कोरोना बीमाको दाबी भुक्तानी ३ दिन भित्र दिन अर्थ मन्त्रालयको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 05:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई गरेको भन्दै अर्थ मन्त्रालयले तीन दिनभित्र दाबी भुक्तानी गर्न बीमा समितिलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र दिन र दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन भन्दै ४ बुदे निर्देशन दिएको हो ।

प्रमाणीकरण गर्न बाँकी दाबीको प्रमाणीकरण समेत यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन, कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्याबारे जानकारी दिन समितिलाई निर्देशन दिएको हो । 

मन्त्रालयको निर्देशनमा  भनिएको छ, ‘हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण रोकिएको छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’

त्यस्तै कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

कोरोना बीमा गरेकाहरुले दाबी गर्दा पनि भुक्तानी नपाएको गुनासो गर्दै आएपछि मन्त्रालयले पहिलो पटक गत असोज १८ गते ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको थियो। 

राजस्व सचिवको कार्यकक्षमा बुधबार बसेको बैठकले पनि उक्त निर्णय कार्यान्वयन गर्न समितिलाई आदेश दिएको थियो। तर बीमा समितिले मन्त्रालयको निर्णय कार्यान्वयनमा चासो नदेखाएको भन्दै पुनः चार बुँदे निर्देशन दिएको हो।

मन्त्रालयले समितिले ७ दिनभित्र दाबी भुक्तानीको व्यवस्था मिलाउने भने पनि थोरै संख्यामा काम भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा नपठाएको, हटलाइन फोन सेवा सञ्चालन नगरेको र अन्य निर्णय कार्यान्वयनमा पनि उदासीनता देखाएको भन्दै समितिको आलोचना गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved