किसानले उखु दिनछाडेपछि चिनी उद्योग बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2020 | 05:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

महोत्तरीका उखु किसानलाई अहिले उखु पेलेर मिठ्ठा (सख्खर) बनाउन भ्याइनभ्याइ छ । नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज भने उखु नपुगेर बन्द भएको छ ।

चिनी उद्योगमा  भुक्तानी लिन आन्दोलन र नाराबाजी गर्नुपर्ने भएपछि उखु घरघरै पेलेर मिठ्ठा बनाउन थालिएको किसानको भनाइ छ । “हामी दुःख गरेर फसल उब्जाउने किसान हौँ, खुन पसिना एक गरेर उब्जाएको उखु उद्योगलाई दिएर भुक्तानीका लागि वर्षौं कुर्नुपर्ने भएपछि आफैँ पेल्न थालेका हौँ”, बर्दिवास नगरपालिका–६ कृष्णपुरका किसान सूर्यनारायण महतोले भने, “पेल्ने मीठा पकाउने दुःख थपिए पनि तत्काल बेचेर नगद हात पर्छ ।” यसपाली एक बिघा क्षेत्रफलमा लगाएको उखुबाली पेलेर मीठा नै तयार गरिरहेको महतोको भनाइ छ । 

सूर्यनारायण जस्तै सोही बस्तीका भिखन महतोले पनि उखु उद्योगलाई दिनसट्टा आफैँ पेल्न थालेका हुन् । उखु पेलेर मिठ्ठा पकाउन इन्धन उखुकै सुकेका पतई (सुकेका पात, पत्कर) र उखु पेलेपछिको खोइला (सिठी) राम्रो बल्ने हुँदा धेरै खर्च नथपिने किसानको भनाइ छ ।

जिल्लामा उखुखेती सघन हुने बर्दिवासका कृष्णपुर, बिजलपुरा, पशुपतिनगर, पथलैया, मनहरिपुर र प्रेमनगर एवं भङ्गाहा नगरपालिका–४ रामनगरका किसान यतिखेर धमाधम उखु पेल्ने र मिठ्ठा पकाउन व्यस्त भेटिन्छन् । त्यस्तै गौशाला नगरपालिकाका बस्तीमा पनि उखु पेल्न किसान ब्यस्त देखिएका छन् । बर्दिवास–९ पशुपतिनगरका रामचलित्तर  महतोले भने, “बरु, जति पेल्न सकिने, भ्याइने हो त्यहीअनुसार उखुखेती गर्छौं ।”

विगत केही वर्ष चिनी उद्योगलाई दिएको उखुको भुक्तानी लिन निकै दौडधुप र रोइकराइ गर्नु परेपछि किसान उद्योगलाई उखु दिन झिल्टो मान्न थालेका छन् । यसले उद्योगलाई भने मर्का परेको छ । यसपाली गत पुस १२ गते उखु क्रसिङ (उद्योगमा उखु पेल्ने) थालिएको एभरेष्ट चिनी उद्योग उखु नपुगेरै कैयनपटक बन्द गर्नुपरेको छ । 

जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो । यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपाली सात हजार बिघामा झरेको छ । गत वर्ष ११ हजार बिघामा उखुखेती थियो । उत्पादन लिइने सात हजार बिघामध्ये चार हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु छ । खुट्टी उखु काटेपछि त्यसमा अन्यबाली लगाइने भएकाले आउने अघिल्लो वर्षमा यो खेती झन् स्वात्तै घट्ने अध्यक्ष कुशवाहाको भनाइ छ । यसपाली नयाँ उखुखेती गर्ने किसान खासै नदेखिएका हुँदा अघिल्लो आउने वर्षका लागि अहिले मुडन (पहिलो वर्षको उखु) रहेको दुई हजार ५०० बिघाको खुट्टी उखु रहनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved