१४ दिनको क्वारेन्टाइनलाई ३ दिनमा झार्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 06:29:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवम् निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलिले डा. खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएकोमा बधाई दिँदै उद्योग खोल्ने वातावरण मिलाइदिन अनुरोध गरेको छ । 

उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा कोरोना संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने परिसंघको माग छ । 

यस्तै होटल तथा पर्यटकीय गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने, चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने माग पनि परिसंघले गरेको छ ।

निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरु तथा होटलहरुलाई आवद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेशनका सेवाहरु प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने धारणा परिसंघले राखेको थियो । हाल उड्डयन क्षेत्रमा देखिएको अन्यौलता र सो क्षेत्रका जायज मागहरुलाई पनि छलफलको माध्यमबाट सम्बोधन गरिनु पर्ने परिसंघले जनाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक लगानी प्रवद्र्धन बोर्डमार्फत फाष्ट ट्रयाकबाट लगानी अवरोध गर्ने कानुनहरु संशोधन गर्नसमिति बनेको स्वागत योग्य रहेको बताउँदै कम्तिमा २ वर्षको लागि त्यस्ता कानुनहरुलाई थाति राखि वा संशोधन गरी लगानीको वातावरण बनाउनु पर्ने परिसंघको सुझाव छ ।

छलफलमा ग्लोवल टेण्डरको न्युनतम सीमा सय करोडबाट बढाएर ३ सय करोड गरिनु पर्ने धारणा परिसंघले राखेको छ । मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्थाहरु कार्यान्वयनमा नआएको, उत्पादनमूलक  उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने बजेटमार्फत घोषणा गरेकोमा हालसम्म सो व्यवस्था कार्यान्वयनमा नआएको विषयमा छलफल भएको थियो । 

त्यसैगरी कर बुझाउँदै आएको र रोजगारी सृजनाको क्षेत्रमा पनि राम्रो हिस्सा ओगटेको मदिरा उद्योगले व्यहोर्नु परेको समस्याका बारेमा छलफल भई मदिरा कारोवारलाई पनि सहज बनाउनु पर्ने सम्बन्धमा छलफल भएको थियो ।

छलफलमा डा. खतिवडाले परिसंघले छलफलमा उठाएका विषयहरुलाई गम्भिरतापूर्वक लिएको र कतिपय विषयहरु कार्यान्वयनको तहमा समेत गईसकेको बताएका छन् । छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षहरु अनुज अग्रवाल र विरेन्द्र कुमार पाण्डे पनि सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved