के छन् अर्थमन्त्री पौडेलसँग निजी क्षेत्रका अपेक्षा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 10:21:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साढे २ वर्षअघि डा. युवराज खतिवडा अर्थमन्त्री बन्दा निजी क्षेत्र निकै आशावादी देखिएको थियो । राष्ट्र बैंकका गर्भनर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भईसकेका डा. खतिवडालाई अर्थमन्त्री बनाउँदा पार्टी भित्रबाट पनि कुनै नेताले प्रधानमन्त्रीको आलोचना गर्न सकेनन् । तर, उनको कार्यकाल जति जति लम्बिँदै जान्थ्यो, त्यति नै निजी क्षेत्रको आशाको मुहार मलिन हुँदै गएको देखिन्थ्यो ।

पार्टी भित्रको दबाब थेग्न नसकी प्रधानमन्त्रीले चाहेर पनि उनलाई अर्थमन्त्रीका रुपमा कायम राख्न सकेनन् । सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री खतिवडाले भदौ १९ गते राजीनामा दिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आफूबाट टाढा राख्न नचाहेर आफ्नो विशेष आर्थिक सल्लाहकार बनाए । त्यसलगत्तै डा. खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस पनि गरिएको छ । यो कदमको निकै आलोचना पनि भईरहेको छ ।

पौडेलसँग कम आशा

भदौ २० गते कार्यकाल सकेर अर्थमन्त्रीका रुपबाट बिदा भएका डा. खतिवडाबाट भन्दा केही भिन्न अपेक्षा निजी क्षेत्रले अर्थमन्त्री विष्णु पौडलबाट गरेको छ । खतिवडाले आफ्नो साढे २ वर्षे कार्यकालमा देखिने गरी कुनै काम नगरेको देखेको निजी क्षेत्र खतिवडा जस्तै पौडेलबाट भने आशावादी देखिँदैन ।

‘अहिले आउनु भएका अर्थमन्त्रीसँग पहिले पनि एक कार्यकाल अर्थमन्त्रीका रुपमा काम गरेको अनुभव त छ, तर डा. खतिवडा जस्तो उहाँ विज्ञ होइन’ एक जना उद्योगीले भने, ‘विज्ञसँग जति अपेक्षा थियो, त्यो पूरा त के सुरु पनि भए जस्तो लाग्दैन, त्यसैले विज्ञसँग जति अपेक्षा उहाँसँग गर्न सकिँदैन ।’

विष्णु पौडेल वर्तमान सरकारको पूरा कार्यकाल अर्थमन्त्री बन्न पाए अब २ वटा बजेट ल्याउन पाउनेछन् । सरकारका आगामी बजेट दुबै चुनाव केन्द्रित हुने अनुमान गरिसकिएको छ । यसअघिका बजेटमा खासै नयाँ कार्यक्रम र योजना नदेखिएका कारण आगामी बजेट चुनावी बजेट हुने भएका कारण उनीसँग पार्टीको घोषणापत्र अनुरुप र उद्योगी व्यवसायी अनुकुल बजेट ल्याउनुपर्ने चुनौती छ ।

‘विश्वासको वातावरण बनाउनुपर्छ’

कोरोना भाईरसका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्न पौडेलसँग पनि खासै योजना रहेको निजी क्षेत्रले देखेको छैन । तर, पनि आफ्नो पहिलो कार्यकालमा केही लोकप्रीय बजेट ल्याएर चर्चा कमाएको व्यक्ति पुनः सोही पदमा आउँदा केही मात्रामा भने आशा गर्न सकिने नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष कुमार मोर बताउँछन् ।

‘अब उहाँले व्यवसायीसँग सहजिकरण र विश्वासको वातावरण बनाउनुपर्छ भन्ने हो, उहाँ आफैँले पनि यो कुरा भनिरहनु भएकै छ, उक्त कुरालाई निरन्तरता दिनुभयो भने कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई राहत हुन्छ’ उनले भने ।

‘सहकार्य हुनेमा आशावादी छौं’

अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको आगमन भएपछि सहजै भेट र सहकार्यमा भने केही आशा जगाएको नेपाल नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको भनाई छ । पौडेलले अघिल्लो कार्यकालमा निजी क्षेत्रसँग राम्रै सहकार्य गरेका कारण यस कार्यकालमा उनले निजी क्षेत्रसँग सहकार्य गर्नेमा आशावादी रहेको उनको भनाई छ ।

कोरोना महामारीका बेला अर्थतन्त्रमा देखिएको सुस्तताका कारण नेपालीहरुको क्रय शक्ति घटेकाले यसतर्फ पनि अर्थमन्त्रीले ध्यान दिनुपर्ने अध्यक्ष श्रेष्ठको भनाई छ । अघिल्लो कार्यकालमा नै निजी क्षेत्रका समस्या बुझेका व्यक्ति पुनः अर्थमन्त्री भएका कारण सरकार र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्नेमा आशावादी रहन सकिने उनले बताएका छन् ।

‘चाहेको बेला भेट्न सकिन्छ’

पौडेललाई चाहेको बेला भेट्न सकिने नेताका रुपमा पनि लिइन्छ । विशेष गरी उद्योगी व्यवसायीलाई समय दिने नेता मानिने भएका कारण उनी अर्थमन्त्री भएपछि निजी क्षेत्रले सहजै आफ्ना माग सरकारसमक्ष पुर्याउने वातावरण सिर्जना हुने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताएकी छिन् ।

निजी क्षेत्रलाई सहजै ‘एक्सेस’ दिने नेता भएका कारण अर्थमन्त्री पौडेलसँग तल्लो तहदेखिका उद्योगी व्यवसायीका समस्याबारे ज्ञान रहेको र ती समस्या समाधानमा उनले भूमीका खेल्नुपर्ने अध्यक्ष राणा बताउँछिन् । अहिले पुँजी परिचालनको मुख्य समस्या देखिएका कारण यसबारे अर्थमन्त्रीले निजी क्षेत्रसँग बसेर छलफल र सहकार्य गर्नुपर्ने र यसका लागि आफूहरु तयार रहेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved