असोक स्टिलका गुणस्तरहीन रड बजारमा !

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 01, 2020 | 02:41:53 PM मा प्रकाशित

laxmi  sunrise bank

असोक स्टिल प्रा.ली.ले उत्पादन गरेका ‘रड’ गुणस्तरहीन रहेको पाईएको छ । बारा जिल्लामा रड उत्पादन गरेर देशव्यापी रुपमा विक्रि गर्दै आएको असोक स्टिलका रडहरु गुणस्तरहीन रहेको भन्दै विभागमा आजभन्दा १ महिना अघि उजुरी परेको थियो । उजुरी परेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले बजारमा रहेका असोक स्टिलका उत्पादनको नमूना संकलन गरी परीक्षण गरेको थियो । परीक्षणमा उजुरीमा दाबी गरिएअनुसार नै उक्त कम्पनीले मापदण्ड विपरीतका रड उत्पादन गरेको भेटिएको हो । 

कसरी भेटियो मापदण्ड विपरीत ?

काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर ८ का कान्छा थिङले आफ्नो घर बनाउन असोक स्टिल प्रा.ली.ले उत्पादन गरेका रड खरिद गरेका थिए । तर उनले किनेका ‘१२ एमएम’का टिएमटी फलामे छडमा उनलाई शंका लागेपछि थिङले २०७६ माघ १७ गते नापतौल तथा गुणस्तर विभागमा उजुरी दिए । 

त्यसपछि विभागले सोही क्षेत्रमा गएर बजारबाट नमूना संकलन गर्‍यो । संकलित नमूना विभागको ल्यावमा राखेर परीक्षण गर्दा लम्बिन सक्ने क्षमता ‘इलङ्गनेशन’ ११.६७ प्रतिशत नभएको र बङ्गिन सक्ने क्षमता नेपाल गुणस्तर १९१ अनुरुप नरहेको भेटिएको हो । 

विभागले कान्छा थिङले दिएको उजुरीमाथि पनि छानबिन गरेको थियो । छानविनका क्रममा प्राविधिक रुपमा असोक स्टिलका रडले पालना गर्नुपर्ने नियम पालना नगरेको पाईएको विभागका प्रवक्तासमेत रहेका उप–महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए ।

कति परिमाण गुणस्तरहीन ?

असोक स्टिलले एक ‘लट’मा एक सय देखि १५० टन रड उत्पादन गर्ने गरेको थियो । नेपालको प्रचलित कानुन र व्यवहारमा पनि एकै लटमा उत्पादन भएका सामान एउटा खराब भेटिएपछि उक्त लटका सबै उत्पादन खराब मानिन्छ । 

तोकिएको गुणस्तरअनुसारका उत्पादन नभेटिएपछि विभागले बजारमा भएका आफ्ना सबै उत्पादन फीर्ता लिन कम्पनीलाई भनेको छ । कम्पनीले पनि उक्त लटका सबै रड फीर्ता लिईएको दाबीसहित विभागलाई पत्र लेखेको छ । 

कम्पनीले बजारमा गएका सबै उत्पादन फीर्ता लिएको दाबी गरेपनि ग्राहकले खरिद गरिसकेका रडमा भने के हुन्छ भन्ने जिज्ञासामा विभागका उप–महानिर्देशक मिश्र यसबारे आफूहरुले केही गर्न नसक्ने र शंका लाग्नासाथ परीक्षण गरिने बताए ।

के कारबाही ?

अन्य उजुरीमा खासै प्रभावकारी कदम चाल्न नसकेको गुणस्तर विभागले यो विषयमा भने कठोर कदम चालेको छ । विभागले असोक स्टिलको इजाजत नै खारेज गरिदिएको छ । 

नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त नगरी सिमेन्ट, रडलगायत उद्योगले उत्पादन गरेका समाना बजारमा पटाउन नपाईने प्रावधान रहेका कारण अब असोक स्टिलले पुनः इजाजत लिएर मात्रै आफ्नो उत्पादन गर्न पाउने भएको छ । 

‘इजाजत रद्द भएपछि सुरुदेखिकै प्रोसेस लाग्छ’, उप–महानिर्देशक मिश्रले भने, ‘सुरुमा इजाजत लिन जति समय लाग्छ अब रद्द भएका कारण फेरि अर्को इजाजत लिन त्यति नै समय लाग्छ, नयाँ लिन जे–जति प्रक्रिया छन्, ती सबै पूरा गर्नुपर्छ ।’

के भन्छ कम्पनी ?

यस विषयमा असोक स्टिलले भने अहिलेसम्म आफ्नो कुनै अभिव्यक्ति सार्वजनिक गरेको छैन । कम्पनीमा यसबारे जानकारी लिन खोज्दा बोल्ने मान्छे नभएको भेटिएको छ । 

कम्पनीको ‘मिडिया टिपार्ट’का अजय जोशीले फाल्गुण १६ गते शुक्रबारबाट कम्पनी छोडेका छन् । उनीबाहेक सञ्चारमाध्यममा बोल्ने व्यक्ति नभएको र उनले समेत कम्पनी छोडेपछि तत्काल मिडियामा कम्पनीबारे बोल्ने अधिकारी नियुक्त नभएको जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved