलेको अवस्थामा कोरोना निको भएकाहरुको प्लाज्मा जम्मा गरेर प्लाज्मा बैंक बनाउनुपर्ने बताएका छन्। 

निको भइसकेको १४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको रोगसँग लड्ने तत्व सहितको ‘प्लाज्मा’ कोरोना संक्रमितलाई दिँदा उ बाँच्ने सम्भावना धेरै हुनाले यो ठुलो सेवा भएको डा दवाडीको भनाई छ। 

कोरोना लागेकालाई बचाउन सकिने ठुलो अस्त्र भएकाले कोरोना लागेर निको भएका देशभरका करिब २२ हजार बढी नेपालीहरुबाट प्लाज्मा संकलन गर्नु अपरिहार्य भईसकेको डा. दवाडीको भनाई छ। 


अहिले प्लाज्मा दिन चाहने एउटा शहर र कोरोना बिरामी अर्को शहरमा भएको अवस्थामा उपचार गर्न कठिनाई भएकाले नेपाल चिकित्सक संघले प्लाज्मा बैंक बनाउन पहल थालेको र यसमा सबै पक्षले सघाउनुपर्ने उनको भनाई छ। 

रेडक्रसले ब्लड बैंक बनाएझैं रेडक्रसकै सहयोगमा प्लाज्मा बैंक बनाउन सकिने डा दवाडीको भनाई छ। कोरोना लागेर निको भईसकेका व्यक्तिको प्लाज्मा  कोरोना संक्रमितको उपचारका लागि जीवनदान साबित भएकाले आफुहरुले प्लाज्मा बैंक बनाउने तर्फ प्रकृया अगाडी बढाएर र यसमा सरकार लगायत सबै सरोकारवालाले सघाउनुपर्ने उनको भनाई छ। 

अहिले आफुहरुकै पहलमा निको भएका व्यक्तिहरुबाट प्लाज्मा लिएर कोरोना संक्रमितको उपचारमा प्रयोग गर्दै आएपनि यो पर्याप्त नभएकाले प्लाज्मा बैंकको बिकल्प नभएको उनको भनाई छ। 

यदि कसैले स्वत स्फुर्त रुपमा प्लाज्मा दिन चाहेमा त्यस्तो व्यक्तिले आफुलाई वा नेपाल चिकित्सक संघलाई सम्पर्क गर्न समेत डा दवाडीले आग्रह गरेका छन्। बजारमा कोरोना लागेर निको भएका व्यक्तिले रगत दिँदा उ झनै कम्जोर हुने भ्रम बढेकाले एक थोपा रगत दिँदा कसैलाई पनि कुनै समस्या नहुने भन्दै उनले प्लाज्मा दिनलाई समेत कोरोना लागेर निको भएकाहरुसँग आग्रह गरेका छन्। 

प्लाज्मा दिनेहरुको नाम उनीहरुको मन्जुरीमा मात्र सार्वजनिक गरिने तर जसले गोपनियता चाहन्छ उसको सबै कुरा गोप्य रहने समेत डा दवाडीले बताएका छन्। कोरोना लागेर निको भएका सबैमा प्लाज्मा बन्छ भन्ने ग्यारेन्टी नभएपनि प्लाज्मा हुने सम्भावना धेरै भएकाले निको भएका व्यक्तिले धेरैको जीवन बचाउन सक्ने भएकाले योग्य सबैलाई प्लाज्मा दिन उनले आग्रह गरेका छन्। 

एउटा व्यक्तिले धेरै पटक प्लाज्मा दिन सक्ने समेत डा दवाडीले बताए। प्लाज्मा दिने काम रक्तदान जस्तै भएको समेत उनले स्पष्ट पारेका छन्। नेपालमा करिब २२ हजार व्यक्ति कोरोना लागेर निको भईसकेकाले संक्रमितलाई बचाउन प्लाज्मा नै उत्तम विकल्प भएको उनको भनाई छ। अमेरिकाले समेत प्लाज्मालाई कोरोना बिरामीको उपचारमा प्रयोग गर्नलाई अनुमति दिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved