बजेटमा सहमति नभएपछि अमेरिकामा सरकारी कामकाज ठप्प, खर्चविहीन हुनुको अर्थ के हो?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 06:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी माथिल्लो सदन सिनेट सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ।यो विधेयक अनुमोदन भएको भए संघीय निकायहरुलाई उपलब्ध हुने खर्च एक महिनासम्मका लागि विस्तार गर्न सकिने थियो।

विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवा बन्द हुनेछन्।यद्यपि संघीय निकायका कर्मचारीहरु काममा फर्कने दिन सोमवारसम्म त्यसको व्यवहारिक प्रभाव देखिनेछैन।

ह्वाइट हाउस र संसदको दुवै सदनमा रिपब्लिकनहरुको नियन्त्रण रहँदा समेत यस्तो अवस्था देखिएको यो पहिलो घटना हो।पछिल्लोपटक सन् २०१३ मा पनि सरकारी निकाय खर्चविहीन भएर १६ दिनसम्म कामकाज ठप्प भएको थियो।धेरै कर्मचारीले बाध्यात्मक छुट्टी लिएका थिए तर राष्ट्रिय सुरक्षा र हवाई क्षेत्रको सेवा भने अवरुद्ध भएको थिएन।

विवाद

राष्ट्रपति ट्रम्पको कार्यालयले डेमोक्र्याटहरुले राजनीतिक स्वार्थ हेरेको आरोप लगाएको छ।फेब्रुअरी १६ सम्म संघीय सरकारलाई खर्च उपलब्ध गराउने उक्त विधेयक पारित गर्न ६० मत आवश्यक थियो।तर आप्रवासन र सीमा सुरक्षा जस्ता विषयमा चर्को विवादबीच त्यो पारित हुन सकेन।

केटाकेटी हुँदा अमेरिका छिरेका कागजातविहीन आप्रवासीहरुलाई फिर्ता नपठाइने प्रत्याभूति गर्नुपर्ने डेमोक्रयाटहरुको माग विवादको मुख्य विषय रहँदै आएको छ।त्यस्ता आप्रवासीको संख्या ७ लाख छ।

पूर्व राष्ट्रपति बराक ओबामाको पालोमा ल्याइएको कार्यक्रम अन्तर्गत उनीहरुलाई अस्थायी कानूनी मान्यता दिइएको थियो।गत सेप्टेम्बरमा ट्रम्पले उक्त कार्यक्रम अन्त्य गर्ने घोषणा गरे।अब संसदले मार्च महिनासम्ममा त्यसको स्थानमा विकल्प खोज्नुपर्नेछ।

आरोप-प्रत्यारोप

सिनेटको नतिजापछि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षा र जोखिममा रहेका केटाकेटीको हीतभन्दा राजनीतिलाई प्राथमिकता दिएको आरोप डेमोक्र्याटहरुमाथि लगाएको छ।

सिनेटका रिपब्लिकन नेता मिच म्याककोनलले विधेयकमा रहेका धेरै विषयमा सहमति भएपनि डेमोक्रयाटहरुले अवैधानिक आप्रवासनसम्बन्धी असम्बन्धित मुद्दा थप्दा विधेयक पारित हुन नसकेको टिप्पणी गरे।

तर सिनेटका डेमोक्र्याटिक नेता चक सुमरले भने धेरै रिपब्लिकनले समेत विधेयकको विरोध गरेको बताए।दुई दलबीच भएको सहमति राष्ट्रपतिले अस्वीकार गरेकाले पछिल्लो अवस्था सिर्जना भएको आरोप लगाए।

सरकारी निकाय खर्चविहीन हुनुको अर्थ के हो?

राष्ट्रिय पार्क तथा सम्पदास्थल समेत बन्द हुन सक्नेछन्।अमेरिकी समय अनुसार शनिवार ००:०१ बजेदेखि संघीय निकायहरु कामका लागि खुल्नेछैनन्।तर अत्यावश्कीय सेवाहरु भने चालू रहनेछन्।

आवास, वातावरण, शिक्षा र वाणिज्यसम्बन्धी मन्त्रालयका धेरै कर्मचारी घरमै बस्नेछन्।अर्थ, स्वास्थ्य, प्रतिरक्षा र यातायात मन्त्रालयका आधाजसो कर्मचारी पनि सोमवार काममा जानेछैनन्।

राष्ट्रिय पार्क र सम्पदास्थल पनि बन्द हुनसक्नेछन्।त्यसले सर्वसाधारणको आक्रोश निम्त्याउन सक्नेछ।सन् २०१३ मा पनि त्यस्तै भएको थियो।प्रवेशाज्ञा र राहदानीसम्बन्धी काममा पनि ढिलाइ हुन सक्छ।

तर "जीवन वा मानिसको सम्पत्ति" संरक्षण गर्ने अत्यावश्कीय सेवाहरु जारी रहनेछ।राष्ट्रिय सुरक्षा, हुलाक सेवा, हवाई ट्राफिक नियन्त्रण, स्वास्थ्य सेवा, आपतकालीन सेवा, विपद्‌मा सहायता, कारगार, कर र विद्युत उत्पादन जस्ता क्षेत्र भने प्रभावित हुनेछैनन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved