लोकदोहोरी र बाँसुरीको धुनमा रमाउदै कोरोना संक्रमित

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 04, 2020 | 06:10:08 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङ सदरमुकाम बेसीसहरको सहजीस्थित सहरी विकास कार्यालयको तीन तले भवन छ । त्यस भवनमा बिहान सधै शारिरीक कसरतका विभिन्न व्यायामहरु र मध्यान्हमा गित संगीतको माहौल चल्छ। त्यहाँ बासुरीको धुनमा समुहमा अन्ताक्षरी र लोकदोहोरी गित चल्छ। तर यो कुनै डान्सबार वा दोहोरो साँझ नभई कोरोना संक्रमित बसेको भवन हो । 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बनाएको आइसोलेसनमा हाल जिल्लाका सञ्चारकर्मी तथा प्रहरीहरु गरी ४५ जना रहेका छन् । उनीहरु सामाजिक दुरी कायम गरी व्यायाम गर्नेदेखि दोहोरी गित गाउँदै रमाउने गरेको बताउँछन् । 

‘आइसोलेसनमा रहेका हामी कसैलाई पनि कुनै लक्षण देखिएको छैन, हामी सबै आ–आफ्नो काममा व्यवस्त रहेका छौँ', संक्रमित एक सञ्चारकर्मी भन्छन्, ‘हामीले गर्ने दैनिक कामहरु आइसोलेसनमा नै बसेर गर्ने गरेका छौ। हामी सबै जिल्लामा रहेको रेडियो तथा राष्ट्रिय सञ्चार माध्यममा आबद्ध छौ, आइसोलेसनमा नै बसेर जिम्मेवारीका साथ काम गरेका छौँ ।’

सञ्चार गृहमा बसेर काम गर्नू र यहाँ बसेर काम गर्नुमा कुनै अन्तर नभएको उनीहरु बताउँछन् । जो जहाँ छौँ, त्यहि रामाउदैँ  काम गरेको उनीहरुको भनाई छ । 

संक्रमितका अनुसार स्वास्थ्यमा केही समस्या भए फोन गर्नु भनेर स्वास्थ्यकर्मीहरुले भन्ने गरेका छन्, तर आजसम्म कसैलाई कुनै पनि समस्या देखिएकोछैन । 'हामीहरु सबै खुशीका साथ बसेका छौँ, हामी आफै एक जिम्मेवारी अनुसारको काम गर्दै आएका छौँ' उनी भन्छन् । 

अर्का एक संक्रमित भन्छन् 'सुरुमा कस्तो हुने हो, के गर्ने स्वास्थ्यमा समस्या आउँछ कि भन्ने सोचेको थिए, तर आजसम्म केहि भएको छैन्, यहाँ हामीहरु सबै युवाहरु छौँ, काम सगैँ केही न केही गरेर रमाउदैँ समय कटाएका छौँ, सबैले आप्नो प्रतिभा देखाउदैँ रमाइलो गरेका छौ ।  । '

कारोना संक्रमण भएपछि समस्या हुन्छ, अस्पतालको आइसियु र भेन्टिलेरमा नै बस्नुपर्छ भन्ने अनुभव हालसम्म कसैलाई पनि नभएको उनीहरुको भनाई छ ।  

यसैसरी सुन्दरबजारमा रहेको कृषि क्यापसमा बनाईएको आइसोलेसनमा रहेका एक सञ्चारकर्मी यतिकै आइसोलेसनमा बसेको भन्ने अनुभूति भएको बताउँछन् । ‘स्वास्थ्यमा कुनै समस्या नै छैन, यतिकै समय बिताउन आइसोलेसनमा आएको जस्तो अनुभव भएको छ,’ उनी भन्छन्, ‘सबै साथीहरु रमाउदै बसेका छौँ, सरकारले काम नै नगरी १४ दिनसम्म बसेर खा भनेको जस्तो अनुभव भएको छ ।’

रमाइलो सगैँ आइसोलेसनमा केही समस्या भएको उनीहरुको भनाई छ । कृषि क्यापसमा बनाईएको आइसोलेसनमा सञ्चारकर्मी लगायत अन्य संक्रमितलाई राखिएतापनि इन्टरनेट र प्रशोधित पानीको व्यवस्था नभएको उनीहरुको गुनासो रहेको छ । 

एक संक्रमित भन्छन् 'आइसोलेसनमा इन्टरनेट छैन, डाटा प्याक तानेर हामीहरु काम गर्दै आएका छौँ, इन्टरनेट भए समय काट्न सजिलो सगैँ काम गर्दा कोरोना तिर ध्यान जादैनथ्यो, तर इन्टरनेट नहुँदा समस्या भएको छ।'  तीन दिनदेखि क्यापसमा बसेका उनीहरुले पानी उपलब्ध गराउन आग्रह गर्दा सम्म नदिएको गुनासो गरेका छन् । उनी भन्छन् 'पिउने पानी दिईएको छैन्, धाराको पानी धमिलो आउँदा पानीको अभाव भएको छ, अरु केही समस्या छैन् । '

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लाका विभिन्न ५ स्थानमा आइसोलेसन केन्द्र बनाएको छ । जिल्ला सामुदायिक अस्पतालमा बनाईएको आइसोलेसनमा महिला र अन्य स्थानमा पुरुषलाई राखिएको छ । केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा जिल्लाका ५ स्थानमा बनाईएको २ सय वेड क्षमताको आइसोलेसनमा हाल १२३ जना संक्रमितलाई राखिएको बताउँछन् । 

उनका अनुसार ४५ वेड क्षमताको जिल्ला सामुदायिक अस्पतालमा ३३ महिला र ६ पुरुष गरी ३९ जना, ४० बेड क्षमताको नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा २४ पुरुष, ४५ वेड क्षमताको सहरी विकाशको भवन बेसीसहरमा ४५ पुरुष, ७० वेड क्षमताको कृषि क्यापस सुन्दरबजारमा १५ जना राखिएको छ । ४ स्थानका आइसोलेसनमा ३३ महिला र ९० पुरुष गरी एक सय २३ संक्रमितहरु रहेका छन् । जिल्ला समन्वय समितिको हलमा बनाईएको आइसोलेसनमा संक्रमितलाई राखिएको छैन् । 

लमजुङ जिल्लामा रहेका २ महिला र ५ पुरुष गरी ७ जना सञ्चारकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved