विश्वका धनाढ्य र शक्तिशाली व्यक्तिद्वारा कर छलेको खुलासा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 05:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank


ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्य र शक्तिशालीहरुको ठूलो रकम करछलीका लागि 'अफसोर' कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्यमन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी प्रतिबन्ध खेपिरहेको रुसको एउटा फर्मसँग कारोबार गरिरहेको पाइएको छ।

प्याराडाइज पेपर्स नाम दिइएका ती दस्तावेजहरु करको दायित्वबाट जोगिन स्थापना गरिएको एउटा अग्रणी 'अफसोर' कम्पनीसँग सम्बन्धित छन्।आइतबारको खुलासा झण्डै एक सयवटा सञ्चार समूहहरुले गरिरहेको खोज पत्रकारिताको एउटा अंशमात्रै हो।

बीबीसी, खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरन्याश्नल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म र जर्मन पत्रिका जुडोएच साइटुङले १ करोड ३० लाखभन्दा बढी दस्तावेजहरु प्राप्त गरेका थिए।

सेयर

ती दस्तावेजले अमेरिकी वाणिज्यमन्त्री विल्बर रसको क्रेम्लिनसँग निकट रहेको एउटा कम्पनीमा सेयर रहेको पाइएको छ।ती दस्तावेजका अनुसार वाणिज्यमन्त्री रसको 'न्याभिगेटर होल्डिङ्स' नामक कम्पनीमा लगानी रहेको छ।

उक्त कम्पनीले रुसी फर्म सिबुरलाई तेल र ग्यास विक्री गरेर लाखौं डलर आम्दानी गर्ने गरेको छ।सिबुरका दुईजना मालिकमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ र उनीहरुको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध रहेको छ।

भेनेजुएलाको सरकारी तेल कम्पनी पिडिभिएसए पनि न्याभिगेटरका ग्राहकहरुमध्ये एक हो र उसमाथि पनि अमेरिकी प्रतिबन्ध छ।अमेरिकी वाणिज्य मन्त्रालयले रसले कुनै पनि गैरकानूनी काम नगरेको र अमेरिकी प्रतिबन्ध बेहोरिरहेका रुसीहरुसँग कहिल्यै भेटघाट नगरेको जनाएको छ।

विवादास्पद

चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको १ करोड पाउण्ड निजी रकम 'ब्रिटिश ओभरसिज टेरिटोरिज' भनिने ब्रिटेनबाहिरका भूभागमा रहेका 'अफसोर' कम्पनीहरुमा लगानी गरिएको देखाएको छ।

त्यसमध्ये कतिपय रकम एउटा विवादास्पद खुद्रा व्यवसायमा लगानी भएको देखिन्छ जसमाथि कम आय भएका उपभोक्तालाई शोषण गरेको आरोप लागेको छ।

सो लगानी १० वर्षअघि गरिएको थियो र त्यसबेला त्यसको मूल्य ५ लाख डलरभन्दा केही बढी थियो।महारानी वा उनका सल्लाहकारहरुले गैरकानूनी रुपमा काम गरेको कुनै पनि संकेत फेला परेको छैन।तर शाही अधिकारीहरुले उक्त रकम लगानी गर्ने निर्णयमा महारानीको संलग्नता नरहेको बताएका छन्।

करमुक्त क्षेत्र

अनुसन्धानकर्ताहरुका अनुसार आफूले तिर्नुपर्ने करलाई सकेसम्म कम तुल्याउनका लागि सक्रिय रुपमा क्रियाशील शक्तिशाली कम्पनी र अति धनाढ्य व्यक्तिहरुको एउटा विश्वव्यापी सञ्जाललाई चुहाइएका ती दस्तावेजहरुले खुलासा गर्दछ।

चुहावट

नाइकी, एपल, उबर र फेसबुक जस्ता कम्पनीहरुले 'ट्याक्स हेभन' भनिने करमुक्त क्षेत्रहरुको प्रयोग गरेर आफ्नो कर दायित्व सकेसम्म कम तुल्याउने गर्छन्।थुप्रै अरब र खरबपतिहरुले पनि त्यसै गर्छन्।

'प्याराडाइज पेपर्स' नाम दिइएका ती दस्तावेजहरुले ५० देशका १ सय २० भन्दा बढी राजनीतिज्ञ कुनै न कुनै रुपमा यस्ता गतिविधिमा संलग्न भएको देखाएको छ।

अनुसन्धानकर्ताहरुले यस्तो गतिविधिले कैयौं देशको राष्ट्रिय अर्थतन्त्र अन्तर्गत जनतासमक्ष आधारभूत सेवा पुर्याउन महत्त्वपूर्ण रहने अर्बौ रकम कर नोक्सानी गराएको जनाएका छन्।  बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved