माल्दिभ्स: सर्वोच्च अदालत प्रहरी घेरामा, प्रधानन्यायाधीश पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 06, 2018 | 10:42:26 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।

सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वाेच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

मङ्गलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको छ । गएको बिहीबारदेखि सुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको बताइएको छ ।

मङ्गलबार बिहान प्राप्त समाचारअनुसार मालदिभ्स्का प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उहाँको निवासबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको समाचारमा जनाइएको छ ।

आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वाेच्च अदालतको आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो । सो निर्देशनबमोजिम सोमबार दिउँसैदेखि यहाँको प्रहरी सक्रिय भएको थियो ।

मालदिभ्सको सर्वाेच्च अदालतले गएको बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको थियो ।

उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो ।

सोमबारै मध्यराति राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई पनि पक्राउ गर्न आदेश दिनुभएको थियो ।

सोही आदेशबमोजिम नै पूर्व राष्ट्रपति गैयुमलाई मध्यरातमा उहाँको निवासबाट पक्राउ गरेर राजधानी माले पु¥याएको समाचारमा जनाइएको छ । उहाँ हाल प्रहरी हिरासतमा हुनुहुन्छ ।

उहाँले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गर्नुभएको थियो । सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो ।

‘मैले पक्राउ गर्नुपर्ने त्यस्तो कुनै काम गरेको छैन, तर सरकारले पक्राउ गरेर थुनामा राखेको देख्दा मलाई अचम्म लागेको छ’, उहाँले आफ्ना समर्थकहरुलाई दिनुभएको भिडियो सन्देशमा भन्नुभएको छ ।

पक्राउ पर्नुभएका पूर्व राष्ट्रपति गैयुम वर्तमान राष्ट्रपति यामिनका सौतेला दाजु हुनुहुन्छ । उहाँ मालदिभ्स्मा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति हुनुहुन्छ ।

अदालतको आदेश नमानेको भनेर यहाँको सर्वाेच्च अदालतले सरकारको कदमको आलोचना गर्दै आएको थियो । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उहाँलाई पक्राउ गर्नुपर्ने आदेश दिनसक्ने अनुमान पनि सोमबार गरिएको थियो ।

त्यसैले त्यस अगावै सरकारले सोमबारै अपरान्हतिर संकटकालको घोषणा गरेको थियो । संकटकाल लगाएपछि सरकारले सेना र प्रहरीलाई अदालतको कुनै आदेश नसुन्न र आफ्नो निर्देशनमा कामगर्न सबै सुरक्षा अंगलाई आदेश दिएको छ ।

उता पूर्व राष्ट्रपति मोहम्मद नसिदका कार्यकर्ताहरुले उहाँलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । यहाँ बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन् ।

नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा प्रहरी ‘कू’ मार्फत हटाइएको थियो ।

मङ्गलबार बिहान प्रधानन्यायाधीशलाई पक्राउ गर्नु अगावै सर्वाेच्च अदातलमा प्रहरीले घेरा हालेको थियो । अहिले पनि अदालत बाहिर प्रहरीको निकै बाक्लो उपस्थिति रहेको बताइएको छ ।

संसदमा अझै पनि राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्नेगरी दुई तिहाई बहुमत विपक्षी दलहरुको रहेको छ । त्यसैले पनि राष्ट्रपतिले विपक्षी नेताहरुलाई पक्राउ गर्ने आदेश दिएको हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

तर पनि यहाँका सुरक्षा अंगहरुलाई राष्ट्रपति यामिनलाई पक्राउ गर्ने या महाभियोग लगाउने कुनै प्रयासहरु भएमा त्यसमा संलग्नहरुलाई पक्राउ गर्न नै सरकारले आदेश दिएको छ । (रासस/एएफपी)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved