सकियो रेमडिसिभरको ‘क्लिनिकल ट्रायल’, प्रयोगकर्तालाई पैसा फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 12:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेमडिसिभर’ औषधिले पार्ने प्रभावबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन सकेको छ । परिषद्ले कोरोना संक्रमितको उपचार भईरहेका अस्पतालमा गरेको परीक्षण आइतबारबाट बन्द गरेको छ । शनिबारसम्म यो औषधि करिब १५ सय जनामा प्रयोग गरिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

अहिले गरिएका परीक्षणबाट रेमडिसिभरले कोरोना भाइरसका संक्रमित व्यक्तिहरुमा नकारात्मक र सकारात्मक कुनै खालको विशेष प्रभाव नपारेपनि २ कुरामा सहयोग गरेको परिषद्को रिपोर्टमा उल्लेख छ । सदस्य सचिव डा. ज्ञवालीका अनुसार यो औषधिले कुनै गलत प्रभाव गरेको नदेखिएको तर,संक्रमण दरसहित मृत्युदर घटाउन सहयोग गरेको र लक्षण देखिएका संक्रमितमा लक्षण कम गर्दै लगेको छ ।

‘यो औषधि प्रयोग गरिएकामध्ये ३३५ जनामा गरिएको प्रयोगको रिपोर्ट आएकोछ, ११ देखि १२ सय जनामा गरिएको प्रयोगको रिपोर्ट आउन बाँकी छ’ सदस्य सचिव डा. ज्ञवालीले भने, ‘यसले लक्षण देखिएका बिरामीमा लक्षण कम गर्दै लगेको र मृत्युदर केही घटाउन सहयोग गरेको देखिन्छ ।’

उनले चरणवद्ध रुपमा विभिन्न चरणका रिपोर्टहरु आउने क्रम जारी रहेको र सबै रिपोर्ट आईनसकेको पनि बताए । 

६ हजार भाइल ल्याउने भनिएको र थप गरेर करिब १२ हजार भाइल रेमडिसिभर परीक्षणमा प्रयोग भएको छ । योमध्ये ५ हजार भाइल बंगलादेश र २ हजार भाइल भारतले निशुल्क दिएका थिए । परीक्षणमा प्रयोग गर्दा भएको सबै खर्च स्वास्थ्य मन्त्रालयले ब्यहोरेको छ ।

पैसा फिर्ता हुने

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण पुष्टि भईसकेपछि रेमडिसिभिर औषधि दिँदै आईएको र सो औषधि अब संक्रमित आफैँले खरिद गर्नुपर्ने बताएका छन् । मन्त्रालयले यो औषधि नेपालमा आयात गर्न तीन कम्पनीलाई अनुमति दिएको छ ।

यति फार्माकेम डिस्ट्रब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड र भारतको हटेरो ल्याब्स् लिमिटेडले रेमडिसिभर आयात र बिक्रीको अनुमति पाएका छन् । यी कम्पनीले ल्याएका औषधि कोभिड अस्पतालको सिफारिसमा बिरामीले किन्न पाउने छन् । रेमडिसिभर औषधिको एमआरपी मूल्य ६ हजार ३ सय तोकिएको छ ।

आइतबारबाट रेमडिसिभरको क्लिनिकल ट्रायल बन्द भएपछि आइतबारभन्दा अगाडी खरिद गरेर प्रयोग गरेकाहरुको पैसा फिर्ता हुने भएको छ । क्लिनिकल ट्रायलको अवधिभर प्रयोग भएका औषधिको पैसा तिर्न नपर्ने भएकाले स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांकमा भएअनुसार प्रयोग गरेकाहरुले पैसा फिर्ता पाउने परिषद्का सदस्य सचिव डा. ज्ञवालीले जानकारी दिए ।

‘कोभिड अस्पतालले सिफारिस गरेको खण्डमा अस्पतालकै फार्मेसीबाट किन्नुपर्ने गरी कार्यविधि बनेको छ’ डा. ज्ञवालीले भने, ‘अन्यबाट किन्न पाईदैन, यसको रेकर्ड एनएचआरसीमा राख्नुपर्ने भएकाले अस्पतालको सिफारिस अनिवार्य छ, आइतबारभन्दा अगाडी प्रयोग गरेकाहरुको भने कार्यविधि अनुसार पैसा फिर्ता हुनेछ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved