सिमेन्टको मूल्य २५ प्रतिशत घटाउन उद्योगी तयार

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 13, 2020 | 01:23:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्टको मूल्य घट्ने संकेत देखिएको छ । सडक निर्माणमा अलकत्राको सट्टा कंक्रिटको प्रयोगलाई बढाउने सरकारले संकेत गरेपछि व्यवसायीले सिमेन्टको भाउ घटाउने संकेत गरेका हुन् । 

नेपालका सडकमा प्रयोग हुने विटुमिन आयात गर्नुपर्ने अवस्था रहेको तर सिमेन्टमा मूलुक आत्मनिर्भर रहेकाले कंक्रिट सडकको अवधारणा आएको थियो । तर नेपाली सिमेन्ट दक्षिण एशियाकै महँगो भएका कारण कंक्रिट सडकको अवधारणा व्यबहारमा लागू गर्न कठिनाई भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले मूल्य घटाउन गरेको अपिललाई सिमेन्ट उत्पादक संघले सकारात्मक रुपमा लिएपछि मूल्य घट्ने देखिएको हो । 

मूल्य घटाउन व्यवसायी तयार 

सरकार र सडक निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने सडक विभागले सिमेन्टको मूल्य महँगो भएका कारण सडकमा कंक्रिट प्रयोग गर्न असजिलो भएको भनेपछि व्यवसायीले सडक निर्माणमा सिमेन्ट प्रयोग हुने सुनिश्चित भए आफूहरु मूल्य घटाउन तयार रहेको बताएका छन् । 

‘सडकमा सिमेन्ट प्रयोग गर्ने र कंक्रिट सडकलाई प्राथमिकता दिने सरकारी नीति हो भने हामी मूल्य घटाउन तयार छौँ’ सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले भने । उनका अनुसार संघ प्रतिबोरा २५ प्रतिशतसम्म मूल्य घटाउन तयार छ । उनको भनाईलाई आधार मान्ने हो भने मूल्य घटेपछि सिमेन्ट एक बोरामा १ सय ९० रुपैयाँ सस्तो हुनेछ ।

तर घटाउने भनिएको मूल्यमा १३ प्रतिशत सरकारले लिने भ्याट छुट र १२ प्रतिशत उद्योगको मूल्य हो । यसरी भ्याटको १३ प्रतिशत छुट दिन सरकार तयार रहे उद्योगी १२ प्रतिशत मूल्य घटाउन तयार रहेको थापाको भनाई छ । 

खर्च बढी, टिकाउ दोब्बर

सडक निर्माणमा विटुमिन प्रयोगको सट्टा कंक्रिट प्रयोग गर्दा खर्च भने दोब्बर नै हुने प्रारम्भिक अनुमान र केही ठाउँमा भएका कामबाट पदि देखिएको छ । कंक्रिट प्रयोग गर्दा प्रति घनमिटर २५ देखि ३० हजार रुपैयाँ लाग्ने तर विटुमिन प्रयोग गर्दा प्रति घनमिटर १२ देखि १५ हजार रुपैयाँ लाग्ने सडक विभागको भनाई छ । 

विटुमिन प्रयोग गरेर १ किलोमिटर सडक बनाउन अधिकतम ४ करोड रुपैयाँसम्म लाग्छ । तर १ किलोमिटर कंक्रिट सडक बनाउँदा ७ करोडसम्म खर्च हुने विभागका इन्जिनियरहरुको भनाई छ । 

सडक विज्ञहरु भने पहाडी भेगका सडकमा कंक्रिट उपर्युक्त हुने सुझाव दिन्छन् । कंक्रिट सडक केही महङ्गो पर्ने भएपनि विटुमिनको तुलनामा यसको आयु दोब्बर बढी हुने विभागकै सडक सुरक्षा शाखाका इन्जिनियर दीप बाराही बताउँछन् । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार विटुमिन प्रयोग भएको सडकको आयु अधिकतम १५ वर्ष हुने तर कंक्रिट सडक ४० वर्षसम्म टिक्छ । 

कंक्रिट सडक कति छ ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो महिना (साउन) को अन्तिम हप्ता नै कंक्रिट सडकको योजना अघि सारेको थियो । विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक शिवहरि सापकोटा हाल सडक पूल र वालहरुमा सिमेन्ट नै प्रयोग भईरहेको बताउँछन् । 

‘अन्यत्र उकालो र अफ्ट्यारो स्थानका सडकमा पनि कंक्रिट नै प्रयोग गरिएको छ’ उनले भने । भूगोल र मौसमलाई केन्द्रमा राखेर विभागले अध्ययन गर्ने र उपर्युक्त ठहरिए कंक्रिट प्रयोग सुरु गरिने उनको भनाई छ । 

नेपालमा अहिले भएको सडकको कुल लम्बाई ९० हजार किलोमिटर छ । तर केन्द्र सरकारको मातहतमा भने जम्मा १५ हजार किलोमिटर मात्रै छ । बाँकी ७५ हजार किलोमिटर सडक प्रदेश र स्थानीय तह मातहत छन् । 

हाल पुल बाहेक करिब ४ किलोमिटर सडक मात्रै कंक्रिटले बनेका छन् । यो कुल सडकको जम्मा ०.००४ प्रतिशत मात्रै हो ।

यसअघिः

कंक्रिट सडक बनाउन सिमेन्ट बाधक

‘कंक्रिट सडकले व्यापार घाटा घटाउँछ’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved