सरकारले लकडाउनको अवधि थप गरेर जेठ २० गतेसम्म पुर्याएको भएपनि यसअघि सञ्चालन गर्न दिने भनेका उद्योग भने बन्द नगर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडका अनुसार मजदूरलाई भित्रै राखेर कडा सुरक्षाकाबीच यसअघि सञ्चालनको अनुमति पाएका ४४ प्रकारका उद्योग सञ्चालनमै रहने छन् ।
‘आवश्यक सामग्रीको अभाव हुन दिनु भएन’ राज्यमन्त्री दुगडले भने, ‘योसँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउनुपर्ने भएकाले उद्योग चलाउनुको विकल्प छैन । तर सुरक्षाका सबै उपायहरु भने अपनाउनुपर्ने छ ।’
सञ्चालनमा आएका उद्योगहरुः
सञ्चालन हुने उद्योगले २० देखि ३० प्रतिशत मात्रै कामदार राख्न पाउने छन् । खाद्यान्न (चामल, दाल, तेल, मसला, बिस्कुट, चिउरा लगायत), निर्माण सामग्री उत्पादन गर्ने उद्योग (सिमेन्ट, डण्डी, इट्टा, कर्कट जस्ता पाता, पाइप आदि) र प्लाष्टिकजन्य उद्योगहरु (कार्टुन, प्याकिङ्ग प्लाष्टिक) लगायतका उद्योगहरुले निश्चित कर्मचारी वा कामदार राखेर सञ्चालन हुन पाउने छन् ।
१) खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु
२) दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग
३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग
३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग
यसअघिको निर्णय बाटै सञ्चालन हुँदै आएका उद्योगहरुले यसअघि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका उद्योगीका संगठनको सिफारिसको आधारमा सवारी पास उपलब्ध गराउँदै आएपनि यसरी पास वितरण हुँदा दुरुपयोग हुन थालेपछि उद्योग मन्त्रालयले नै पास वितरण गर्न सुरु गरेको छ ।
निर्यातमूलक उद्योग सञ्चालनको तयारी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक उद्योगसँगै निर्यातमूलक सामग्री उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्ने तयारी थालेको छ ।
‘रेमिट्यान्स आउन कम हुँदै गएको छ, यो कहिलेसम्म कम हुन्छ भन्ने यकिन छैन’ उद्योग राज्यमन्त्री दुगडले भने, ‘नेपाललाई विदेशी मुद्रा त आवश्यक पर्छ । राज्य कोषमा विदेशी मुद्राको अभाव हुन नदिन अब निर्यातमूलक उद्योग सञ्चालन गरेर नेपाली उत्पादन निर्यात गर्नुको विकल्प छैन ।’
गार्मेन्ट, धागो, जुत्ता चप्पल, कपडा, कार्पेट, कागज, तेल, सेनिटरी प्याड, डाइफर उद्योग चाँडै सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको राज्यमन्त्री दुगले जानकारी दिएका छन् ।
‘हामी अहिले गृहकार्य गरिरहेका छौँ, यस्ता उद्योगलाई निश्चित मापदण्ड बनाएर केही दिनभित्रै खोल्न दिने निर्णय गरिन्छ’ उनले भने ।