३ वर्षदेखि सिंहदरबारमै अड्कियो हेटौँडा सिमेन्टको फाइल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 02:59:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग २ वर्षदेखि लगातार घाटामा छ । नाफामा लैजाने स्पष्ट योजना नहुँदा र बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगले नाफाको ब्यापार गर्न नसकेको हो ।

आर्थिक वर्ष २०ं७५/०७६ मा १ करोड ५ लाख रुपैयाँ घाटा ब्यहोरेको यो उद्योगले गत आर्थिक वर्ष २०७६/०७७  झण्डै ५ करोड घाटा ब्योहोर्यो । आर्थिक वर्ष २०७१÷०७२ सम्म घाटामा रहेको हेटौँडा उद्योगले २०७२/७३ देखि भने निरन्तर नाफा कमाउँदै आएको थियो । तर, मेसिनमा खराबी आएपछि उद्योग लामो समय बन्द हुँदा त्यसपछि भने आम्दानी ओरालो लाग्न सुरु भएको महाप्रबन्धक प्रेमशंकर सिंहले बताएका थिए ।

३५ वर्ष पूरानो यो उद्योग सरकारी स्वामित्वका उद्योगमध्येकै राम्रो थियो । तर, अघिल्लो आर्थिक वर्षदेखि भने उत्पादनमा गिरावट आएको र भएको उत्पादन पनि बिक्रि हुन छोडेपछि घाटा हुन थालेको हो ।

गत आर्थिक वर्ष २०७६/०७७ मा १९ लाख बोरा सिमेन्ट र क्लिङ्कर उत्पादन गरेको उद्योगले १४ लाख ५५ हजार ९०६ बोरा मात्रै बिक्रि गर्न सकेको छ । चालु आर्थिक वर्षको सुरुसम्म उद्योगमा बिक्रि हुन नसकेका करिब ४ लाख बोरा सिमेन्ट स्टक थिए । अहिले फाट्टफुट्ट बिक्रि भईरहेपनि विगत वर्षहरुको जस्तो भने नरहेको उद्योगले बताएको छ ।

क्षमता विकासको प्रस्ताव सिंहदरबामै रुमल्लियो

उद्योगमा स्टक सिमेन्ट धेरै भएका कारण नयाँ क्लिङ्कर उत्पादन रोकिएको छ । कोरोना महामारीका कारण कोइलाको आयातमा समस्या भइरहेको र त्यो समस्या नहोस् भनेर पहिल्यै टेण्डर आह्वान भईसकेको बताईएको छ । स्टक कम हुँदै गएकाले केही दिनबाटै क्लिङ्करको उत्पादन पुनः सुरु गरिने उद्योगले जनाएको छ ।

उद्योगले सिमेन्ट प्याकिङ गर्ने नयाँ मेसिन जडान गरेको छ । यसले लागत केही कम हुन जाने र छिटो काम हुने उद्योगको विश्वास छ । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा २०३२ सालमा स्थापना भएर २०४२ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले क्षमता बढाउने योजना तयार पारेर उद्योग मन्त्रालयमा पठाएको भएपनि त्यो यतै थन्किएको छ ।

दैनिक तीन हजार मेट्रिक टन क्षमता विस्तार गर्न उद्योग मन्त्रालयमा ३ वर्ष पहिले नै उक्त उद्योगले प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा आवश्यक खर्चको अनुमानित विवरण पनि बुझाईएको बताईएको छ । तर, हालसम्म यसबारे कुनै निर्णय भईनसकेको र कोरोना माहामारीपछि थप अध्ययन गरिने मन्त्रालय स्रोत बताउँछ ।

स्रोतका अनुसार उद्योगले २ अर्ब ५० करोड लगानी थपेर उत्पादन क्षमता १८० प्रतिशत बढाउने दाबी गरेको थियो । उद्योगको सञ्चालक समितिबाट पारित भएर आएको प्रस्ताव उद्योग मन्त्रालय हुँदै अर्थमा पुग्नुपर्ने भएपनि उक्त प्रस्ताव अझै उद्योगमै रुमल्लिएको हो । 

‘उद्योग मन्त्रीको अनुगमले आशा’

निरन्तर घाटामा रहेको उद्योग २०७२ सालबाट नाफामा जान थालेपछि निकै चर्चा पाएको थियो । अहिले ३ सय ७० जना कर्मचारी कार्यरत रहेको यो उद्योग परिसरमा उद्योगमन्त्री लेखराज भट्ट आफैँले स्थलगत अनुगमन गरेका थिए । केही समय अघि मन्त्री भट्ट पुगेपछि महाप्रवन्धक सिंहले मन्त्रालयमा थन्किएको क्षमता विस्तारको प्रस्तावबारे पनि कुरा उठाएका थिए ।

त्यतिबेला नै उद्योगले स्थानीयबाट हुने अवरोधले उत्पादन र बिक्रिमा ल्याएको ह्रास, उद्योग स्थापनाकै बेलादेखि प्रयोग भईरहेका पूराना मेसिनको विस्थापन गर्नुपर्ने जस्ता गुनासा मन्त्री भट्ट समक्ष राख्यो । उद्योगका महाप्रपन्धक र अरु कर्मचारीका गुनासा सुनेपछि मन्त्री भट्टले आगामी दिनमा लागत कम गर्ने गरी नयाँ मेसिन ल्याउन बजेट उपलब्ध गराउने आश्वासन दिएका थिए ।

उद्योगको सञ्चाल समितिको अध्यक्षसमेत रहेका उद्योग मन्त्रालयका प्रवक्ता एवम् सह–सचिव नारायण प्रसाद रेग्मी भने यसबारेमा बोलेका छैनन् । उनीसँग उद्योगले पठाएको क्षमता विस्तारको प्रस्तावबारेको निर्णय प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

हेटौंडा उपमहानगरपालिका–९, लामसुरेमा रहेको उद्योगले दैनिक एक हजार टन चुनढुंगा खपत गर्ने गरेको छ । धादिङको जोगीमारा, मकवानपुरको आमभन्ज्याङ (मजुवा), भैंसे र ओखरेबाट चुनढुंगा ढुवानी गर्दै आएको छ ।

विगतमा दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले वर्षमा २७ लाख बोरा उत्पादन भएपनि २१ लाख बोरा उत्पादन गर्थ्यो । यस वर्ष भने कोरोनाका कारण उत्पादन ४० प्रतिशतको हाराहारीमा सिमित छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved